सार्वजनिक कुलोको जग्गा व्यक्तिको नाममा
काठमाडौं : सरकारी/सार्वजनिक कुलो व्यक्तिको नाम दर्ता गरिएको तथ्य बाहिर आएको छ। भूमाफियासँग नापी र मालपोतका कर्मचारी मिलोमतोमा रुपन्देहीको साविक दुधराक्ष गाविस–७ (क) र वडा–२ (क) मा रहेका कुलोको ४९४.७३ वर्गमिटर जग्गा व्यक्तिको नाममा पास गरिएको भेटिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा दुधराक्ष गाविस ७(क)को कित्ता नम्बर ८५४ को पूर्व र उत्तरपूर्वतर्फको सरकारी सार्वजनिक कुलोको ४१७.८७ वर्गमिटर तथा सोही गाविस २ (क)को कित्ता नम्बर ६५२ मा दक्षिणतर्फको सार्वजनिक कुलोको ४६.८७ वर्गमिटर व्यक्ति विशेषका नाम घुसाएको पाइएको हो। सार्वजनिक कुलो व्यक्तिको नाममा दर्ता गरेको पाइएपछि अख्तियारले सार्वजनिक कुलो व्यक्तिको नाममा पास गर्ने भैरहवा नापी कार्यालयका तत्कालीन अधिकृतहरूसहित १४ जनाबिरुद्ध मुद्दा दायर गरेको छ।
नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र बिन्देश्वर यादव, सर्वेक्षक ठाकुरप्रसाद गुरौ तथा प्रथम तहका जग्गाधनी कृष्णप्रसाद पोखेरेलसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए।
रुपन्देही, साविक दुधराक्ष गाविस–७ (क) र वडा–२ (क) को जग्गा नापी कार्यालय, रुपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिलेर फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमतो रहेको पाइएको अख्तियारको भनाइ छ।
नियम विपरित बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको र भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मुल्यांकन अनुसार घुसाएको जग्गाको १० लाख ६५ हजार २ सय पाँच रुपैयाँ ५० पैसा बराबर हिनामिना गरेको आरोप छ।
तत्कालीन नापी अधिकृत मरासनी, यादव र सर्भेक्षक गुरौबिरुद्ध विगो जरिवनासहित चार वर्षसम्मको कैद तथा व्यक्तिको निजी जग्गामा घुसाउने गरी फाइल नक्सा तयार गरेको, सार्वजनिक कुलोको भागको जग्गा नक्सा सुधार गरी गराइ सार्वजनिक नै कायम हुनेसमेतको मागदाबी अख्तियारको आरोप पत्रमा छ।