ढोरपाटनमा विदेशी सिकारी
बागलुङ : नेपालकै एक मात्र सिकार आरक्षमा यस वर्षको पहिलो याममा सात नाउर र पाँच झारलको सिकार भएको छ। ढोरपाटन सिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकार यामको लागि ६ वटा झारल र आठवटा नाउरको कोटा निर्धारण गरेको थियो। तर, यस वर्ष कोटाभन्दा एक वन्यजन्तुको कम सिकार भएको छ। नेपालका चार सिकार कम्पनीमार्फत् आएका विदेशी सिकारीले यसपटक निर्धारित कोटाभन्दा एउटा नाउरको सिकार गर्न सकेनन्।
एक नाउरको अनुमति प्राप्त गरे पनि ग्लोबल सफारिज प्रालिबाट सिकार गर्न आएका अमेरिकी नागरिक निकोलस भाइन्सेन्ट रोड्रिगेजले बार्से सिकार ब्लकमा नाउरको सिकार गर्न नसकेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कंडेलले बताए। उनले यस याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत अमेरिकी नागरिक वारर्डी ग्यारेट भानहोसले घुस्तुङ ब्लकमा एक नाउरको सिकार गरेको बताए।
कँडेलका अनुसार हिमालयन सफारीमार्फत सिकारमा गएका मेक्सिकोका सिकारी ओस्कार अलेक्जेन्डरले सुनदह र सेङ ब्लकमा एक झारल र एक नाउर सिकार गरेका थिए। त्यस्तै, माउरीको जेभरले दोगाडी ब्लकमा एक झारल र एक नाउर र अमेरिकी सिकारी टाएलर लि इस्टनले दोवाडी ब्लकमा एक नाउर र झारलकोे सिकार गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए। फागुने ब्लकमा ग्लोबल सफारीमार्फत सिकारमा गएका क्यानेडियाली सिकारी एडमन मिचेल रुक्सले फागुने ब्लकमा एक नाउर र जर्मनीका शिकारी इरिक डिटररिजरिष्टले एक झारलको सिकार गरेका छन्।
ट्र्याक एण्ड ट्रभाल्समार्फत सिकारमा गएका अमेरिकी सिकारी जोफ्रे माथेवप्राजिले दोगाडी र घुस्तुङमा गरी एक झारल र एक नाउर तथा अर्का अमेरिकी सिकारी मिचल कुर्तच्याम्पमेनले घुस्तुङ ब्लकमा एक झारल र एक नाउरको शिकार गरेको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ।
ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन्। अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिंङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्।
सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन। आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ। आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुईपटक सिकार खुल्छ। पेसेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्छन्।
विभागले गराउने अन्तर्राष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यावसायिक सिकारीलाई नेपाल भित्र्र्याउँछन्। यो याममा सिकारीले एउटा नाउरको २० लाख र झारलको ६ लाख रुपैयाँ राजस्व तिरेका थिए । सिकार पर्यटनबाट प्रतिवर्ष करोडाँै रुपैयाँ राजस्व ढुकुटीमा जम्मा हुन्छ। सिकार कम्पनीको प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने हो। आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा सिकार खेल्ने गरिएको थियो।