छोरीहरू! आफ्ना लागि बाँच्नू
कानुनमा धेरै कुरा पाएका छन्, महिलाले। महिलामैत्री भाषणको आयतन निकै विस्तार भएको छ। समावेशिता, महिला सशक्तीकरण, महिला हिंसा न्यूनीकरणका बहसहरू सुन्दा लाग्छ कि महिला सबै काम कुरामा अगाडि आइसके। लैंगिक हिंसाको अन्त्य भइसक्यो। सबै महिला आत्मनिर्भर भइसके। छोरा र छोरीमा विभेद छँदै छैन। यहाँ मैले उठाउन खोजेको विषयवस्तु भनेको, लेखेको र देखेको कुरा धेरै फरक हुन्छ भन्ने हो। कानुन हुँदैमा, मुखले भन्दैमा यसले व्यवहारमा परिवर्तन हुन सक्दैन। अंग्रेजीमा एउटा भनाइ छ, ‘इट इज इजी टु से बट डिफिकल्ट टु डु।’ अँ साँच्ची कल्पना गरौं त, हामी सबैले मुखले बोल्ने गरेका राम्रा कुराहरू व्यवहारमा उतार्ने हो भने यो संसार कति सुन्दर हुन्थ्यो होला ?
वर्तमान समयमा महिला आत्मनिर्भर हुने क्रम बढ्दो छ। आत्मनिर्भरताले महिला हिंसा कम गराउँछ यो पनि सत्य हो। यहाँ फरक भनेको हाम्रो मानसिकतामा छ। कमजोरी भनेको सोचाइमा छ, व्यवहारमा छ, चिन्तन शैली र आनिबानीमा छ। हामीले झट्ट हेर्दा सक्षम, सबल, शिक्षित, आत्मनिर्भर महिला देख्दा लोभिन्छौं, ईष्र्या गर्छौं। ऊ जस्तो हुन पाए त भन्दै डाह गर्छौं। हाम्रो मानसिकता यहाँ पुगेको हुन्न कि हरेकको सफलता अगाडि निकै कहालीलाग्दो संघर्ष जोडिएको हुन्छ। निकै व्यस्तताले थिलोथिलो पारेको वर्तमान हुन्छ। अनि कर्तव्य र दायित्वले चिमोटिरहेको भविष्य हुन्छ।
केही दिनअघि सपरिवारले हलमा गएर चलचित्र ‘उचाइ’ हेरियो। घरमा फर्केर साँझको खाना बनाउँदै थिएँ। छोरी समताले सोधिन्– ‘मम्मी हजुरको लागि के खाना बनाउनु भयो ?’ झल्याँस्स भएँ, उनीलाई चलचित्रको मलाईभन्दा अझ बढी छोएछ सायद। उनलाई तत्काल मुखले जवाफ दिने कुरा मसँग थिएन। अनायासमै आँखाबाट आँसु छचल्कियो। अनि सम्हालिँदै भने सरी ल अब बनाइहाल्छु नि। उनलाई अँगालो मार्दै भनें, ‘थ्याङ्क्युु छोरी।’ भन्न खोजेको कुरा के भने हामी धेरै महिला यति धेरै व्यस्त हुन्छौं कि आफूले आफ्ना लागि समय नै छुट्ट्याउन सक्दैनौं। आफूले आफूलाई माया गर्दैनौं। आफू आफ्ना लागि बाँच्न जान्दैनौं। छोराछोरी, पति, घरपरिवारलाई खुवाएपछि आफू केही नखाइकनै अघाउँछौं। उनीहरूको खुसीमा रमाउँछौं, उनीहरूको दुःखमा रुन्छौं। रोग, कुण्ठा, दुःख, व्यस्ततालाई अरूसँग पोख्दैनौं, भित्रभित्रै गुम्साएर राख्छौं। यही बानी हाम्रो संस्कार बनिसकेको छ। यही संस्कारले पुस्तौंपुस्ता पुस्तानान्तर हुँदै आएको छ।
के देख्छौं हँ छोरीलाई ? उनी रोबट हुन् र ? छोरीको जीवन छैन ? छोरीको अस्तित्व छैन ? छोरीको पहिचान छैन ? कानुन छ भन्दैमा हाम्रा यस्ता व्यवहारले छोरीलाई अगाडि बढ्न देला ?
