लागूऔषधसहित ६ कारोबारी पक्राउ
धरान : प्रहरीले सुनसरीको धरान उपमहानगरमा ठूलो परिणामको लागूऔषध बरामत गरेको छ । साथै लागूऔषध कारोबारमा संलग्न ६ जना कारोबारीलाई पक्राउ समेत गरेको छ। बुधबार राति खटिएको इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले गोप्य सूचनाको आधारमा धरान–३ स्थित सदन रोड, १४ को विजयपुर र धरान –५ को देउरालीका तीन स्थानमा प्रहरीको टोली परिचालन गरी छापा मार्दा छ पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा धरान–३ का ३४ वर्षीय मन्त्री उपनामका मनकुमार श्रेष्ठ, धरान–५ का २६ वर्षीय अमन राई, धरान–१४ का २१ वर्षीय रञ्जित तामाङ, १९ वर्षीय नेल्सन याख्या, २० वर्षीय शाहिल भण्डारी र १९ वर्षीय शेखर परियार रहेका छन्।
प्रहरी टोलीले धरान–३ स्थित सदन रोडमा मनकुमारको कोठाबाट फेनेरगन, ३२ एम्पुल, डाइजेपाम ३९ एम्पुल, लुपिजेसिक ३९ एम्पुल र एभिल ४५ एम्पुल बरामत गरिएको डीएसपी श्रेष्ठले बताए। त्यस्तै, ट्रामाडोल १ हजार ट्याब्लेट, स्पास्पेइन १ हजार ५ सय ट्याब्लेट बरामत गरिएको उनले बताए।
त्यस्तै, धरान–५ देउरालीस्थित अमन राईको घरबाट लागूऔषध ५ हजार ३९ ट्याब्लेट ट्रामाडोल, २ हजार ६४० ट्याब्लेट स्पास्पेइन बरामत गरिएको डीएसपी श्रेष्ठले बताए। धरान–१४ का रञ्जित तामाङको घरबाट २४० ट्याब्लेट स्पास्पेइन र २५० ट्याब्लेट ट्रामाडोल बरामत गरिएको छ। त्यस्तै, भण्डारी, याक्खा र परिवारको साथबाट ८
ट्याब्लेट स्पास्पेइन र ८० ट्याब्लेट ट्रामाडोल बरामत गरिएको डिएसपी श्रेष्ठले बताए।
पक्राउ परेका ६ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। पक्राउ परेका ६ जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐनअनुसार अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले बताए।