कस्तो बन्ला नयाँ सरकार ?

कस्तो बन्ला नयाँ सरकार ?

काठमाडौं : चुनावी परिणामले स्पष्ट भनिसकेको छ– कुनै एक दलको पक्षमा बहुमत पुग्दैन। सरकार बनाउन दुई वा दुईभन्दा बढी दल मिल्नुपर्छ। त्यसैले सबैको चासो छ, ‘अब कस्को सरकार ? कस्तो सरकार ?’ अर्थात्, २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत (१ सय ३८) सांसदको समर्थन जुटाएर को प्रधानमन्त्री बन्ला ? 

प्रत्यक्षतर्फ तीन वटा क्षेत्रको परिणाम सार्वजनिक हुन बाँकी छ। समानुपातिकतर्फ दलहरूले पाउने सिटको मोटामोटी हिसाब भइसकेको छ। र पनि, पाँचदलीय सत्ता गठबन्धनका पक्षमा सहजै बहुमत (१ सय ३८) जना सांसद पुग्ने स्थिति छैन। विपक्षी एमालेलाई पनि बहुमत जुटाएर आफ्नो नेतृत्वमा सरकार बनाउन कठिन अवस्था छ। यस्तो स्थितिमा सरकार बनाउन तीन वटा विकल्प देखिएका छन्। 

पहिलो : सत्ता गठबन्धनकै सरकार बनाउने। त्यसका लागि जनमत पार्टी र अरू केही साना दलको सहारा लिने।

दोस्रो विकल्प : एमाले नेतृत्वमा वामपन्थीसहित जसपा र अरू साना दल समेटेर सरकार बनाउने। 
तेस्रो विकल्प : कांग्रेस र एमाले मात्रै मिलेर सरकार बनाउने। 

पहिलो विकल्प : सत्ता गठबन्धनकै सरकार 

बाजुरा, दोलखा र स्याङ्जा–२ को परिणाम आइसकेको छैन। तर, सत्ता समीकरणका लागि नेताहरू प्रत्यक्ष र अप्रत्यक्ष संवाद र दौडधुपमा सक्रिय हुन थालेका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र विमलेन्द्र निधि, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल गठबन्धनकै नेतृत्वमा सरकार बनाउने गृहकार्यमा लागेका छन्। 

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूबीच भेटघाट बाक्लिएका छन्। माओवादीलाई सँगै लिएर सत्ता समीकरण मिलाउनका लागि कांग्रेस–माओवादी तथा एमाले र माओवादीका नेता बीचमा प्रारम्भिक छलफल र भेटघाटले पनि तीव्रता पाएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको पार्टीका औपचारिक बैठक भने बसेका छैनन्। 

माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारमा सहभागिताबारे पार्टीको बैठक बसेर निर्णय गर्ने बताए। ‘निर्वाचनपछि पार्टीको बैठक बसेको छैन। पार्टीको बैठक बसेपछि पार्टीले निर्णय लिन्छ सरकारमा सहभागी हुने, नहुने, कुन भूमिकामा हुने भन्ने विषयमा,’ गुरुङले भने। 

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताए। ‘गठबन्धनको बहुमत आइसक्यो भन्दा पनि हुन्छ। गठबन्धनको सरकार बनाउन हाम्रो पार्टीले पनि भूमिका खेल्छ,’ उनले भने। 

हालसम्मको परिणामअनुसार कांग्रेस प्रत्यक्षमा ठूलो दल बन्दै ५५ सिट जितेको छ। मतगणना भइरहेका २ सिटमा कांग्रेसकै अग्रता छ। माओवादी केन्द्रले १७ सिट जितेको छ उसको १ सिटमा अग्रता छ। उता एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ भने लोसपा ४ र राष्ट्रिय जनमोर्चाले १ सिटमा जित हासिल गरेका छन्। प्रत्यक्षतर्फ सत्तारूढ गठबन्धनको ८७ सिट पुगेको छ। समानुपातिकमा कांग्रेस ३२, माओवादी केन्द्रले १४ सिट पाउने सम्भावना छ। सत्तारूढ अन्य दलको समानुपातिकमा थ्रेस होल्ड कट्ने सम्भावना कम छ। अब गणना हुन बाँकी रहेका तीनवटै सिट जित्दा पनि सत्तारूढ दलको बहुमत पुग्ने गाह्रो छ। 

यो निर्वाचनबाट सबैभन्दा ठूलो झड्का माओवादी केन्द्रलाई लागेको छ। २०७४ मा एमालेसँग वाम गठबन्धन बनाएर चुनावमा जाँदा माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ गरी ५३ सिट जितेको थियो। अघिल्लो गठबन्धनभन्दा कांग्रेससँगको गठबन्धनमा उसले आधामात्रै प्रत्यक्षमा जितेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्न लविङ गरिरहेका छन्। 

