इन्जिनियरिङका विद्यार्थीले यो वर्षदेखि लाइसेन्सका लागि परीक्षा दिनुपर्ने
भक्तपुर : स्नातक उत्तीर्ण इन्जिनियरिङका विद्यार्थीले यो वर्षदेखि थप परीक्षा पनि दिनुपर्ने भएको छ।
कलेजको परीक्षा पास गरेपछि काम गर्न लाइसेन्सका लागि उनीहरूले नेपाल इन्जिनियरिङ काउन्सिलको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको हो। यसअघि उनीहरूले काउन्सिलबाट लाइसेन्स लिएर काम गर्न पाउँथे।
नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा अजयकुमार झाले अबको तीन महिनाभित्र परीक्षा लिने तयारी भइरहेको बताए।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरको डिपार्टमेन्ट अफ आर्किटेक्चर, सिभिल इन्जिनियरिङ एण्ड साइन्स एण्ड हुम्युनिटिले शुक्रबार गरेको बिदाई कार्यक्रममा डा झाले एक सय अंकको परीक्षामा उत्तीर्ण प्रतिशत ५० रहने जानकारी गराए। उनले यसका लागि बढीमा दुई महिनाभित्र फर्म खुल्ने जानकारी पनि गराए।
कार्यक्रममा तीन वटा समूहका सिभिल इन्जिनियरिङका एक सय ४० जना र आर्किटेक्टका ४६ जना विद्यार्थीलाई बिदाई गरिएको छ। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको छ।