धनकुटामा विश्वकपकै माहोल
धनकुटा : विश्वकप फुटबलको रौनकले धनकुटा पनि अछुतो छैन। जिल्लाका गाउँदेखि बजारका विभिन्न क्षेत्रमा विश्वकप फुटबलको माहोल देखिएको छ। गाउँ तथा सहरका विभिन्न ठाउँमा आफूलाई मन पर्ने देशको झन्डा राख्ने क्रम पछिल्लो समय निकै बढेको छ।
यसैगरी मोटरसाइकल, ट्याम्पो, सुमोलगायत सवारी साधनमा विश्वकप फुटबलमा सहभागी राष्ट्रको झन्डा राखेर हुइँकिने गरेको देख्न सकिन्छ। झन्डा मात्र होइन, फुटबलप्रेमीहरू विभिन्न राष्ट्रका जर्सी लगाएर हिड्ने गरेका छन्। अधिकांश फुटबलप्रेमीहरू आफू ब्राजिल, अर्जेन्टिना, स्पेन, जर्मनी, फ्रान्स, इङ्ल्यान्डकाम समर्थक रहेको बताउँछन्।
फुटबलको माहोलले सदरमुकाम निकै तातेको छ। यहाँ सञ्चालित पसलमा विभिन्न देशको झन्डा र जर्सी बिक्रीका लागि राखिएको देख्न सकिन्छ। विश्वकप फुटबलको क्रेज सबैभन्दा बढी स–साना भाइबहिनीहरूमा देख्न सकिन्छ। उनीहरूमा फुटबलप्रतिको आकर्षण निकै बढेको फुटबलप्रेमी गौरव कार्कीले बताए। उनले आफू अर्जेटिनाको फ्यान भएको उल्लेख गर्दै उसैले उपाधि जितोस् भन्ने चाहेको बताए। चार÷चार वर्षमा प्रतियोगिता सञ्चालन हुने भएकाले विश्वकपको तीब्र प्रतीक्षा सबैलाई हुन्छ। कुनै खेलाडीको खेल कौशल देखेर उनकै राष्ट्रको फ्यान बन्ने जमात पनि
अहिले जिल्लाको विभिन्न क्षेत्रका चोक तथा टोलमा ठूलो प्रोजेक्टर तथा क्रिनमा सामुहिक रुपमा विश्वकप हेर्नेको भीड लाग्न थालेको छ। सामुहिक रुपमा फुटबल हेर्दा आ–आफ्नो टोलीको हुटिङ गरेको दृश्य हेर्दा मैदानमा पुगेभन्दा कम नहुने कार्की बताउँछन्।
फुटबल महाकुम्भको समयमा नै धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा प्रथम विद्यालयस्तरीय फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ। सदरमुकामकै न्यु नवप्रभात क्लबको आयोजनामा मंसिर २० गतेदेखि प्रतियोगिता आयोजना भइरहेको छ। विश्वकपमै बेला आयोजना भएको कारण फुटबलप्रतिको क्रेज ह्वात्तै बढेको जिल्ला फुटबल संघका पूर्वअध्यक्ष समेत रहेका क्लवका अध्यक्ष गोविन्द राईले बताए।
सदरमुकामका विभिन्न क्षेत्रमा सञ्चालित विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा स–साना विद्यार्थी भाइबहिनीहरूको फुटबलप्रतिको लगाव धेरुै नै देखिएको उनले बताए। उनीहरूले फुटबल खेल्नै पाएका थिएनन्। महाकुम्भले माहोल ल्याइदिँदा प्रतिभावान खेलाडी पहिचान गर्न सहज भएको उनले बताए। राईले यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्नेमा विश्वस्त रहेको बताए।