सैनिक बनेर टिकटकबाट ठग्ने पक्राउ
जोमसोम : सेनाको पोसाकमा टिकटक बनाइ ठगी गर्नेे एक युवक हतियारसहित पक्राउ परेका छन्। थासाङ गाउँपालिका–२ बस्ने १९ वर्षीय युवक विपन विकलाई नेपाली सेनाको पोषाकमा हतियारसहित टिकटक बनाइ ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी मुस्ताङले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेका युवकको घटनाका सम्बन्धमा बिहीबार एक प्रेष विज्ञप्ति समेत सार्वजनिक गरेको छ। युवकले तेन्जिङ गुरुङ नामको नक्कली टिकटक आईडीमा नेपाली सेनाको पोषाक र नक्कली परिचयपत्रसहितको फोटो तथा भिडियो अपलोड गरी ठगी गरेको विज्ञप्तिमा भनिएको छ।
सैनिक पोषाक लगाएर टिकटकमा आफु नेपाली सेनाको उपसेनानी÷सहसेनानी भएको र बुवा उपरथि, आमा मेजर, दिदी सहसेनानी हुन् भनी भिडियो र फोटो अपलोड गरेको बताइएको छ। युवकले टिकटकमा सैनिक परिचय दिएर नेपाली सेनामा भर्ती गरिदिन्छु, सरुवा÷बढुवा गरिदिन्छु भनी नक्कली परिचयपत्र प्रयोग गरी ठगी गर्दै आएको भनी सेनाबाट जिल्ला प्रहरीलाई सूचना आएपछि युवकलाई हतियारसहित पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार पक्राउ परेका युवकको घरबाट स्टेन्ट गनजस्तो देखिने हतियार, वाकीटकी जस्तो वस्तु, सेनाको बुट, पोषाक, नक्कली पेस्तोल र पेस्तोल राख्ने पाउँचलगायतका सामग्री बरामद गरेको छ ।