कोर्नु छ नौलो आयाम
मान्छेले मान्छेलाई छुन नहुने
चलनको आगो दन्किरहँदा
मान्छेभित्रको मानवता खरानी भएको छ
चुपचाप बस्ने मानवता मसँग छैन
भन उभित्रको मान्छेले
तिमीलाई कहाँ पोल्यो ?
कुन ठाउँमा घोच्यो ?
तिम्रो हृदयमा
हेलाको बाक्लो तुवाँलो
घरजम गरेर बसिरहेको छ
त्यसलाई निकाल मनबाट
अनि देख्ने छौ तिमीले
मानवताको पवित्र निलो आकाश
त्यही सुन्दर गगनमा
देख्नेछौ तिम्रा आँखाले
उडिरहेका प्रेमका
जोडी सेता परेवाहरू।
घामले तिमीलाई ताप र राप दिन्छु
उसलाई दिन्न भन्दैन
पानीले तिम्रो प्यास मेट्छु
उसको मेट्दिन भन्दैन
आगोको राप सबैले समान रूपमा पाउँछ
वर्षा हुँदा तिम्रो जस्तै उस्को पनि
खेतबारी सबै उस्तै गरी भिजेको हुन्छ।
प्रकृतिसँग विभेदको पर्खाल छैन
यो पर्खाल मान्छेले बनाएको न हो।
रीति बनाउने मान्छे हुन्
संस्कृति बसाल्ने पनि मान्छे नै हुन
भगवान् रामले त सवरीको जुठो खाएर
मानवताको हिमाल बनाए
तर त्यही सवरीलाई
मन्दिर प्रवेश नगराउने त मान्छे नै हुन।
हो
भेदभावको अँध्यारो रात ढालेर
उज्यालो नवजात शिशु जन्माउनु छ
सबैको मनमा
एकै मानव जातिको बीजारोपण गर्दै
मानवताको फूल फुलाउनु छ
अनि कोर्नु छ मानव इतिहासमा
सुनौला आयाम।