साँच्ची हो, म पनि आम महिलाभन्दा फरक बन्न सकेकी छैन। साँझ, बिहान तरकारी पसलमा होस् कि फलपूmल पसल रोजाइको प्राथमिकतामा पतिलाई मनपर्ने, छोरोलाई मनपर्ने, छोरीलाई मनपर्ने कुराहरू पर्छ। आफ्नो त कुनै प्राथमिकतामै पर्दैन। सबैले छोडेको व्यवस्थापन गर्दागर्दै पुगिहाल्छ। कहिलेकाहीँ सपरिवार घरबाहिर निस्केको बेलामा पनि मेनु हेरेर अर्डर गर्दा उनीहरूलाई मनपर्ने कुरा नै मनपर्ने अवस्था हुन्छ। आफूलाई त जे भए पनि काम चलिहाल्छ।
के हामी छोरी सधैं अरूका लागि मात्र बाँच्ने हो त ? सानो हुँदा आफ्नो पिताका लागि, बिहे भएपछि पतिका लागि अनि बुढेसकालमा छोराका लागि भन्दै आफ्नो सारा जीवनलाई सकेका त छैनौं हामीले ? एकपटक गहिरिएर सोचांै त। आज पनि धेरै महिला सानो हुँदा फलानाको छोरी (बाबाको नामबाट), बिहे भएपछि फलानाकी श्रीमती (श्रीमान्को नामबाट), बुढेसकालमा फलानाको आमा (छोरोको नामबाट) चिनिन्छौं। के यही होइन त हाम्रो पहिचान ? २१औं शताब्दीका पहिचानविहीन छोरीहरू सबै हिम्मत गरेर उठ्नुपर्छ। आफ्नो पहिचान आफैं बनाउने कुरामा एक ढिक्का भएर जुट्नुपर्छ।
कति कमजोर छ हाम्रो मानसिकता। चाहे महिला हुन् वा पुरुष, उनीहरूले एउटा महिलालाई हेर्ने दृष्टिकोण, छोरीलाई हेर्ने दृष्टिकोण, अझभन्दा आम नारीजगत्लाई हेर्ने दृष्टिकोणमा नै खराबी छ। सोच्ने मानसिकता नै कमजोर छ। जब दृष्टिकोण र मानसिकतामा नै खराबी छ भने त्यहाँबाट असल व्यवहारको निर्माणको हुन सक्दैन। जब व्यवहारमा नै विभेद हुन्छ तब समानता सपना बन्न जान्छ। समानता बनाउने, विभेदको अन्त्य गर्ने भनेको असल व्यवहारले हो। संस्कारको निर्माण गर्ने अनि सभ्यताको विकास गर्ने पनि राम्रो व्यवहारले हो। असल व्यवहारले हो।
एकछिन घरभित्र छिरौं त। हामी बाबा–आमा हौं। दुईजना छोराछोरी छन्। बाबा–आमा दुवैलाई छोरो, छोरीको दाइ हो, ऊ जहाँसुकै जाओस् मतलब छैन, चिन्ता छैन, गुनासो छैन। मतलब छ त छोरीको, यो मानेमा कि छोरी पानी खान देऊ, छोरी चिया पकाऊ, छोरी खाना तयार गर, छोरी सरसफाइमा ध्यान देऊ, छोरी आफ्नो घर चिटिक्क पारेर राख, छोरी मिठो बोल, छोेरी सुस्तरी हिँड, छोरी छोटो लुगा नलगाऊ, छोरी यसो पूजा कोठीमा पूजाका सामान मिलाऊ, छोरी यति काम सकेर मात्र पढ्न बस, छोरी चर्को नहाँस... आदि। के देख्छौं हँ छोरीलाई ? उनी रोबट हुन् र ? छोरीको जीवन छैन ? छोरीको अस्तित्व छैन ? छोरीको पहिचान छैन ? कानुन छ भन्दैमा हाम्रा यस्ता व्यवहारले छोरीलाई अगाडि बढ्न देला ? पहिला सबैका सबै काम सक्ने हो भने– हाम्रा छोरीहरूले पढ्न पाउँलान् ? कोरा अक्षरले, कोरा भाषणले होला र महिला सशक्तीकरण ?
माथि उल्लिखित कुराहरू आजसम्म पनि धेरै परिवारसँग मेल खान्छ। आमछोरीको प्रगतिका लागि, उन्नतिका लागि सधैंभरि हातखुट्टा बाँध्ने कैदजस्तो भएको छ भान्छा कोठा। छोरी, बुहारी, आमाहरूको पेवा बनेको छ भान्छा कोठा। हाम्रा सुन्दर सपना, भविष्य अनि वास्तविकताको वर्तमानलाई खर्लप्पै निलेको छ भान्छाकोठाले। आज हामीसँग सबै कुरा छ– यो मानेमा कि महिलामैत्री संविधान, दीर्घकालीन योजनामा महिलाका निम्ति राम्रा कार्यक्रमहरू, महिलालाई नै प्राथमिकतामा राखिएको लैंगिक बजेट छ एकातिर भने अर्कोतिर महिलालाई फोकस बनाएर बनाइएका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पक्षराष्ट्र पनि बनेको छ नेपाल।
लिखित रूपमा सबै कुरा छ, संविधान र अन्य कानुनका दस्तावेजमा सबै कुरा छ। गन्यमान्यका भाषण सुन्यौं भने त अझ महिलालाई सबै राम्रो मात्र छ तर सबै कुरा भएर पनि व्यवहारमा लागू गरिएन भने यसको कुनै अर्थ छैन। हो त्यस्तै भएको छ हाम्रोमा। विशेषगरी महिलाहरू सबैलाई चाहिएको भान्छाकोठामा पुरुषको समान सहभागिता। घरको काममा उनीहरूको सहयोगको खाँचो छ। खै त हामीले बुझेको ? चौबिसै घण्टा भान्छाकोठाको काम र घरको काम महिलाले मात्र गर्ने हो भने हामी अगाडि बढ्ने कहिले हो ?
