पूर्वी पहाडमा चासोक तङनामको रौनक
ताप्लेजुङ : प्रकृतिपूजक पूर्वका लिम्बू जातिले चासोक तङ्नाम पर्वलाई हर्सोल्लासका साथ मनाएका छन्।
यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन्। धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ। मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ।
ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी चासोक तङ्नामको थातथलो हो। चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ।
सारमा, बाली उब्जाइदिने प्रकृति– जल, जमिन, वायु, अग्नि (सूर्य) लाई विशेषले पुजिन्छ। चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो। लिम्बू जातिले अन्नलाई एकप्रकारले देवता नै मान्छन्। त्यसैले यी जाति अन्नमा प्रेम प्रकट गर्दै पुज्ने गरेका छन्।
ताप्लेजुङमा पनि किराँत याक्थुङ चुम्लुङले सदरमुकाम फुङ्लिङमा चासोक तङ्नाम तथा किराँत सुनुवास सेवा समाजले किरात कोइच सुनुवार स्यादर मन्दिर ल्याङ्बामा उधौली पर्व सामुहिक रूपमा मनाएका हुन्।
चासोक तङ्नाम पैयुँ फुल्नुका साथै माछा र चरा दक्षिणतिर लागेको उँधौली यामको न्वागी पर्व पनि हो। लिम्बू भाषामा ‘चासोक’को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङ्वा भुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ।
‘तङ्नाम’ले पर्व अर्थात् उत्सव जनाउँछ। चासोक तङ्नामले लिम्बू समुदायको परम्परागत जीविकोपार्जनको पेसागत मुख्य आधार कृषि हो भन्ने पनि जनाउँछ। चासोक पूजा आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गरिन्छ।
फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुगार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन्। खाँदा, रोग व्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ।
फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचना समेत गरिन्छ। पहिले आ–आफ्नो घरघरमा पुजा गरेर मनाईने यो पर्व पछिल्लो समय भने संस्थागत रूपमा मनाइँदै आएको छ।