मुस्ताङीलाई दाउरा जोहो गर्ने चटारो
जोमसोम : चिसो मौसम सुरु भएसँगै मुस्ताङीलाई दाउरा जोहो गर्ने चटारो बढेको छ। यहाँ अधिकांश समय दाउराको नै प्रयोग हुने गरेको छ।
उनीहरूलाई अहिले गाउँ नजिकै आफ्नो पायक पर्ने उच्चलेंकको जंगलमा दाउरा संकलन गर्न भ्याइनभ्याइ छ।
खेतीपाती सकेर हिउँदयामको फुर्सदिलो महिनामा मुस्ताङमा दाउरा फुकुवा गरिन्छ। कुनै गाउँमा पुस र कुनै गाउँमा माघ महिनामा सीमित अवधिका लागि दाउरा संकलनका लागि अनुमति दिइन्छ।
जिल्लाको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका विभिन्न गाउँमा अहिले धमाधम जंगलमा सुकेका र कुहिएका दाउरा संकलन गर्न अनुमति दिइएको छ।
गाउँलेलाई निश्चित समय अवधि तोकेर स्थानीय गाउँ मुखिया र समाजले दाउरा फुकुवा गर्ने हिमालपारीको सदियौदेखिको चलनचल्ती मानिन्छ।
गाउँ-गाउँका मुखिया र गाउँ समाजको निर्णय बमोजिम स्थानीय तह र वन संरक्षण समितिको समन्वयमा स्थानीयवासीलाई जंगलका दाउरा फुकुवा गर्ने गरिन्छ।
बिहानै उठेर जंगल गएर फर्किएकालाई गाउँका कटुवाल र स्थानीय तहका जनप्रतिनिधले अनुगमन समेत गर्ने गरेका छन्। जंगलबाट काँचो दाउरा संकलन गर्न मनाही गरिएको छ।
वर्षायाममा यहाँका किसान कृषि र अन्य व्यवसायमा व्यस्त हुने र जाडो मौसमको फुर्सदिलो समयमा उनीहरुले दैनिक प्रयोग हुने दाउराको बन्दोबस्त गर्छन्।
जाडो महिनामा दाउरा फुकुवा गरिने मुस्ताङको परम्परा बसेको हो। अन्य समय जंगलको दाउरा टिप्न गाउसमाज र बनउपभोक्ता संरक्षण समितिले मनाही गर्दछ।
जिल्लाको तल्लोक्षेत्रका गाउँ-गाउँमा दाउरा फुकुवा गरिएपछि स्थानीय किसान समूदाय आफ्नो मातहतका लेकमा पुगेर दाउरा संङ्कलन गर्न लागि पर्छन्।
हिउँ पर्ने र चिसो सिरेटो चल्ने मौसम भएपनि यहाँका मानिसले यसको परवाह नगरि दाउरा टिप्न नजिकैको लेकमै धाउँछन्। तोकिएको दिनसम्म बिहानैको झिसमिसे उज्यालोमा उठेर उनीहरु ३ घण्टा उकालो चढ्दै लेकको जंगल पुगेर दाउरा टिप्छन्।
मुस्ताङमा जग्गा जमिन भई गाउँ समाजमा कुरिया दर्ता भएका र अरुको खेतीबारी अधिया कमाएर बसेका घरधुरीले दाउरा संकलन गर्ने अनुमती दिईने गरिएको छ।
कुरिया दर्ता नभएको र खेतबारी अधियाँ नमाई अन्य व्यवसाय गरेकाले भने दाउरा संकलन गर्न पाउँदैन। हिउँदयाममा संकलन गरिएका दाउरा खाना पकाउने,आगो ताप्ने र बस्तुभाउलाई कुडो पकाउन प्रयोग हुन्छ। मुस्ताङमा समाजले निर्धारण गरेको निञ्चित मापदण्ड अनुसार दाउरा संकलन गर्न दिइने गरिएको छ।
स्थानीयले कृषि प्रयोजनका लागि पालन गरिएका गोरु, झोपा, घोडा र खच्चड जस्ता घरपालुवा चौपाया लिएर जंगल पुग्छन्।जंगल पुगेका उनीहरुले दाउरा खोजेर तिनै चौपायालाई भारी बोकाई घर ल्याउँछन् भने चौपाया नहुनेले आफैं बोकेर घरमा ल्याउछन्।