मतदाताको मनोविज्ञान
निर्वाचनको पूर्ण परिणाम प्राप्त अगावै नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनको सन्दर्भले नेपाली राजनीति नै गर्माएको छ। कांग्रेस महामन्त्री गगनकुमार थापाको पक्षमा पार्टीभित्रको सांसदहरूको लहर र मतदाताको दबाबसमेत देखिएको छ। जसका कारण कांग्रेसभित्रको राजनीतिमा पराकम्प पैदा भएको हो।
महामन्त्री थापाकै असहयोगबाट कांग्रेसका उम्मेदवार पराजित भएको भन्ने ‘कथित भाष्य’ निर्माणमा पार्टीको संस्थापन पक्ष लागेको छ। जसलाई ‘गोयबल्स’ शैलीमा प्रस्तुत भएको छ। महामन्त्री थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा प्रत्याशी हुनुपूर्व नै ‘मिसन पीएम’ भन्ने विषयले देशैभर चर्चामा थिए।
परम्परागत राजनीतिमा ‘नो नट अगेन’वाला पुस्ताकै बोलवाला चलिरहेको छ। महामन्त्री थापालाई काठमाडौं ४ का मतदाताले त अनुमोदन गरे नै, कांग्रेस संसदीय दलबाटै भने अनुमोदन हुने, नहुने विषय केही दिन पर्खनै पर्ने हुन्छ। सांसदहरूबाट गरिने अनुमोदनका सन्दर्भमा सांसदहरूको ‘हेड काउन्ट’ कुर्नुपूर्व एउटा ‘लख’ काट्न सकिन्छ। निर्वाचनमा संस्थापन पक्षबाट वितरण गरिएको टिकटका आधारमा निर्वाचित सांसदहरूबाट यस पटक नेपाली राजनीतिलाई युवाहरूकै हातमा ल्याउने तयारी तथा चाहना पूरा नहुन सक्छ। मुलुकभर युवाहरूको पक्षमा जनलहर देखिएको छ। जसका कारण नेपालका राजनीतिक दलका ‘प्रौढ’ नेताले आफू र आफू नेतृत्वको राजनीतिक दल सच्चिएको सन्देश प्रवाहित गर्न सक्नुपर्छ। ‘ड्राइभिङ सिट’ त्याग गर्न सक्नु पर्छ।
युवाको मनोविज्ञान बुझ्न नसक्दा आगामी दिन कोही कसैका निम्ति पनि सहज छैन।
सन्दर्भ काठमाडौं ४ बाट निर्वाचित सांसद थापाकै हो। थापाले जव ‘मिसन पीएम’को विषय निर्वाचन अगावै उठाए, तब ‘इपी सेन्टर’ काठमाडौं ४ बन्न पुग्यो भने तरंग देशभर ! कांग्रेसकै कतिपय नेताले त मलिनो स्वरमा ‘बेला नभएको’ टिप्पणी गर्न पुगे। कतिपय नेता निर्वाचन अवधिभर मौन रहे। जव निर्वाचन सम्पन्न भयो, सतहमा दुईथरी मत ‘लाजमर्दाे तरिका’ले देखा पर्न थाल्यो। एउटा मत थियो– अब म पनि पीएम ! दोस्रो मत थियो– सरकारी साधनस्रोतसमेत प्रयोग गरी राष्ट्रिय झण्डासहित निर्वाचनमा गएर नमिठो हार व्यहोरेपश्चात् ‘गगनले हराइदियो’ ! यसरी टिप्पणी गर्ने नेताले हेक्का राख्न सक्नुपर्छ– भोलि जनताले के भन्लान् ?
तेस्रो र मूल विषय ‘गगनकुमार थापा’को राजनीतिक उचाइबाट आरिसवाला एउटा समूह छ। जुन समूह कांग्रेसबाट पराजय भोगेकाहरू सबैको दोषको भागीदार स्वयम् गगन हुन् भन्ने भाष्य सिर्जना गर्न चाहन्छ ! गठबन्धन हुँदा पनि जित निकाल्न असक्षम स्वयम् मन्त्रीले पनि हारको दोषको भागीदार स्वयम् गगनलाई नै बनाउनुको अर्थ रहन्न। तर, उनीहरू पानी माथिको ओभानो बन्ने प्रयत्न जारी छ। जावलाखेल आसपास भूमिगत अड्डा निर्माण गरेका मन्त्री स्वयम्ले बुझ्नै पर्ने तथ्य के हो भने– तपार्इंहरू जस्ता समयको बेग बुझ्न नसक्नेलाई हराइदिएका गगन थापाले हुँदै होइनन्। स्वयम् तपाईंहरूले मतदाताको मनोविज्ञान बुझ्न नसक्नु एउटा कारण हो। अर्काे कारण तपाईंहरूको ‘इमेज’ नै हो। सँगै, तपार्इंहरूले खोज्नुपर्ने तेस्रो कारण भनेको आफ्नो हारमा बालुवाटार स्वयम्को भूमिका कति रह्यो ?