पहिलो चरणमा आफैं प्रधानमन्त्री हुनुपर्ने उनको लक्ष्य छ। त्यसको लागि प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकीकरणको चर्चा चलाएर सत्ताको बार्गेनिङ थालेका छन्। तर एकीकृत समाजवादीले भने एकीकरणको हल्ला निराधार भएको बताएको छ। महासचिव बेदुराम भुसालले एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता हुन लागेको भन्ने विषयमा सत्यता नभएको स्पष्ट पारेको छ। 

भुसालले शुक्रबार विज्ञप्ति जारी गर्दै माओवादीसँग एकता हुन लागेको विषय निराधार रहेको बताए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सत्ता समीकरणमा ‘भूमिका’ खोजिरहेका छन्। प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, मुख्यमन्त्रीलगायतका पदमा सत्ता गठबन्धनले प्याकेजमा सहमति गर्नुपर्ने उनको अडान छ। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैं प्रधानमन्त्री भन्ने दाउमा छन्। माओवादी केन्द्रका महासचिव गुरुङले प्रचण्डको प्रधानमन्त्रीमा दाबी स्वाभाविक भएको बताए। ‘एक पटक प्रधानमन्त्री भइसकेको व्यक्तिको पुन: दाबी हुनु स्वाभाविक नै हो। गठबन्धनमा उहाँको पक्षमा समर्थन आयो भने हुन सक्नुहुन्छ,’ उनले भने। 

एकीकृत समाजवादीका प्रवक्ता एवं उपमहासचिव खतिवडाले माधव नेपाल प्रधानमन्त्री हुने विषयमा सहमति जुटेमा नहुने कुरै नभएको बताए। ‘उहाँ पनि दाबेदार हो तर गठबन्धनमा पनि हामी ठूलो दल होइनौं। यद्यपि हाम्रो पार्टीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन दलमा महŒवपूर्ण शक्ति नै हुनुहुन्छ।’ उनले भने, ‘उहाँको नाममा सहमति जुट्यो भने अचम्म नमान्नुस्।’ 

नयाँ दललाई फकाउँदै गठबन्धन

सत्ता गठबन्धनलाई बहुमत नपुगेपछि नयाँ दललाई फकाउने र थर्काउने रणनीति गठबन्धनले लिएको छ। एकातिर नयाँ दलसँग सत्ता समीकरणका विषय संवाद गर्न थालेका छन् भने अर्कोतिर उनीहरू तर्साउन थालेका छन्। 

सीके राउतले नेतृत्व गरेको जनमत पार्टी, रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीसँग बहुमत पु¥याउन गठबन्धनका नेताहरूले छलफल थालेका छन्। रेशम चौधरी भेट्न नेताहरू जेलमा नै पुगेका छन्। टीकापुर काण्डका मुख्य योजनाकार चौधरी जेलमा छन्। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका साथै कांग्रेसमा नेताहरू डिल्लीबजारस्थित जेलमा गएर रेशमलाई भेटेका थिए। जनमतले प्रत्यक्षमा १ सिट जितेको छ भने समानुपातिकबाट ४ सिट पाउने सम्भावना छ।

यसो गर्दा जनमतको ५ सिट हुन्छ। जनमत पार्टीका अध्यक्ष सीके राउतले बिहीबार मात्रै प्रधानमन्त्री देउवासँग भेट गरी सत्ता गठबन्धनमा सहभागी हुन सक्ने जनाउ दिएका छन्। लोसपाका नेता शरदसिंह भण्डारीले पनि चौधरी लाई जेलमा नै गएर भेटेका छन्।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकार बन्ने र प्रधानमन्त्री देउवा नै हुने बताए। ‘कांग्रेस पहिलो पार्टी भइसकेको अवस्था छ,’ डा. महतले भने,‘ कांग्रेस गठबन्धन दलको प्रमुख पार्टी पनि हो। त्यसो हुँदा कांग्रेसले प्रधानमन्त्री पाउनु पनि आश्चर्यको कुरा भएन।’ उनले भने, ‘कांग्रेसमा पनि अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हो। उहाँ हरेक दृष्टिकोणले सफल र सक्षम प्रधानमन्त्री हो। गठबन्धनमै पनि उहाँको पक्षमा स्पष्ट बहुमत आउँछ।’

गठबन्धनभित्रकै दलहरूका शीर्ष नेताहरूको प्रधानमन्त्रीमा इच्छा राख्नु स्वाभाविक भएको उनले बताए। ‘इच्छा त सबैले गर्न पाइन्छ नि यद्यपि भोलि गठबन्धनभित्र पनि र संसदीय दलमा पनि पार्टी सभापतिसमेत रहनु भएका देउवाजीको पक्षमा स्पष्ट बहुमत आउँछ,’ उनले भने। कांग्रेसमा प्रधानमन्त्री बन्न संसदीय दलका नेता हुनुपर्छ। युवा नेता गगन थापा, रामचन्द्र पौडेल, शेखर कोइरालालगायतले पनि दलको नेताको चुनाव लडने बताउँदै आएका छन्। 

