एक साताभित्र काममा नफर्किए योजनाहरूको ठेक्का सम्झौता तोडिने
जोमसोम : मुस्ताङमा अलपत्र छाडिएका योजनाहरूको एक सातातभित्र निर्माणअघि नबढे ठेक्का सम्झौता तोडिने भएको छ। जिल्लामा राष्ट्रिय गौरवका आयोजनामा समेटिएका सडक आयोजना र पुल निर्माण अलपत्र परेका छन्।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले निर्माण कम्पनीहरूलाई एकसाताभित्र काममा नफर्किएमा ठेक्का सम्झौता तोड्न आयोजना प्रमुख जगत प्रजापतिलाई निर्देशन दिएका हुन्।
मुस्ताङका पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनको नेतृत्वमा एक टोलीले विकास निर्माणको काममा निकै ढिलासुस्ती भएको र भएका काम ठेकेदारले अलपत्र छाडेको बताएपछि उनले सो निर्देशन दिएका हु्न्।
राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा निर्माण कम्पनीका कारण ढिलासुस्ती भएको पूर्व संघीय सांसद तुलाचनले बताए।
राष्ट्रिय गौरवको सडक अन्तर्गत मालढुङ्गा–बेनी १३ किमी सड ,चराङ –छोसेर २५ किमी सडक, खन्ती–जोमसोम १६ किमी सडक,जोमसोम–कागबेनी कालोपत्रे सडक र अन्य पुलहरू समेत निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र छ।
मालढुङ्गा–बेनी १३ किमी सडक दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो। अहिले सो सडकको काम ठप्पै छ।
राष्ट्रिय गौरवको सडक २०७४ सालदेखि सुरु भएपनि ६ खण्डको काम सकिदा चराङ–छोसेर २५ किमी सडकको काम पूरा भएको छैन।
तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले जिम्मा लिएको उक्त खण्डमा ८५ प्रतिशत काम हुँदा दुई वर्षदेखि सडक स्तरोन्नति ठप्पै छ।
यसैगरि आयोजना अन्तर्गत बेनी–जोमसोम चौथो खण्डको काम पनि अहिले ठप्पै छ। कोवाङ–जोमसोम १६ किमी सडक स्तरोन्नतिको जिम्मा कोशी एण्ड न्यौपाने जेभीले लिएको थियो।
७ करोड ५२ लाख लागत उक्त खण्डको काम निर्माण कन्ट्रक्सनले अलपत्र छाडेको हो। कन्ट्रक्सनले जोमसोम बजार क्षेत्रका केही काम गरेपनि बाँकी काम लथालिङ छाडेको छ।
यस्तै, गतवर्षको सुरुवाती चरणमै ठेक्का सम्झौता भएको जोमसोम–कागबेनी १३ किमी कालोपत्रे सडकको काम पनि अलपत्र छ। कन्ट्रक्सनले १४ महिनामा जम्मा ७ प्रतिशत काम गरेर बाँकी काम त्यसै छाडेको हो।
कालोपत्रेका लागि आत्रेय सारस जेभीले लागत भन्दा आधा रकम घटेर २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो।
अहिले निर्माण कन्ट्रक्सनका प्रतिनिधि पनि सम्पर्कमा छैनन्। यस्तै, राष्ट्रिय गौरवको सडक अन्तर्गत मार्फा, कागबेनी, छुसाङ, घमी र चराङ लगायतका स्थानमा निर्माणधीन सडक पुल पनि ढिलासुस्तीले अलपत्रै छ।