तेल पर्खिरहेको साँघु

तेल पर्खिरहेको साँघु

 दोलखा : ‘साँघु अर्थात् झोलुंगे पुलमा तेल दल्नुपर्छ’ भन्ने सुन्दा नयाँ पुस्तालाई अचम्म लाग्न सक्छ। तर, दोलखामा यस्तो पनि चलन थियो। माथिल्लो तामाकोसी आयोजनाको सडकखण्ड छेउमा पर्ने जामुनेमा रहेको एउटा झोलुंगे पुलमा हरेक वर्ष तेल दलिन्थ्यो। कारण– पुलको लठ्ठाका रूपमा रहेका फलामको साङ्लामा खिया नलागोस्। वर्षभरि भार थाम्न दह्रो होस् भन्ने हो। 

दोलखाको उत्तरी क्षेत्रका आधादर्जन तत्कालीन गाविसका स्थानीयको प्रमुख मार्ग बनेको खारे र बुलुङ (हालको गौरीशंकर गाउँपालिका र विबु गाउँपालिका) जोड्ने पुल २००३ सालमा निर्माण गरिएको थियो। 
त्यस समय अहिलेको जस्तो आधुनिक फलामका लठ्ठा थिएन। नदीमा पुल हाल्नु सहज कार्य थिएन। 

खानीबाट निकालिएको काँचो फलामलाई कुटेर पुलका लागि साङ्लो तयार पारिएको थियो। त्यसै समयबाट पुललाई दह्रो बनाउन तेल दल्लने इतिहास सुरु भएको स्थानीय बताउँछन्। ‘यो तेल दल्ने कार्य ऐतिहासिक नै हो। फलाममा खिया नलागोस भनेर बर्सेनि तेल दल्ने गरिएको थियो। तर, दुःखको कुरा, अहिले त्यो तेल दल्ने गरेको पुलको संरक्षण गर्न सकिएको छैन। कुन बेला चुँडिएर झर्ने हो टुंगो छैन। कतैबाट चासो पनि दिइएको छैन’ पुलको संरक्षणमा जोडिएका स्थानीय बलबहादुर खड्काले भने। 

स्थानीयलाई आवत–जावत गर्न समस्या भएपछि २००३ सालमा स्थानीय समाजसेवी प्रयागराज पण्डितले उक्त पुल बनाएको इतिहास छ। उनले रामेछाप ठोसे मेक्चनको फलाम खानीबाट काँचो फलाम ल्याई व्यक्तिगत लगानीमा पुल निर्माण गरेको स्थानीयको भनाइ छ। पुल निर्माण गर्ने पण्डितको भने २०२८ सालमा निधन भएको हो। त्यसपछि तेल दल्ने क्रम पनि रोकिएको स्थानीय बताउँछन्। ‘त्यस समय जामुनेमै आरन बनाइ स्थानीय मजदुरको प्रयोगमा ठोसे मेक्चनको खानीबाट ल्याइएको काँचो फलामबाट साङ्ली बनाई पुल निर्माण गरिएको इतिहास छ। यो मैले पनि सुनेको कुरा हो। त्यस समयबाटनै तेल दल्न सुरु गरिएको हो। अहिले त्यो पुल संरक्षणको पर्खाइमा छ’, स्थानीय खड्काले भने।  

पुल निर्माण भएपछि फलाममा खिया लाग्न नदिन समाजसेवी प्रयागराज पण्डितकै लगानीमा हरेक वर्ष तेल दल्न सुरु गरिएको त्यस क्षेत्रका जानकार बताउँछन्। यो क्रम पण्डित जीवित हँुदासम्म मात्रै कायम रह्यो। स्वर्गीय प्रयागराज पण्डितले पुलको संरक्षण र हरेक वर्ष तेल दल्न आफ्नो जग्गामा निजी गुठीसमेत बनाएका थिए। आफू त्यही निजी गुठीको जग्गा कमाउने क्रममा २०२७ सालमा जामुने आएको बलबहादुरले बताए।

समाजसेवी प्रयागराज पण्डितले बिभिन्न ठाउँबाट मानिसलाई ल्याएर आफ्नो जग्गामा निजी गुठी बनाइ राखेको र त्यसको आम्दानीबाट पुलको संरक्षण तथा प्रत्येक वर्ष तेल दल्ने गरेको स्थानीयको भनाइ छ। तर, २०२८ सालतिर उनको मृत्यु भएपछि तेल दल्ने काम बन्द भएको थियो।

संरक्षणमा छैन चासो

इतिहासको कला देखाउने यस्ता पुल मुलुकमा धेरै भए पनि संरक्षणमा चासो छैन। यस्तै समस्याको चपेटामा परेको छ यो पुल पनि। अहिले नजिकै आधुनिक पुल निर्माण हुन थालेको र सडकले गाउँ–गाउँसम्म जोडेपछि तेल दल्ने पुलको संरक्षणमा चासो नहुने गरेको स्थानीय बताउँछन्। 

गाउँ–गाउँमा सिंहदरबार पुगेपछि यस्ता ऐतिहासिक पुलको महत्व नबुझेकामा सबै चिन्तित छन्। २०४४ सालमा तत्कालीन जिल्ला पञ्चायतले मर्मतमा सहयोग गरेको थियो। तर, त्यसयता पुलको संरक्षणमा कसैले चासो नदिएको स्थानीयको गुनासो छ। 

सय वर्षअघिका धेरै साँघु मासिए पनि जामुनेमा रहेको साँघु नदीमा खस्ने अवस्थामा रहेको छ। तत्कालीन समयमा पुर्खाले बनाएका यस्ता साँघु संरक्षण भएको भए राम्रो हुने स्थानीय खड्का बताउँछन्। तत्कालीन समयमा यस्ता साँघु बनाउन कम्तीमा ६ महिना लागेको थियो। 

२०४५/४६ सालमा सुरीदोभानमा ट्रस्टको झोलुंगे पुल बनेपछि अलपत्र अवस्थामा रहेको साङ्ला बोकर ल्याई जामुनेमा साँघु पुनः सारिएको बताइएको छ। अहिले सडक पनि नजिकैबाट निर्माण भएको तथा तामाकोसीमा बिभिन्न नयाँ पक्की पुलहरू पनि बनिसकेको हुँदा यो ऐतिहासिक पुल भने महत्वविहीन भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.