जनताले आगामी पाँच वर्षका लागि तपाईंहरूलाई संसद् बाहिर राखिदिए। अब हारको निर्मम समीक्षा गर्नुहोला– त्रुटि कहाँकहाँ भयो भनेर। तपाईंहरू कस्ताकस्ताले टिकट पाउनु भयो, समानुपातिकमा कस्ता अनुहारलाई पठाउन प्रेरित गर्नुभयो ? त्यागका बारे टिप्पणी गर्दै गर्दा एकपटक आफ्नै पार्टीका तमाम नेतातिर फर्किएर हेर्नुस् त, जीवनभर ‘पद’ भन्ने चिज नै नदेखि मृत्युवरण गर्नु परेका ! उनीहरूका सामु तपाईंहरूलाई केही हदसम्म असजिलोसमेत लाग्नुपर्ने हो। जनताको शक्ति ‘अजेय’ भएकै कारण जनताले ‘सच्चिन’का लागि ‘साइड’ लगाइदिएको अनुभूत नगरी हारको दोष अरू कोही माथि लगाएर पन्छिने सुविधा तपाईंहरूलाई छैन। युवाको मनोविज्ञान बुझ्न नसक्दा आगामी दिन कोही कसैका निम्ति पनि सहज छैन।
समग्रमा कांग्रेसका लागि यतिबेला हारजितको समीक्षा सार्वजनिक सञ्चार माध्यममार्फत गरेर ‘जग हँसाई’ गरेर बस्ने बेला होइन। आफ्नै नेतृत्व त्यो पनि युवाको नेतृत्वमा सरकार गठनको पहलकदमी लिनुपर्छ।
जनताको भावना बुझ्न नसक्ने व्यक्ति वा पार्टीको हार त निश्चित रहन्छ। अब आफ्नै पार्टीका गगन थापालाई संसदीय दलको नेतामा भोट किन भन्ने ‘भाष्य’ निर्माणरूपी ‘निकृष्ट’ खेलमा रमाउँदै गर्दा दुई वटा विषयको हेक्का राख्नै पर्ने हुन्छ। पहिलो हो महामन्त्री गगन वा गगनको पुस्ता विश्वप्रकाश शर्मा, प्रदीप पौडेल आदिले पार्टी र सरकार हाक्ने प्रयत्न स्वरूप आजका मितिमा संसदीय दल र भोलि पार्टी सभापतिमा चुनाव लड्ने प्रयत्न नै नगर्ने हो भने नेपाली कांग्रेसले पनि ‘प्रजा परषद्’को बाटो समाउने निश्चित प्रायः छ। दोस्रो कुरा ‘गगन, विश्व, प्रदीप’ आदिले नेपाली कांग्रेसलाई नसच्याउने हो भने आसन्न निर्वाचनमा जनताबीच एजेन्डाविहीन कांग्रेस जनताबाटै बढारिने झनै निश्चित छ। तसर्थ पनि ‘भूमिगत अड्डा’ बनाएर बैंक ब्यालेन्स थप्नुलाई मात्र राजनीति नभनिने भएकाले ‘गगन पुस्ता’ले काठमाडौं ४ लाई ‘इपीसेन्टर’ बनाए। पराकम्प भने कांग्रेसको केन्द्रीय नेतृत्वसम्म पनि जारी छ। यसमा आश्चर्य मान्नुपर्ने विषय नै छैन। १५ दिनअघि रात्रिबस चढेर गएको एउटा ‘नवजवान’ले प्राप्त १३ हजार मतले नै ‘नो नट अगेन’वाला पुस्ताको भावी दिन निर्दिष्ट गरिसकेको छ।
कांग्रेसभित्र रहेर आर्थिक उपार्जनको शृंखला थप्दै जाने एउटा समूह छ। जो पार्टी सभापतिविरुद्ध संसदीय दलमा दोस्रो कोही लड्नै नहुने ‘भाष्य’ स्वयम् सभापतिकै रायमा निर्माण गर्दैछ। उसो भए हिजो स्वयम् देउवा गिरिजाप्रसाद कोइरालाको विरुद्ध पार्टी सभापति तथा संसदीय दलमा चुनाव किन लडेको ? अझ सत्ता र शक्तिका निम्ति पार्टी नै फुटाएको दृष्टान्तबाट भाग्न मिल्ला ? लोकतन्त्र प्राप्तिको आन्दोलनमा लामो समय देश बसेको पुस्ताको रूपमा ‘नो नट अगेन’वालालाई लिने गरिन्छ। यहीनेर प्रश्न गर्नुपर्ने हुन्छ– तपाईंहरू विरुद्ध कुनै मोर्चामा पनि उम्मेदवारी दिनै नहुने कस्तो हो, तपाईंहरूले लडेर ल्याएको लोकतन्त्र ? तपाईंहरूले आजका मितिमा देखाउनु भएको ‘संस्कार’ले मुलुक कहाँ पुग्ला ? आजको ‘यक्ष’ प्रश्न पनि यही हो।
