भीरकोटका किसानलाई बीउ र कृषि औजार प्रदान
स्याङ्जा: भीरकोटका किसानलाई सयपत्री फुलका बीउसँगै अत्यावश्यक कृषि औजार प्रदान गरिएको छ।
भीरकोट नगरपालिका र युएनडीपीको आर्थिक सहयोग तथा अन्धा अन्धी सामुदायिक विकास केन्द्रको व्यवस्थापनमा हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकाय परियोजना सञ्चालनमा छ।
सोही परियोजनाले सयपत्री फूलका बीउसँगै टनेल, बिषादी छर्कने भाडा (स्पेयर), कुटो, दाँते, नर्सरी कीट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो। यसअघि पालिकाले किसानलाई सयपत्री बिरुवा रोपण बारे तालिम दिइसकेको छ।
नगरपालिकाका वडा नं. १, २ र ९ लाई लक्षित गर्दे व्यावसायिक फूल खेती गर्नेगरी तयारी भइरहेको छ। तालिममा सहभागी मध्ये ३१ जनालाई फूलका बीउसहित आवश्यक सामाग्री उपलब्ध गराइएको हो।
ती सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले दिईएको बीउविजन तथा औजारको सही उपयोग गरी व्यवसायी बन्न आग्रह गरे। जिल्लाकै मध्यभाग र सडक सञ्जालले पनि छोएको नगरपालिका भएकाले यहाँ उत्पादित सबै फूल बिक्रीवितरणमा सहज बनेको छ।