सगरमाथा क्षेत्र घुम्न जानेबाट पालिकाले उठायो ३ करोड
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट ३ करोड रुपैयाँभन्दा बढी राजाश्व संकलन गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म प्रवेश शुल्कबाट ३ करोड ६२ लाख ७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
चालु आर्थिक वर्षमा १५ हजार ३१३ पर्यटक खुम्बु भित्रिएको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । जसमा साउन महिनामा २०३, भदौमा ६६१, असोजमा ५ हजार ६२९, कार्तिकमा ७ हजार ७८६ र मंसिर १५ गते सम्ममा १ हजार ३४ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् ।
पालिकाले विदेशी पर्यटकबाट प्रतिव्यक्ति २ हजार रुपैयाँ शुल्क लिने गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईले जानकारी दिए । उनले भने, ‘यो राजश्वका लागि पालिकाको छुट्टै बैंक खाता छ । राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा हुने रकम हामी पर्यटक पुर्वधार विकासमा खर्च गर्छौ । यो शुल्क गाउँपालिकाको राजस्व खातामा दाखिला हुने गरेको छ।’
१० वर्ष भन्दा कम उमेरका, कुटनीतिक नियोगका व्यक्ति तथा नेपाल सरकारबाट निर्णय भएर खोज तथा अनुसन्धानमा आएका व्यक्तिलाई शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।
मुलुक संघीयतामा गएसँगै २०७४ सालमा पहिलो पटक स्थानीय सरकारले निर्णय गरेर पर्यटकबाट पालिकाले छुट्टै राजस्व संकलन गर्न थालेको हो । पालिकाको यो निर्णय खारेजीको माग गर्दै पर्यटन व्यवसायीले अदालतमा मुद्दासमेत हालेका थिए । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले गाउँपालिकाको नाममा फैसला गरेसँगै शुल्क लिने बाटो खुलेको हो । सगरमाथा क्षेत्र भ्रमण गर्न आउने विदेशीलाई सगरमाथा राष्ट्रिय निकुञ्जमा पनि प्रवेश शुल्क लिने गरिएको छ।