सोलुखुम्बुको चार स्थानमा 'फोर जी' विस्तार हुँदै
सोलुखुम्बु : सोलुखुम्बुको चार स्थानमा नेपाल टेलिकमको 'फोर जी' टावर बन्ने भएको छ।
जिल्लामा फोरजी तथा नेटवर्क सेवा भरपर्दो बनाउनका लागि नेपाल टेलिकमले सोताङ, महाकुलुङ र थुलुङ दुधकोशी गाउँपालिकामा टावर निर्माण गर्न लागेको हो।
सोताङ गाउँपालिकाको दिम्मबल डाँडाको पाथीभरा र चेपेल धर्मडाँडाको थलाखम, महाकुलुङको कोलम डाँडा र थुलुङ दुधकोशीको जालिम डाँडामा निर्माणका लागि सर्वे भएको छ।
नेपाल टेलिकम ओखलढुंगाका वरिष्ठ इन्जिनियर धर्म महर्जनको नेतृत्वमा आएको टोलीले मंसिर १२, १३ र १४ गते सर्वे गरेर फर्किएको नेपाल टेलिकम सोताङका प्रमुख कुमार बस्नेतले जानकारी दिए।
सर्वे पास भइसकेकाले काम सुरु भएको एक महिनाभित्र निर्माण सम्पन्न हुने गरी आगामी माघबाट काम सुरु गर्ने प्रमुख बस्नेतले बताए।
टावर सञ्चालन भएपछि जिल्लाको कोशी पारीसहित खोटाङको विभिन्न क्षेत्रमा समेत मोबाइल नेटवर्क तथा फोरजी सेवा भरपर्दो हुने टेलिकमले जनाएको छ।