नेता ठेकदारका कारण खोटाङको महुरे–फोक्सिङटार सडक निर्माण ६ वर्षदेखि अलपत्र
खोटाङ : ठेक्का दिइएको समय बितिसक्दा पनि खोटाङको महुरेदेखि फोक्सिङटारसम्मको ४८ किलोमिटर सडक कालोपत्रे हुन सकेन। कांग्रेस डोल्पाका सभापति दिपेन्द्रबहादुर शाही र दमकका मदन अधिकारीले ठेक्का लिएको यो सडकको निर्माण कार्य ६ वर्षदेखि अलपत्र बनेको हो।
४८ किलोमिटर लम्बाइको यो सडकको साढे ७ मिटर चौडाइ छ। खोटाङको महुरेदेखि सिम्पानीसम्मको २२ किलोमिटर सडकको कालोपत्रे गर्न भारत कन्ट्रक्सन सिद्धिसाही जेभीका ठेकेदार शाहीले ४१ करोड ५० लाख रुपैयाँमा २०७३ असार ३० गते ४ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेका थिए। डोल्पाबाट प्रदेशसभा सदस्यमा पराजित भएका कांगेस जिल्ला सभापति शाही मोटरबाटो निर्माणको काम छाडेर सम्पर्कविहीन भएका छन्।
सिम्पानीदेखि फोक्सिटारसम्मको २६ किलोमिटर सडक निर्माण गर्न देवनारायण पवन, मैनाचुली, खम्पाचे जेवीका ठेकेदार अधिकारीले ५५ करोड ८७ लाख रुपैयाँमा २०७३ साउन ११ गते सम्झौता गरेका थिए। अधिकारी एमाले नेतृ तथा दमककी निवर्तमान उपमेयर गिता अधिकारीका श्रीमान हुन्। दुबै ठेकेदारले राजनैतिक पहुचका भरमा पटक-पटक म्याद थपेर सडक कालोपत्रेको काम अलपत्र पारेका छन्।
शक्तिको आडमा पटक–पटक म्याद थप्ने गरेका उनीहरुले सडक निर्माणनमा चासो नदेखाएका कारण यातायातका साधन सञ्चालनमा समस्या उत्पन्न भएको छ। ठेकेदार शाही र अधिकारीको लापरवाही कारण खोटाङको दिक्तेल रुपाकोटा मझुवागडी नगरपालिकाको महुरेदेखि बराहपोखरी गाँऊपालिकाको फोक्सिङटारसम्मको ४७ किलोमिटर कालोपत्रे गर्ने सडक निर्माणको काम अलपत्र परेको खोटाङको दिक्तेल रुपाकोटा मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए।
यो सडक दिक्तेल रुपाकोट नगरपालिकाको महुरेदेखि फोक्सिङटारसम्म खोटाङको साविकका बुईपा, विजयखर्क, राजापानी, बतासे, लिच्किराम्चे गाविस हुँदै उदयपुरको गाईघाटसम्म जोडिन्छ। सडक कालोपत्रे भए खोटाङ सदरमुकाम जान गाईघाटबाट १३३ किलो मिटरको रुट बन्ने छ। सडक कालोपत्रे नभएकै कारण अहिले प्रदेश १ बाट दिक्तेल जाने सवारी साधन उदयपुरको कटारी, घुर्मी ओखलढुङगाको हिलेपानी हुँदै लामो दुरीको बाटो जानुपर्ने बाध्यता भएको मेयर भट्टराईको बताए।
उनले ठेकेदार शाहीको लापरवाही र सडक विभागको बेवास्थाका कारण यो सडक समयमा सम्पन्न नभएको बताए। ठेक्का पाएको ११ वर्षसम्म सडक कालोपत्रे नगर्ने ठेकदारको पक्षमा सडक विभागले पटक पटक निर्माणको म्याद थपेर अर्को गल्ती गरेको उनको आरोप छ।
सडक कालोपत्रे नभएका कारण कच्ची सडकमा धेरै स्थानमा खाल्डा परेको, जताततै धुलाम्मे भएका कारण यातायातका साधान सञ्चालनमा गम्भीर समस्या भएको खोटाङका यातायात व्यवसायी विदुर लुइँटेलले बताए। सडक कालोपत्रे नभएकै कारण दुर्घटना बढेको उनको भनाइ छ।
दिक्तेल रुपाकोट मझुवागडी वडा नम्बर १४ का अध्यक्ष दिनेश राईले समयमा सडक निर्माण नगर्ने ठेकेदारलाई कडा कारवाही गरी ठेक्का सम्झौता खारेज गर्ने माग गरेका छन्। उनले ठेक्का सम्झौता खारेज गरेर अर्को टेण्डर प्रकृया अगाडि बढाएर सडक कालोपत्रे गर्न सरकारसँग माग गरेका हुन्। सडक धुलाम्मे भएका कारण यातायातका साधन सञ्चालन भएको समयमा सडकको धुलो घरभित्र पस्ने गरेको छ। जसका कारण मानव स्वास्थ्यमा गम्भीर असर गरी सर्वसाधारण बिरामी पर्न थालेका अध्यक्ष राईले बताए।
गाईघाट दिक्तेल सडकको योजना प्रमुख गोपाल खकुरेलले पनि ठकेदार शाही र अधिकारीको लापरवाहीका कारण समयमा सडक निर्माणको काम सम्पन्न नभएको बताए। उनले सडक निर्माण अलपत्र पार्ने ठेकेदार शाहीलाई कार्यसञ्चालन पेस्की दिएको ६ करोड ४७ लाख रुपैयाँ १० प्रतिशत ब्याजसहित जरिवाना असुल गरिएको बताए।
सडक अलपत्र पार्ने अधिकारीलाई ४ करोड ७२ लाख ब्याजसहितको रकम जरिवाना स्वरुप असुल गरिएको बताए। खकुरेलले समयमा सडक निर्माणको काम नगर्ने ठेकेदार अधिकारीलाई कारवाही स्वरुप कालोसुचिको प्रकृया अगाडि बडाइएको र शाही भने कार्यालयको सम्पर्कमा नआएको जानकारी दिएका छन्।
अधिकारीले भने सडक निर्माणको काम अगाडि बढाउन म्याद थपका लागि निवेदन दिएको र स्वीकृत हुनासाथ निर्माणको काम अगाडि बढाउने बताए। प्रदेशसभा सदस्यमा निर्वाचन हारेका शाही भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका डोल्पा प्रहरीले जानकारी दिए।