दोस्रो विकल्प : वाम नेतृत्व सरकार 

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम नआउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर राजनीतिमा तरङ्ग ल्याइदिए। दोस्रो ठुलो दल एमालेका नेताहरू पार्टीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रयास गर्ने बताउँछन्। तर निर्वाचन परिमाणले वाम गठबन्धनको मात्रै पनि सरकार बन्दैन। 

एमाले, माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा र नेमकिपाको जोड्दा अधिकतम १ सय ३१ मात्रै पुग्ने देखिन्छ। यस्तो अवस्था आयो भने ७ सिट अपुग हुन्छ। त्यसका लागि अरू साना दलको सहारा लिनुपर्छ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले आफ्नो पार्टी सबै दलसँग सहकार्य गरेर अघि बढ्ने बताए। ‘जनताले सबै मिलेर अघि बढ भनेर जनादेश दिएका छन,’ उनले भने, ‘कांग्रेस, एमाले, माओवादी केन्द्र तथा नयाँ उदाएका सबै पार्टी मिलेर जाओ भनेर सन्देश चुनावले दिएको छ। एमाले सबै दलसँग मिलेर अघि बढ्छ।’ 

उनले सत्ता समीकरणको विषयमा औपचारिक छलफल भने नभएको बताए। ‘अहिलेसम्म न कुनै ठोस निर्णय नै भएको छ, न त औपचारिक संवाद नै, उनले भने, मात्र बधाई, शुभकामना साटासाटका लागि भेटघाट भएका छन्।’ उनले भने। 

एमाले र माओवादीका दोस्रो तहका केही नेताहरूले वामपन्थी नेतृत्वको सरकार बनाउने विषयमा अनौपचारिक कुराकानी थालेका छन्। माओवादीका महासचिव देव गुरुङले एमालेसँग अनौपचारिक कुराकानी भइरहेको बताए। उनले भने, ‘एमालेका साथीहरूसँग पनि अनौपचारिक भेटघाट भइरहेको छ।’ 

एमालेका प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि शुक्रबारको एक सार्वजनिक कार्यक्रममा वाम गठबन्धनको नेतृत्वमा सरकारको विषय उठाएका थिए। प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा गुरुङले वामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनुपर्ने बताए। 

‘म फेरि पनि भन्छु– नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नुपर्छ। उनले भने, ‘दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आइरहेका जोखिमका कुराहरू, राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौं। त्यस कारणले राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरू सबैलाई हामीले एकजुट बनाउनु पर्छ। हामीले सकारात्मक सोच भएका शक्तिहरूबीच सरकार बनाउनु पर्छ।’ 

उनले यो लक्ष्य पूरा गर्नका लागि दिनरात नभनी पहलकदमी लिनुपर्ने बताए। तर एकीकृत समाजवादीको प्रवक्ता खतिवडाले भने एमालेसँगको सहकार्य अहिलेलाई सम्भव नभएको बताए।

तेस्रो विकल्प : कांग्रेस एमाले सरकार 

चुनावबाट न कांग्रेसलाई बहुमत आयो, न त एमाले नै। त्यसैले कतै सरकार नै अस्थिर हुने हो कि भन्ने चिन्ता पनि छ। त्यसकारण केही नेताहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्नेमा जोड दिइरहेका छन्। कांग्रेससहितको गठबन्धनको पक्षमा बाजुरा, स्याङ्जा र दोलखासमेतको नतिजा आए पनि अधिकतम १ सय ३५-३६ सिट मात्रै पुग्ने देखिन्छ। 

एमाले जसपा राप्रपा गठबन्धनमा त अधिकतम १ सय ४ सिट मात्रै पुग्ने अवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी चुनावबाट उदाएका छन्। समानुपातिकसहित रास्वपाको २१, जनमतको ५ सिट हुने अवस्था छ। नाउपाको ३ सिट छ। स्वतन्त्रले ५ सिट जितेका छन्। नयाँ पार्टीलाई पनि आफूतिर तान्न दुवै गठबन्धनले प्रयास गरिरहेका छन्। 

कांग्रेस पहिलो पार्टी भइसकेको अवस्था छ । कांग्रेसले प्रधानमन्त्री पाउनु पनि आश्चर्यको कुरा भएन। 
डा.प्रकाशशरण महत,
प्रवक्ता, कांग्रेस

कांग्रेस, एमाले, माओवादी केन्द्र तथा नयाँ उदाएका सबै पार्टी मिलेर जाओ भनेर चुनावले सन्देश दियो। 
सुवासचन्द्र नेम्वाङ,
उपाध्यक्ष, एमाले

पार्टीको बैठक बसेपछि  सरकारमा सहभागी हुने, नहुने, कुन भूमिकामा हुने भन्ने विषयमा निर्णय लिन्छौं ।
देव गुरुङ,
महासचिव, माओवादी केन्द्र


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.