संसदीय दलको नेता बन्न रस्साकस्सी, यी हुन् १० दलका सम्भावित अनुहार
काठमाडौंः निर्वाचनपछि अहिले राजनीतिक दलका नेता कसलाई संसदीय दलको नेता बनाउने भन्ने दौडधुपमा छन्। संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने भएकाले पनि यो विषय राजनीतिक दलका लागि पेचिलो बन्दै गएको छ। विगतमा पार्टीको नेतृत्वकर्ता नै संसदीय दलको नेता बन्ने गरेपनि यसपटकको परिदृश्य अलिक फरक छ।
सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमै को संसदीय दलको नेता बन्ने भन्ने तीव्र बहस छ। यो बहसलाई सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक अन्यले सतहमै ल्याएर छलफल गरिरहेका छन्। राजनीतिक भेटवार्ताका क्रममा पनि प्रधानमन्त्रीमा सघाउन एकले अर्कोलाई सहयोग माग्नेक्रम जारी छ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई आज (आइतबार) प्रमाणपत्र बाँडेको छ। अब सांसदहरूको पहिलो काम नै संसदीय दलको नेता चुन्नेमै केन्द्रित हुन्छ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संघीय संसद वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्ने व्यवस्था छ। यो व्यवस्था अनुसार नेपालमा यस पटक १० पार्टीले संघीय संसदमा संसदीय दल गठन गर्न पाउनेछन्।
पार्टीको नीति सदनमा पुर्याउन संसदीय दलका नेताको भूमिका अग्रणी हुन्छ। संसदीय राजनीतिमा दलको नेता बन्नु भनेको अवसर पाउँदा प्रधानमन्त्री हुनसक्ने अवस्था पनि हो। संसदीय दलको नेतालाई आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिनेदेखि कारबाही गर्नेसम्मको अधिकार छ।
यी हुन् संसदीय दलको नेता बन्ने सम्भावित अनुहार
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेताका प्रमुख दावेदार हुन्। देउवाले आफ्नो दावेदारीलाई आफैँले प्रस्तुत गर्नुबाहेक देउवा खेमाका कांग्रेस नेताले कांग्रेसमा संसदीय दलको नेताको निर्विकल्प उम्मेदवार पार्टी सभापति नै रहेको बताउँदै आएका छन्।
कांग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेल पनि संसदीय दलको नेता बन्ने होडमा छन्। आफ्नो समूहमा भएका छलफलमा उनले खुलेरै संसदीय दलको नेता बन्ने योजना सुनाउने गरेका पौडेलले सभापति देउवालाई भेटेर कुराकानी गरेका छन्। देउवासँगको भेटमा पौडेलले गठबन्धन निर्माणमा आफूले भूमिका खेलेको भन्दै गठबन्धन टिकाउन पनि आफ्नो भूमिका चाहिने आसयसहित संसदीय दलको नेता बन्ने संकेत सुनाएका थिए।
यता महामन्त्री गगन थापाले पनि आफू प्रधानमन्त्री हुने दावीमात्र गरेका छैनन्। अब संसदीय दलको नेता बन्ने गृहकार्यमा लाग्ने संकेत गर्दै सार्वजनिक रुपमै दिएका छन्। अहिले पार्टीमा आफ्नो उपस्थितिलाई मजबुद बनाउन थापा पनि आन्तरिक गृहकार्यमा लागेको बुझिन्छ। संस्थापन इत्तरको समूहका नेता डा शेखर कोइरालाको नाम पनि संसदीय दलको नेतामा आउने गरेको छ। संसदीय दललाई नै लक्षित गरेर पार्टी सभापति देउवाले कांग्रेसका सांसदहरूलाई बालुवाटारमा चियापान कार्यक्रम गराएका थिए।
चियापानमा सहभागीले कांग्रेसकै नेतृत्वमा आगामी सरकार बन्नुपर्ने बताएका थिए। चियापानमा सहभागी कांग्रेस नेता डा शेखर कोइरालाले भने सरकारको नेतृत्व कांग्रेसले नै बन्नुपर्ने तर संसदीय दलको नेतामा भने अझै निर्क्यौल नभएको बताएका थिए। बुधबारभित्रमा संसदीय दलको नेतृत्व चयन गर्ने जनाएको कांग्रेसले आज (आइतबार) पार्टीको केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ।
