प्राविधिक शिक्षालाई व्यापक रूपले विस्तार गर्नुपर्छ : पूर्वमन्त्री पोखरेल
ढल्केवर(धनुषा) : पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षालाई व्यापक रूपले विस्तार गर्नुपर्ने बताएका छन्।
शुक्रबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा कृषि कलेजको भवन शिलान्यास गर्दै उनले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई प्राप्त गर्न प्राविधिक शिक्षालाई व्यापक रूपले विस्तार गर्नुपर्ने बताएका हुन्।
देशमा प्राविधिक शिक्षा अध्ययन गर्ने २० प्रतिशत पनि नपुगेको तथ्यांक देखाउँदै मन्त्री पोखरेलले चिन्ता व्यक्त गरे । उनले प्राविधिक शिक्षालाई सीप र सीपलाई उत्पादनसँग जोडेपछि मात्र देशमा समृद्धि आउने दावी गरे।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले शिक्षालाई उत्पादनसंग जोड्न नसकिएकाले देशमा दक्ष जनशक्तिको अभाव भएको जिकिर गरे।
निगौलको गाई गौशालालाई विश्वविद्यालयलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढेको बताउँदै यसले तराई मधेसलाई माथि बदल्न योग्दान गर्ने उनले उल्लेख गरे।