कालिगण्डकीमा पुल निर्माणको काम सुस्त, म्याद सकिदा १० प्रतिशत मात्रै भौतिक प्रगति
जोमसोम : मुस्ताङको थासाङ–२ कोवाङ–सौरु जोड्ने कालिगण्डकी नदीमा निर्माणधिन सस्पेन्सन पुलको काममा ढिलासुस्ती देखिएको छ । ठेक्का सम्झौता अवधि सकिदा अहिले जम्मा १० प्रतिशत मात्र भौतिक प्रगति देखिएको हो ।
२०७७ साल वैशाखमा ३० महिनामा सम्पन्न गर्ने गरी पुलको ठेक्का सम्झौता गरिएको भएपनि लामो समयदेखि निर्माण कम्पनीका ठेकेदारको वेवास्ताका कारण पुलको भौतिक प्रगति हुन नसकेको हो ।
सस्पेन्सन ब्रिज कार्यालयले कोवाङ–सौरु जोड्ने पुलको त्यसबेला ठेक्का लगाएको थियो । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण जोखिमको अवस्थामा कोवाङ–सौरु जोड्ने पुलको ठेक्का सम्झौता भएको थियो ।
पुलको ईलाइट रुविना जेभी कन्ट्रक्सनले ५ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । कोवाङ –सौरु जोड्ने सस्पेन्सन पुलको कालिगण्डकी नदीको बीचमा दुईवटा करिब ६ मिटर गहिरो फाउन्डेसन निर्माण हुनेछ ।
पुलको वारिपारी दाँया फाउन्डेसन स्टक्चर निर्माण हुनेछन् । दुईवटा जोइन कम्पनीले पुलको ठेक्का सम्झौता गरेपनि रुविना जेभीका प्रतिनिधि जयदेव थापाले पुल बनाउने जिम्मा लिएका थिए ।
तर, थापाले पुल विभिन्न बहाना बनाएर पुलको काम अघि बढाउन सकेनन् । कोवाङ–सौरु पुलको सम्झौता अवधि केही महिनाअघि सकिएकोमा अहिले सार्वजनिक खरिद नियमावली ऐनको बाह्रौ संशोधन अनुसार २०८० सम्म म्याद थपिएको छ ।
थपिएको म्यादमा समेत रुविनाका प्रतिनिधि थापाले काम गर्न अग्रसरता नदेखाउँदा कोवाङ–सौरु पुल निर्माणको काम अन्योल बनेको हो । हालै सस्पेन्स ब्रिज डिभिजनले पुल बनाउन निर्माण कन्ट्रक्सनलाई ७ दिने अल्टिमेटम दिएसँगै ईलाइटका प्रतिनिधि निकेश श्रेष्ठ पुलको काम अघि बढाउन बिहीबारदेखि निर्माण स्थलमा फर्किएका छन् ।
उनले जोइन पार्टनर कम्पनीले अलपत्र छोडेपनि अब ईलाइट कम्पनीबाट आफूले पुलको काम सम्पन्न गर्ने जानकारी दिए ।‘पुलको काममा धेरै ढिलो भयो,अब तीब्रताका साथ काम गर्ने गरी आएको छु,' ईलाइटका श्रेष्ठले भने,‘मौसमले साथ दिएमा ६ महिनाभित्र पुलको काम सम्पन्न गर्नेछु ।’
उनले कोवाङ–सौरु जोड्ने सस्पेन्स पुलको काम गर्न २५/३० जना जनशक्ति कार्यस्थलमा खटाइसकेको जानकारी दिए । पुलका लागि चाहिने आवश्यक उपकरण मुस्ताङमै रहेको र केही ढुवानी गरी निर्माण स्थलमा पुर्याइएको उनले उल्लेख गरे । उनले कोवाङ–सौरु पुलको कामलाई रफ्तारमा अघि बढाउने प्रतिबद्धता जनाए ।
यसअघि कोवाङ–सौरु जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र रहँदा स्थानीयबासीमा जनआक्रोस बढेको थियो । थासाङ गापा–२ का वडाध्यक्ष र्गातम शेरचनले विकास निर्माणको कामलाई अन्योलमा राख्न नहुने तर्क गरे ।
उनले पुल निर्माणको काम धेरै ढिलो भइसकेको र फेरी पुन निर्माण कन्ट्रक्सनले जनतालाई छारो हाल्ने काम गर्न नहुँने जनाए । सस्पेन्स ब्रिज डिभिजनले पुलको काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने र ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपनि निर्माण कम्पनीको अटेरीले पुलको काममा भौतिक प्रगती हुन नसकेको सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए ।
मुस्ताङको कालिगण्डकी नदीमा निर्माणधिन थासाङको कोवाङ–सौरु जोड्ने पुल नबन्दा स्थानीयबासीले सास्ती व्यवहोर्न बाध्य छन् । सो स्थानमा पुल नहुँदा सौरु र सिर्खुम गाउँका १२० घरधुरीले बर्खायामको मौसममा बेनी–जोमसोम मुख्य राजमार्ग र वडा कार्यालयसम्म पुग्न समस्या छ । यस्तै, सौरु र सिर्खुम गाउँमा उत्पादित कृषि उपज सामाग्री मुख्य सडकसम्म ल्याउन गाह्रो पर्ने गरेको छ ।
हिउँदयाममा कालिगण्डकी नदीको वाहव सानो हुँदा १५ मिनेटमा मुख्य सडक आवत÷जावत गर्न सकिनेमा बर्खायाम पुल नहुँदा मुख्य सडक र वडा कार्यालय पुग्न दुई घण्टा पैदल हिड्नु पर्ने बाध्यता छ । सो स्थानमा पुल बनेमा सौरु–सिर्खुमबासीले बाह्रै महिना मुख्य सडक र पालिकासम्म सेवा लिन १५ मिनेटमा पुग्न सक्नेछन् ।