ज्वालामाई मन्दिर जाने बाटो स्तरोन्नति गरिँदै
सोलुखुम्बु: सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट तामाखानी स्थित ज्वालामाई मन्दिर जाने सडक ग्रावेलको काम सुरु भएको छ। प्रदेश सरकार पूर्वाधार विकास तथा शहरी विकास मन्त्रालयको ४२ करोडको लागत स्टिमेटमा बिहीबारबाट सल्लेरी थापाटोलको जेरोपोइन्टबाट तामाखानी जाने सडक ग्रावेलको काम सुरु भएको हो।
प्रदेश सरकारको चालु आर्थिक वर्षको करिब ४२ करोडको योजनामा ओसेस इन्जिनियर एण्ड बिल्डर्स प्रालि काठमाडौले २१ करोड २३ लाखमा ठेक्का पारेको पूर्वाधार विकास कार्यालय ओखलढुंगाका सवइन्जिनियर भरुमान राईले जानकारी दिए।
१३ किलोमिटर सडकमा ग्रावेलसहित स्ट्रक्चर, ग्याविङ, साईड कटिङ लगायतका काम हुने राईले बताए।
कम्पनीले करिब डेढ वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी गत असारमा सम्झौता गरेको छ । ग्राबेल कालोपत्रेको अन्तिम चरणको काम भएकाले ग्रावेलपछि कालोपत्रे गरिने पूर्वधार विकास कार्यालय ओखलढुंगाले जनाएको छ । सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीमा अवस्थित सोलुकै प्रसिद्ध धार्मिकस्थल ज्वालामाई मन्दिरमा वर्षेनी हजारौँ भक्तजन पुग्ने गर्छन्।
हिन्दु र बौद्ध धर्मवलम्बीको आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा काठमाडौंदेखि, झापा, मोरङ, सुनसरी, कास्कीसहित भारतका विभिन्न ठाउँबाट पनि भक्तजन पुग्ने गरेका छन्। सदरमुकाम सल्लेरीबाट मन्दिर पुग्ने सडक भरपर्दो नहुँदा भक्तजनले सास्ती खेप्दै आएका छन्।