आर्थिक प्रभावकै भरमा परम्परागत दलका परम्परागत नेता जनताबीच जाने, विचारको राजनीतिभन्दा ‘तेरो–मेरो’ हेर्ने प्रवृत्ति नेपालमा हाबी बन्न पुग्यो। यो प्रकारको राजनीतिले आगामी दिनमा राजनीतिमा शुद्धता सम्भव छैन। दलहरूले सच्चिएको सन्देश दिन सक्दा मात्र जनमत स्थिर रहने हो। राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ले प्राप्त गरेको मतलाई हेरेर निकालिने निष्कर्षभन्दा पनि आफूले गर्दै आएको वाचा र कार्यबीच कति मेल खायो भनेर खोजी गर्दा मात्र ‘हार–जित’को कारणको निष्कर्षमा पुग्न सकिन्छ। अन्यथा आर्थिक लेनदेन तथा टिकट वितरणमा गरिएको मनोमानी, समानुपातिक सूचीमा राखिएकाहरूको अनुहार, समयको बेग बुभ्mन नसक्नु जस्ता कारण झगडा पर्ने, त्यही झगडाको परिणामस्वरूप हार हुने र दोष जति संसदीय दलको नेता रोक्नका निम्ति ‘गगन’माथि थोपरिने प्रवृत्ति हाबी हुन्छ। यसले न कांग्रेसको भविष्य उज्ज्वल हुन्छ, न त नेपालको राजनीतिमा नै सुधार आउँछ !
समस्याको पहिचानमा पुग्नै नचाहने, तर हारको दोषको ‘भाष्य’ चाहिँ अर्कैको भागमा पुर्याइदिने प्रवृत्ति नै नेपालको राजनीतिमा देखिएको अपरिपक्वता हो। यहीनिर भन्नै पर्ने हुन्छ– अव प्रधानमन्त्रीरूपी सत्ता र शक्तिका लागि राष्ट्रपति र सभामुखजस्ता ‘पोजिसन’ कांग्रेस बाहेकलाई सुम्पिएर खोजिने निकासले नेपाली कांग्रेसलाई त समाप्तिको बाटोमा लैजान्छ नै, त्यतिबेला लोकतन्त्रको समेत भविष्य संशयमा पर्ने दिन टाढा नरहन सक्छ। यसको हेक्का कांग्रेसजन त्यो माथि पनि युवा नेतामा हुन जरुरी छ। पराजित कांग्रेस नेताले आफ्नै कारणले पराजय भोगेका हुन्। त्यसको दोष अरूमाथि सुम्पिएर संसदीय दलभित्र उतारचढाव हुने गरी दोषारोपण गरेर बस्ने बेला होइन।
समग्रमा कांग्रेसका लागि यतिबेला हारजितको समीक्षा सार्वजनिक सञ्चार माध्यममार्फत गरेर ‘जग हँसाई’ गरेर बस्ने बेला होइन। आफ्नै नेतृत्व त्यो पनि युवाको नेतृत्वमा सरकार गठनको पहलकदमी लिनुपर्छ। हिजो आफैंले प्रतिबद्धता गरेको ‘राजनीतिक स्थिरता र समृद्धि’को विषय कार्यान्वयन गरेर देशलाई उत्साहजनक निकास दिने दायित्व कांग्रेसमाथि नै छ। कांग्रेसले उत्साहजनक निकास दिन नसकी ‘निराशाजनक’ बाटोमा मुलुक गयो भने भोलिका दिनमा इतिहासले कांग्रेसलाई ‘समीक्षा’ नै गर्न नसक्ने तहमा पुर्याइदिनेछ। त्यतिबेला आन्तरिक रडाको गरेर बस्नुबाहेक कांग्रेससँग राष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता महत्त्वपूर्ण ‘पोजिसन’ केही बाँकी रहने छैन। हारजित दुवै व्यहोरेका कांग्रेसजनले यति कुराको हेक्का मात्र राखिदिए पुग्छ।