एमालेबाट संसदीय दलको नेताका प्रमुख दावेदार पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुन्। उनी पार्टी भित्रका निर्विकल्प दलको नेता हुन्। एमालेले चुनावी प्रचारकै क्रममा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको थियो।
संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्ने निश्चित नै छ। उनले अहिले आफू प्रधानमन्त्री बन्न आन्तरिक गृहकार्य पनि गरिरहेका छन्। गठबन्धनमा प्रभावशाली नेता प्रचण्डले कांग्रेस सभापति देउवालाई भेटेर प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह गरिसकेका छन्। उनले वर्तमान सत्ता गठबन्धनमात्र होइन समानान्तर गठबन्धन बनाउने गृहकार्य गरिरहेको पनि बुझिन्छ। एमालेसँगको सहकार्यका लागि दोस्रो तहका नेतालाई प्रचण्डले परिचालन गर्दै आएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामीछाने संसदीय दलको नेताका उम्मेदवार हुन्। रास्वपाले अहिलेसम्म संसदीय दलको नेताबारे निर्णय गरिसकेको छैन। लामिछानेको नागरिकता प्रकरणमा फेरि बाहिरिएपछि उनी विवादमा तानिएका छन्। त्यसैले पनि रास्वपाबाट संसदीय दलको नेता को भन्ने अझै टुंगो लागेको छैन।
नेकपा एकीकृत समाजवादीवाट पार्टी अध्यक्ष माधवकुमार नेपाल निर्विकल्प संसदीय दलको नेताका उम्मेदवार हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन संसदीय दलको नेताका दावेदार हुन्।
जनमत पार्टीबाट पार्टी अध्यक्ष सीके राउत संसदीय दलको नेता हुने सम्भावना छ। यस्तै, जनता समाजवादी पार्टीबाट पार्टीका बरिष्ठ नेता अशोक राई संसदीय दलको नेताका दावेदार हुन्। तर, पार्टीभित्र प्रदीप यादव र राजकिशोर यादवको पनि दावी छ।
लोसपामा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिबाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ संसदीय दलको नेता बन्ने तयारीमा छन्।
निर्वाचनबाट कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट जितेको छ। प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेर संसदको ठूलो दल कांग्रेस बनेको छ।
यस्तै नेकपा एमाले संसदमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दल बनेको छ। एमालेबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ गरी कुल ७८ सांसद बनेका छन्।
माओवादी केन्द्रका ३२ सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन्। माओवादीबाट प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सांसद संसदमा सहभागी हुनेछन्। ती मध्ये महेन्द्रराय यादव नेपाल समाजवादी पार्टीका हुन्। उनले माओवादी केन्द्रको चिन्ह हंसिया हथौडा लिएर निर्वाचन जितेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन्। रास्वपबाट ७ सांसद प्रत्यक्ष र १३ सांसद समानुपातिकतर्फ चुनिएका छन्। राप्रपाबाट ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक तर्फ निर्वाचित भएका छन्।
जनता समाजवादी पार्टीका १२ जना, यस्तै, नेपाल जनमत पार्टीका ६ जनाले संसदमा सहभागी जनाउनेछन्। जसपाबाट ७ जना प्रत्यक्ष र ५ जना समानुपातिक तर्फबाट समेटिएका छन्। नेकपा एकीकृत समाजवादीका १० जना सांसदले प्रतिनिधित्व गर्नेछन्।
नागरिक उन्मुक्ति पार्टीका ३ जना, स्वतन्त्र तर्फका ५ जना, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ जनाले संसदमा प्रतिनिधित्व गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !