कांग्रेसमा पुस्तान्तरणको नाराले पाएन सार्थकता
काठमाडौं : कांग्रेस संसदीय दलका नेतामा डा. शेखर कोइराला समूहबाट एक मात्र उम्मेदवार थिए, महामन्त्री गगन थापा। अर्का महामन्त्री विश्वप्रकाश शर्मा, उपाध्यक्ष धनराज गुरुङदेखि युवा नेता प्रदीप पौडेलसम्म नेताको समर्थन थियो। अर्थात्, युवा पुस्तामा नेतृत्व हस्तान्तरणको अभियानका कारण थापाको पक्षमा माहोल ‘राम्रै’ देखिन्थ्यो।
पार्टीका ८९ सांसदमध्ये ‘३२ जनाले खुलेरै समर्थन’ गरेका थिए। पार्टी सभापति शेरबहादुर देउवा पक्षधर केही सांसदको समर्थन जुट्नेमा पनि ‘विश्वस्त थिए’ थापा। जसकारण संसदीय दलमा देउवालाई ‘कडै टक्कर’ दिनेमा देउवाइतर पक्षका सांसद ढुक्क थिए। तर, परिणाम अपेक्षाकृत भएन। दलका नेता चयन गर्न बुधबार भएको चुनावमा थापालाई २५ जनाले मात्रै मत दिए। देउवा ६४ मत पाएर निर्वाचित भएका छन्। यससँगै पार्टीलाई अवसर आए पुनः मुलुकको बागडोर सम्हाल्न देउवालाई बाटो खुलेको छ।
‘हाम्रो समूहसँग ३२ सांसद थिए। संस्थापन समूहको केही मत तान्दा पनि कम्तीमा ३७ मत आउने अपेक्षा थियो’, नेता अर्जुननरसिंह केसीले भने, ‘तर, २५ मात्रै आयो। यसको अर्थ हो कि आफ्नै भनिएकाहरूले पनि मत दिएनन्।’
कांग्रेसमा नेतृत्व परिवर्तन र रूपान्तरणको मुद्दाले १४औं महाधिवेशनदेखि नै चर्चा पायो। महामन्त्री थापाले यही मुद्दा उठाएर संसदीय दलमा चुनाव लडेका हुन्। संस्थापनइतर पक्षका अरू नेतालाई ब्याक गरे। डा. कोइराला पनि आकांक्षी थिए। तर, थापाले दाबी नछाडेपछि उनी पछि हटे। युवा नेताको समर्थनसँगै थापा मैदानमा उत्रिएका थिए। उनले महामन्त्री लड्दा पनि पहिलोपटक चुनाव हारेको प्रसंग उल्लेख गर्दै संसदीय दलमा पनि पहिलोपटक चुनाव हार्दैमा फरक नपर्ने बताए।
‘मैले पार्टीको महामन्त्रीमा पहिलो प्रयासमा पराजय भोगेकै हुँ,’ थापाले भने, ‘त्यस बेला ल्याएको ५ सय मतलाई अर्को महाधिवेशनमा ३ हजार पुर्याएँ। संसदीय दलको नेता बन्ने र पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने मेरो चाहना थियो। अहिलेको परिणामलाई स्वीकार गर्छु। फेरि संसदीय दलको नेता बन्ने प्रयासमै निरन्तर लाग्नेछु।’
आफ्नै समूहबाट सोचेजति मत नआएको विषयमा खोजी गर्ने उनले बताए। ‘किन त्यस्तो अवस्था आयो भन्नेमा खोजी हुन्छ’, उनले भने, ‘सत्य कुरा पत्ता त लागिहाल्छ। करिब चिनिसकिएको अवस्था पनि छ।’
फोटो खिचेको आरोप
संसदीय दलको चुनावमा मतदान गर्न जाँदा सांसदहरूले मोबाइल लैजान पाउने वा नपाउने भन्नेमा विवाद थियो। निर्वाचन समितिमा मोबाइल ल्याउन दिने वा नदिनेबारे दुई धारणा आएका थिए। एकथरिले लैजान पाउनुपर्छ भन्ने र अर्कालेले लैजान दिनुहुन्न भन्ने अडान राखेका थिए। उक्त नियम केहीबेर कार्यान्वयन भए पनि संस्थापन समूहका केही सांसदले मतदान गरेको फोटो खिचेको आरोप थापा पक्षधर नेताले लगाएका छन्। यो विषयमा महामन्त्री थापाले पनि विरोध जनाएका थिए।
‘सांसदजस्तो मान्छेलाई भोट हालेको फोटो नखिच्नु भनेर कति भन्नु ?’, उनले आक्रोश पोखे, ‘६–७ जनाले खिचेको देखियो। बार्गेनिङ गरेपछि प्रमाण देखाउनका लागि उहाँहरूले फोटो राख्नुभएको हो।’
कोइराला पक्षीय सांसद सरिता प्रसाईंले थापालाई क–कसले मत दिएनन् र किन मत दिएनन् भन्नेबारे बुझ्ने काम भइरहेको बताइन्। ‘कुनै असन्तुष्टि छ कि आर्थिक चलखेल भएका छन् कि सूक्ष्म रूपले बुझ्ने काम भइरहेको छ’, उनले भनिन्। संस्थापन पक्षका सांसद किशोरसिंह राठौरले भने इतर पक्षले रातभर परिवर्तन र रूपान्तरणका पक्षमा मतदान गर्न दबाब दिएको आरोप लगाए।
‘परिवर्तन र रूपान्तरणका पक्षमा उभिएर महामन्त्री थापालाई मत दिनुहोस् भन्ने म्यासेज रातभरि मोबाइलमा आए’, नेता राठौरले भने, ‘उहाँहरू महामन्त्री भएपछि एक वर्षमा के–के परिवर्तन भयो ? संसदीय दलको नेता हुँदैमा के परिवर्तन गर्नुहुन्छ उहाँहरू ? परिवर्तन चाहने हो भने पहिला पार्टीभित्रै परिवर्तनकारी काम गरेर देखाउनुहोस् सामाजिक सञ्जाल मात्र तताउने काम गरेर हुन्छ ? हामीचाहिँ परिवर्तनविरोधी हो ?’
