राउटेको ‘जीवनरक्षा जरुरी’
दैलेख : राष्ट्रिय मानव अधिकार आयोगको टोलीले दैलेखमा रहेको राउटे बस्तीको स्थलगत अवलोकन गरेको छ। लोपोन्मुख तथा फिरन्ते जाति राउटेको अवस्थाबारे टोलीले स्थलगत अवलोकन गरेको हो।
बस्तीमा अवलोकनपछि आयोगको टोलीले राउटे नागरिकको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्न सुझाव दिएको छ। जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै राउटेको भाषा, भेषभुषा, संस्कृतिको रक्षामा जोड दिनुपर्ने आयोगका कर्णाली प्रदेश प्रमुख बाँस्तोलाले बताए।
राउटेको जीवन रक्षाका लागि स्वास्थ्य, सरसफाइ, शिक्षा र पौष्टिक खानामा विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ। ‘राउटे नागरिकहरूमा सरसफाइको अवस्था नाजुक छ, मदिराको प्रयोग अत्यधिक छ,’ बाँस्तोलाले भने, ‘सरसफाइका लागि राउटे नागरिकहरूलाई सचेतना जरुरी छ। मदिराको प्रयोगलाई तत्काल रोक्नुपर्छ।’
मदिराको अत्यधिक प्रयोग रोक्न नसके राउटेको अस्तित्व नै सखाप हुनसक्ने खतरा बढेको उनको भनाइ छ। राउटे समुदायको अस्तित्व केवल इतिहासमा मात्र सीमित रहने अवस्थालाई ख्याल गरेर तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए। राउटे बालबालिका पढाइमा इच्छुक भए पनि विविध कारण उनीहरू पढाइबाट वञ्चित छन्।
- राउटे नागरिकहरूलाई सचेतना जरुरी छ
- ‘राउटे बालबालिकाको शिक्षाका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने’
‘राउटे बालबालिकाको शिक्षाका लागि मात्रै भनेर विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ,’ बाँस्तोलाले भने, ‘राउटेको जीवन रक्षाका लागि विशेष कानुन बनाएर लागू गर्नुपर्ने आवश्यकता देखिन्छ।’ चिसोको समयमा राउटे नागरिकहरूलाई न्यानो कपडाको व्यवस्थापन गरिनुपर्ने उनको भनाइ छ। राउटे महामुखिया महिनबहादुर शाहीले चिसोको समयमा न्यानो कपडा स्वीटर वा ज्याकेट उपलब्ध गराइदिन आग्रह गरेका छन्।
उनीहरूले सरकारले दिने सामाजिक सुरक्षा भत्ताको सही सदुपयोग नगरेको देखिएको बाँस्तोलाले बताए। ‘राउटे समुदायले सामाजिक सुरक्षाबापत पाएको रकम मदिरा र सुर्ती सेवनमा खर्च गर्ने गरेका छन्। अत्यधिक मदिरा सेवन र पौष्टिक आहाराको अभावमा उनीहरूमध्ये अधिकांशको स्वास्थ्य कमजोर हुने गरेको छ,’ उनले भने।
टोलीमा आयोगका मानव अधिकार अधिकृत किरणकुमार बराम र सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा सहभागी थिए। कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीविन बिताउँदै आएका राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका –८ सालखर्क र भगवतीमाई गाउँपालिकाको हुलकाटाकुरामा गरी २ स्थानमा बसोबास गरिरहेका छन्। हाल उनीहरूको जनसंख्या १४३ छ।
आयोग, सोसेक नेपाल र काठमाडौं विश्वविद्यालयले राउटे समुदायको अवस्थाबारे अध्ययन गरिरहेको छ। त्यसैको शिलशिलामा बस्तीमा आयोगका कर्णाली प्रदेश प्रमुख लोकनाथ बाँस्तोला नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको हो।