जो आधा घण्टा घस्रँदै विद्यालय पुग्छन्
दैलेख : रात त जसोतसो बिताउँछन्। तर, दिन बिताउन उनलाई हैरानी छ। हिँड्डुल गर्न नसक्ने भएकै कारण शौचालय जान सक्दैनन्। हातमुख धुनलाई हम्मेहम्मे पर्छ। दैनिकीको समस्या त छँदैछ, भोक लाग्दा खाना खान उत्तिकै सास्ती खेप्नुपर्छ दैलेख डुंगेश्वर गाउँपालिका–३ कल्सेढुंगा बालेगाउँका ७ वर्षीय बालक झनाल रोकायमगरले।
विद्यालय जाने उमेर। पढ्ने धेरै रहर भए पनि शारीरिक बनावटले सहज छैन। दायाँहात र दायाँखुट्टा बटारिएर छालामा टाँसिएको छ। दुवै चल्दैनन्। बायाँहात र बायाँखुट्टाको सहायताले दैनिकी गुजारिरहेका छन्। दिसा–पिसाव गर्न पनि सहयोगी चाहिन्छ। घरमा आमाबुबा र दिदीको सहारामा बिहानी समय त गुजार्छन्, जब विद्यालय जाने समय हुन्छ, भोग्नुपर्ने पीडाले उनको शरीर काप्न थाल्छन्। पढ्नुछ, एउटा खुट्टाको साहारामा उफ्रँदै र घस्रँदै जान्छन्।
साथीभाइ पछिपछि हुन्छन्। एउटा खुट्टाकै भरमा अघि बढ्छन् उनी। केही दूरी पार गरेपछि थकाई मेट्न रोकिन्छन्। साथीभाइ आएपछि फेरि उठ्छन् र एउटा खुट्टाले उफ्रिँदै र घस्रँदै गन्तव्यतिर लाग्छन्। झनालले यसरी नै घरदेखि विद्यालयसम्म सानै उमेरदेखि सास्ती नै सास्ती झेलिरहेका छन्।
केही दिनअघि उनै बालकको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उनी अध्ययनरत विद्यालयकी शिक्षिकाले टिकटकमा राखेको उक्त भिडियो लाखौंले हेरे। ती बालक स्कुल जाँदै गरेको र घर फर्किंदै गरेका भिडियोले सबैका ध्यान तानिरहेको छ।
झनाल गाउँकै जनक आधारभूत विद्यालयमा कक्षा एकमा अध्ययनरत छन्। बुवा बलबहादुर र आमा चन्द्रा रोकाय मगरको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मिएका हुन्। बालकले झेलिरहेको कष्टपूर्ण दैनिकीको भिडियो सोही विद्यालयकी विज्ञान विषयको शिक्षिका करुणा बिसी (खत्री)ले सार्वजनिक गरेकी थिइन्।
शिक्षिका बिसी भन्छिन्, ‘बालक जन्मिएको १५ दिन भएको रहेछ। आमाबुबाले छोरालाई चिसोबाट बचाउन अँगेनुनजिक सुताएर घाँस काट्न गएको बेला आगो सल्किएर बालकको हातखुट्टा पोलेको रहेछ। त्यतिबेला सामान्य उपचार भएको थियो। तर, राम्रो उपचार पाएनन् र यस्तो अवस्था भएको रहेछ।’ त्यो समय आर्थिक अभावका कारण सुविधासम्पन्न अस्पतालमा उपचार हुन सकेन्। त्यसै कारण अहिले बालकले कष्टपूर्ण दैनिकी गुजार्नु परेको शिक्षिका बिसीले बताइन्।
२०७५ सालमा शिक्षिकाको रूपमा उक्त गाउँमा पुगेकी उनले अन्नपूर्णसँग भनिन्, ‘विद्यालय आउँदा जाँदा बाटोमा मात्र होइन, विद्यालय, कक्षाकोठा, गाउँटोलमा हिँड्दा बालकको यो अवस्थाले मन पोल्छ।’ उनी एक खुट्टाले उर्फिंदै, हात टेक्दै अनि ढुंगामाटोमा घस्रँदै स्कुल पुग्छन्।
झनालको परिवार बसोबास गर्दै आएको गाउँलाई आलडाँडाले नामले चिनिन्छ। उनको घरदेखि स्कुलसम्म पुग्न गोरेटोबाट झन्डै ३५ मिनेट समय लाग्ने शिक्षिका बिसीले बताइन्। ‘सडकको बाटो हुँदै गयो भने धेरै समय लाग्छ। ओरालो बाटो खोला झरेर उकालो बाटो हुँदै विद्यालय पुग्छन्। जुन बाटो साह्रै अफ्ठेरो छ,’ उनले भनिन्।
उकालो, ओरालो र भीरको बाटो हुँदै बालक विद्यालय पुग्ने गरेका छन्। ‘सहज रूपमा हिँड्न सक्दैनन्। कहिले एउटा खुट्टाले उफ्री–उफ्री दौडिन्छन्। फेरि थकाई मार्न भुइँमा थचक्क बस्छन्। अनि फेरि घस्रँदै, दौडिँदै दिनहुँ विद्यालय पुग्ने गरेको दृश्यले मन खिन्न हुन्छ,’ उनले भनिन्। बालकको पारिवारिक अवस्था नाजुक छ। एक दिदी र एक भाइ छन्। दिदी कक्षा चार र भाइ बालशिक्षामा अध्ययनरत छन्। आर्थिक अभावमा छोराको उपचार गर्न नसकेको बालकका बुबा बलबहादुर बताउँछन्। भर्खर जन्मिएको बेला आफूहरूले गरेको गल्तीको सजाय अहिले छोराले भोग्नुपर्दा उनी दुःखी छन्।
‘गाउँघरको पाखोबारीमा उब्जनी भएको खाद्यान्नले परिवारको गर्जो टार्नसमेत हम्मेहम्मे पर्छ। पाखोबारीमा उत्पादन भएको अन्नले पुग्दैन्। किनेर बिहान साँझको छाक टार्नुपर्छ,’ बलबहादुरले भने।
परिवारको खर्च धान्न साहूहरूसँग ऋण लिएको उनको भनाइ छ। गाउँका साहूहरूसँग लिएको ऋण तिर्न भारत जाने गरेको उनी बताउँछन्। उनले छोराको उपचार र उचित शिक्षादीक्षाका लागि कहीँकतैबाट सहयोग नपाएको बताए। यो पुषको जाडोमा उनको पूरा शरीर ढाक्ने कपडासमेत छैन। ढुंगामाटोमा घस्रँदै हिँड्ने उनको घुँडा र हातमा घाउचोटहरू भएको विद्यालयकी शिक्षिका बिसीले बताइन्।
‘घरमा खानलाउनकै समस्या छ,’ शिक्षिका बिसीले भनिन्, ‘बालकले थप उपचार र पढ्नलाई सहयोग जुटेको भए हुन्थ्यो, त्यसपछि उनको हृदयविदारक अवस्था कसैले देख्न पर्थेन्।’ डुंगेश्वर गाउँपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर खत्रीले बालकको अवस्थाबारे जानकारी नभएको बताए। ‘बालकको अवस्थाबारे थाहा भएन्, अवस्था के रहेछ बुझ्छौं। पालिकाबाट गर्न सकिने सहयोग गर्छौँ,’ उनले भने।