यसरी उल्टियो माहोल
कम्तीमा ३४ र बढीमा ३७ सांसदको हिसाब लगाइरहेको थापा समूहका नेता एकाएक २५ को नतिजा आउनुमा सत्ता र शक्तिको आडमा चलखेल भएको आरोप लगाउँछन्। महाधिवेशन बेलाको हिसाबअनुसार कोइराला–थापा पक्षमा २७ सांसद थिए। त्यसमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, दीपक गिरी र रूपा विकको भोट थपिँदा ३१ सांसद थिए।
थापा समूहले हिसाब गरेका स्याङ्जाका राजु थापा, काठमाडौंका सन्तोष चालिसे, राजेन्द्र केसी, र अर्का नेता श्याम घिमिरे पनि लिस्टमा थिए। यद्यपि घिमिरे संस्थापन निकटकै नेता हुन्। केसी पनि जता प्रकाशमान सिंह त्यतै उभिने पक्षका हुन्। यी नेतालाई आफ्नो पक्षमा मानेर थापा पक्ष बुधबार बिहानसम्म आपूmले मत पाउनेमा ढुक्क थियो।
थापानिकट एक नेताले भने, ‘हाम्रो अंकगणित नै गलत थियो कि भन्ने पनि लाग्छ। देउवा समूहको भोट क्रस गराउन लाग्दा आफ्नै समूहको मत गुम्यो। त्यसको महसुस सांसदहरूले भोट हाल्दै गरेको तस्बिर खिच्न थालेपछि भयो।’ रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत नेता पनि देउवा पक्षमा लागेका थिए। राजेन्द्र बजगाईं, दीपक गिरी र सुनील शर्मा जो थापाको लिस्टमा देखिए पनि मत भने देउवालाई हालेको इतर पक्षको आरोप छ।
अर्का नेता डा. चन्द्र भण्डारीले भने, ‘गगनतिर अरू बेला खुल्ने नेता पनि यसपटक खुलेनन्। हाम्रो टिमले अपेक्षा गरेका अरू ७ देखि १० मत आएनन्।’ इतर समूहका एक शीर्ष नेताले भने, ‘गगनजीको मत उहाँहरूको व्यवहारकै कारण पनि कम आएको हो। मंगलबार राति सादा पोसाकका प्रहरीको परिचयपत्र खोसेर चुनावी स्टन्ट गर्नुले पनि भोटमा असर गर्यो। नचाहिँदो लफडामा नपरौं भनेर हामीले सम्झाइ सक्दा नसक्दै उहाँहरूले सामाजिक सञ्जाल नै भरिदिनुभयो।’
‘अर्को तिर हामी उहाँ भनेर बसेका साथीहरूको गन्ती भएन। जब अर्का महामन्त्री र अर्का नेता प्रदीप पौडेलको आगमन भयो त्यसपछि हाम्रो माहोल अब बन्यो भन्ने अहम बढ्यो। त्यसले पनि हामी एकै ठाउँमा उभिएका साथीहरू भड्किनुभयो भन्ने लाग्छ’, ती सांसदले भने।
इतर समूहका कोइरालानिकट एक नेताले भने, ‘शेखर–गगन समूहबाट पार्टीको पदाधिकारी भएका र पदाधिकारी चुनाव हारेका नेताहरूले नै गगनलाई मत नदिएको चर्चा उनको टिममा चलेको छ।’