पाँच मिनेटमा मौलाकालिका
नवलपुर : ‘मौलाकालिका’ मन्दिर पुग्नका लागि बानइएको एक हजार आठ सय ८२ वटा सिंढी पार गर्न करिब डेढ घण्टा लाग्छ। आस्था र आध्यात्मको थलोका रुपमा प्रसिद्ध मन्दिरमा चाहेर पनि धेरैले पुग्न पाएका छैनन्। पैदल हिंड्दा डेढ घण्टा समय लाग्ने मौलाकालिकामा अब पाँच मिनेटमा पुगिने भएको छ। जसका कारण पैदल हिंड्न नसक्नेहरूले अब छोटो समयमै मौलाकालिकाको दर्शन गर्न पाउने भएका छन्। मौलाकालिका मन्दिरसम्म केबुलकार निर्माण भइरहेकाले दर्शनार्थीलाई सहज हुने भएको हो। केबलकार बनेपछि पाँच मिनेटमै मौलाकालिका मन्दिर पुग्न सकिनेछ।
धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास भइरहेकोे मौलाकालिका मन्दिर पुग्ने केबलकार निर्माणको काम तीब्र गतिमा भइरहेको छ। आईएमई समूहले गैंडाकोट नगरपालिका–१ स्थित मन्दिर दर्शनका लागि केबलकार निर्माण थालेको हो। एक हजार दुई सय मिटर लामो केबलकार फागुनबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए।
‘धार्मिक पर्यटनको विकास हाम्रो पहिलो प्राथमिकता हो। मन्दिर दर्शन गर्ने र रमणीय दृष्यावलोकन पनि गर्ने उपयुक्त थलो ठानेर केबलकार बनाउन लागेका हौं’ ढकालले भने, ‘धर्मिक पर्यटनमा हिंडेर जान नसक्ने र हतार भएकाहरू सजिलै पुगेर फर्कंन पाउने छन्। केबलकार बनेपछि दशनार्थीको संख्या पनि बढ्ने। ’
केबुलकार निर्माणको काम आठ महिनाअघिबाट थालिएको हो। अहिले ७० प्रतिशत काम भएको छ। ६ वटा टावरमध्ये एउटा टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको थियो। ‘अहिले स्टेसन निर्माणको काम भइरहेको छ। साथै टावरको काम पनि उही गतिमा भइरहेको छ’, केबलकारका प्रोजेक्ट म्यानेजर विजय पौडेलले भने, ‘अबको दुई महिनामा हामी केबलकार सञ्चालन गर्ने तयारी अवस्थामा पुग्ने छौं।’
केबलकारका लागि मन्दिरको फेदीस्थित धारापानीमा बटम स्टेसन बनाइएको छ। डाँडामा रहेको हेलिप्याड भएको स्थानमा टप स्टेसन निर्माण गरिँदैछ। त्यसैको नजिकै ५० कोठाको सुविधायुक्त होटल निमार्ण गर्न लागिएको छ। होटलमा हेलीप्याड पनि हुनेछ। केबलकारमा यात्रु ओसार्ने १४ वटा डम्बा रहने छन्। एउटा डब्बामा आठ जना यात्रु अटाउने छन्। समान बोक्ने अलग्गै डब्बा हुनेछ।
केबलकार निमार्णका लागि वन मन्त्रालयको स्वीकृतिमा धार्मिक र सामुदायिक वनको गरी एक हजार ३८ रूख कटान गरिएको थियो। केबलकारका लागि ५६ रोपनी जग्गा ‘मौलाकाली केबलकार प्रालि’का लागि अधिग्रहण गरिएको थियो। प्रालिले सरकारलाई ५८ रोपनी जग्गा सट्टा भर्ना दिएको छ। करिब एक अर्ब ५० करोडको लागतमा केबलकार बनाउन लागिएको हो।