चाहिएको छैन हामीलाई आरक्षण र समावेशिताको कानुन। समग्र महिलालाई चाहिएको भनेको छोरीले लुगा धुँदा छोराले भाँडा माझ्नुपर्छ। छोरीले खाना बसाल्दा छोराले तरकारी काट्नुपर्छ। छोरीले आँगन र करेसाबारीको सफाइ गर्दा छोराले घरभित्रका कोठाहरूको सफाइ गर्नुपर्छ। यहाँ भन्न खोजेको कुरा के हो भने हामीले हरेक घर परिवारमा सानोदेखि नै छोराछोरी दुवैलाई सबैखाले काम कुरामा समान रूपमा सक्रिय सहभागी बनाउनुपर्छ। दुवैलाई हामीले समान व्यवहारको प्रशिक्षण गर्नुपर्छ।
आजको आवश्यकता भनेको हरेक छोराछोरीले घरको काम सँगै गरुन्, सँगै एउटै स्कुलमा पढून्, एउटै भाँडामा पकाएको पोषणयुक्त खाना खाऊन्, सँगै खेल्न पाऊन्, छोराछोरी दुवैले आफूले मन लागेका कुराहरू बिना रोकटोक स्वतन्त्र रूपले गर्न पाऊन्। यति गरिसक्दा मात्र हामीले, सिंगो समाजले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ। हरेकको मानसिकतामा सकारात्मक परिवर्तन आउँछ। अहिले जस्तै लैंगिक विभेदका सोचाइ, भोगाइ, हेराइमा क्रमशः कम हुँदै जान्छ। जब हामी महिला र पुरुष सबैले, सबै काम कुरा समान रूपमा गर्न थाल्छौं तब यो काम महिलाले गर्ने हो भन्ने हाम्रो खराब सोचविचार, पद्धति र संस्कार हराउँछ। जसले गर्दा हरेक
छोरीहरूले आफ्नो लागि प्रगति गर्न, उन्नति गर्न, सशक्त हुन र आत्मनिर्भर हुने समय प्राप्त गर्छन्।
हरेक छोरीले आफ्ना लागि खर्च गरेको समयरूपी लगानीले उनीहरूलाई सबल बनाउँछ, दक्ष बनाउँछ, सशक्त बनाउँछ अनि आत्मनिर्भर हुँदै सिंगो मुलुकको कर्मठ नागरिक बनाउँछ। त्यतिबेला क्रमशः लैंगिक हिंसा, घरेलु हिंसा, लैंगिक विभेदका घटनाहरू कम हुँदै जान्छन्। आरक्षण र समावेशितालाई पहिलो प्राथमिकतामा राख्नु पर्दैन। राज्यको हरेक तह र तप्कामा महिलाको अर्थपूर्ण सहभागिता हुन्छ। जसले समावेशी, समतामूलक समाजको निर्माण गरी समग्र मुलुकमा आर्थिक समृद्धि र सामाजिक न्याय कायम हुन्छ।
अतः प्यारा छोरीहरू– ‘हामी सृष्टिका समान हिस्सेदार हौं।’ हाम्रो आफ्नै अस्तित्व छ। हरेकका कर्तव्य, अधिकार र दायित्व छन्। जसलाई उचित तरिकाले निर्वाह गरी आफ्नो पहिचान बनाउने कुरामा हामी पुरुषभन्दा कुनै मानेमा कमी छैनौं। अहिले आफ्ना लागि समय पाएका छैनौं। समान अवसर पाएका छैनौं। समान स्रोत र साधन पाएका छैनौं। जसले गर्दा प्रतिस्पर्धामा खरो उत्रिन गा¥हो भइरहेको छ। याद राखौं, अधिकार मागेर होइन, खोसेर लिने हो। अब हरेक छोरी हरेक घरमा बुबाका लागि होइन– आफ्ना लागि बाँच्नू,
श्रीमान्का लागि होइन– आफ्ना लागि बाँच्नू, छोरोका लागि होइन– आफ्ना लागि बाँच्नू। जब हामी हरेक छोरीहरू आफ्ना लागि बाँच्न सिक्छौं तबमात्र हाम्रो आफ्नै पहिचान निर्माण हुन्छ। समान अर्थ र समान अस्तित्वको समाज निर्माण हुन्छ।