हतियार र मृत जरायोसहित निकुञ्ज क्षेत्रबाट पाँच सिकारी पक्राउ
सिमरा : पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट मृत जरायो र हतियारसहित पाँच जना सिकारी पक्राउ परेका छन्। वन्यजन्तुको सिकार गरिरहेको अवस्थामा सोमबार राती ११ बजे जमुनिया नाकाबाट उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी १ का विशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, काभ्रेपलान्चोकका दामोदर अधिकारी र ठेगाना नखुलेका मालदोम तामाङ रहेका छन्। निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेपछि उनीहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको हो।
गस्ती टोलीले उनीहरुको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउको, १२ बोरको बन्दुक, त्यसमा लाग्ने गोली, दुई लाख ९० हजार नगद, नाईटभिजन, बाईनाकुलर, टेलिस्कोप बरामद गरेको छ। बन्दुक पड्किएको आवाज सुनेपछि पछ्याउँदै जाने क्रममा सिकारीको टोली भेट भएको र नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिएका छन्।
गस्ती टोलीले उनीहरुले प्रयोग गरेको बा५च ७८०५ र प्रदेश ०३–००१ च ३०९७ नम्बरको दुई वटा गाडीसमेत नियन्त्रणमा लिएको छ। सूचना अधिकारी खड्काका अनुसार दुई वटा गाडीमा निकुञ्जको ‘कोर एरिया’ भित्र पसेर सिकार गरिरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन्।
पक्राउ परेका पाँच जनालाई निकुञ्जको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको सूचना अधिकारी खड्काले बताए।