नगर प्रहरी भर्ती गर्दै रास्कोट नगर
कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले नगर प्रहरी भर्ती गर्न लागेको छ । राकोट नगरपालिकाले नगरको सेवा करारमा नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९ निर्माण गरी त्यसअनुसार नगर प्रहरी भर्ना गर्न लागेको हो ।
नगरले १५ दिने सार्वजानिक सूचना जारी गरी खुला ८, महिला ३, दलित २ र सहिद तथा वेपत्ता परिवारबाट २ जना गरी १५ जनाको विज्ञापन खुलाएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही पेषणले स्थानीय तहले पाएको अधिकारको प्रयोग गरी नगरको शान्ति सुरक्षा कायम गर्न र स्थानीय युवाहरुलाई रोजगारी सृजना गर्न नगर प्रहरी भर्ना गर्न लागेको बताए । स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १९ को उप दफा २ को (क) मा भएको व्यवस्था अनुसार जिल्लामा पहिलो पटक रास्कोट नगरले नगर प्रहरीको भर्ती खोलेको हो ।
नगर प्रमुख शाहीले भने,' कानुनले दिएका अधिकारीहरुको प्रयोग गरी जनतालाई गाउँमै सिंहदरबार आएको अनुभूति गराउनुछ । हामी स्थानीय सरकारलाई सबल, सक्षम र विधि पद्धतिअनुसार सञ्चालन गरी प्रभावकारी र उदाहरणीय सरकार बनाउने अभियानमा छौं ।'
रास्कोट नगरपालिकाले नगर प्रहरी भर्ती गर्न लागेर राम्रो गरेको नागरिक समाजका अगुवा प्रेम शाहीले बताए । उनले भने,' स्थानीय तहले स्थानीयस्तरमै प्रहरी भर्ती गर्न पाउने व्यवस्था कानुनमा नै भएकाले यसको सबैले प्रयोग गर्नुपर्छ । यसले स्थानीय स्तरमा शान्ति सुरक्षा मजबुत हुनुका साथै युवाहरुका लागि रोजगारी पनि सिर्जना हुन्छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि यसको कार्यन्वयन गर्नुपर्छ । नगर प्रहरीले स्थानीय सरकार सञ्चालनमा पनि सहज हुने र गाउँमै युवाहरुले रोजगारीको अवसर पाउनेछन् । '