पहिरोले झस्काइरहन्छ

पहिरोले झस्काइरहन्छ

अछाम : गाउँ सुनसान छ। स्थानीयका आँखा अहिले पनि ओभानो छैनन्। आफन्त गुमाउँदाको पीडा स्थानीयको आँखामा प्रष्टै देखिन्थ्यो। स्थानीय घरि पहिरोले पुरेको घरहरू हेर्छन् त घरि पहिरोले खोसेका आफन्तहरू सम्झन्छिन्। पुस्तौंदेखि बसिरहेको ठाउँमा यसपालि पहिरो गयो। गाउँ नै शोकमा डुब्यो। उनीहरूलाई पहिरोपछिको बज्रपातले झस्काइरहन्छ। 

अछामको तुर्माखाँद गाउँपालिका–५ नाडास्थित काँडाचौर गाउँमा गत भदौ ३१ गते पहिरो जाँदा ९ जनाले ज्यान गुमाएका थिए। स्थानीय मनसरादेवी शाही त्यो दिनलाई यसरी सम्झिन्छिन्, ‘रातको समयमा एक्कासि पहिरो खसेछ, ब्यूँझिएर हेर्दा केही घरहरू पहिरोले पुरिसकेको थियो। अँध्यारो थियो, बाहिर हेर्नसक्ने अवस्था नै थिएन। त्यसरी पहिरो आउँला भनेर सोचेकै थिएनौँ।’ उनको घर भने जोगिएको रहेछ। 

स्थानीय दिलबहादुर शाहीले पहिरोले दिएको पीडा अझै भुल्न सकेका छैनन्। त्यो दिनको घटनापछि उनलाई रातमा राम्ररी निन्द्रा पर्दैन। ‘मेरो त सास उसै दिन बसेको हो। रातमा निन्द्रा पर्दैन, काखमा खेल्ने नातिनातिनाहरू सम्झिँदा आँसु रोकिँदैन,’ शाही भन्छन्। छोराबुहारी र नातिलाई पहिरोले लगेपछि दिलबहादुरका आँखा अहिले पनि ओभाना छैनन्। पहिरोले खुसी खोसेको उनी बताउँछन्। शाही भन्छन्, ‘मेरा छोराबुहारी र दुई नातिलाई पहिरोले लग्यो। मेरा भाइका दुई बुहारी, एक छोरो र दुई नातिनीको पहिरोमा पुरिएर ज्यान गयो।’ 

पहिरो खसेको ठाउँ देखाउँदै दिलबहादुर। 

उनका अनुसार पहिरोबाट जोगिएकाहरू आफन्तको शरणमा छन्। स्थानीय झरनादेवी शाही गाउँका महिलाको होस् नै उडिसकेको बताउँछिन्। ‘त्यो घटना सम्झिँदा पनि शरीर काप्न थाल्छ,’ उनी भन्छिन्, ‘परिवारका सदस्य र आफन्त गुमाएको पीडाले झस्काइरहन्छ।’ उनले खेतीपाती गर्ने जग्गाजमिनसमेत पहिरोले बगाएको बताइन्। ‘बारीमा उत्पादन भएको खाद्यान्नले वर्षदिन पुग्थ्यो। किनेर खान पर्दैनथ्यो, अहिले त हातमुख जोड्न पनि गाह्रो परिरहेको छ,’ पहिरोको त्रास कम नभएको उनको भनाइ छ।

पहिरोपछि भूकम्पको धक्काले उठिबास लाग्ने हो कि भन्ने चिन्तामा स्थानीय छन्। ‘पहिरोले दिएको पीडा त अझै उस्तै छ। त्यसपछिका भूकम्पको धक्काले धेरै घरहरू चर्किएका छन्,’ तत्काल त केही नहोला, आउँदो वर्षात्मा पहिरोले उठिबास लगाउने डरले आत्तिाएका छौँ,’ स्थानीय लक्ष्मीकुमारी शाहीले भनिन्। पहिरोको पीडाले झस्काइरहने यो गाउँका स्थानीय सुरक्षित बासको पर्खाइमा छन्। स्थानीय विष्णुबहादुर शाही पहिरोपछि गाउँमा विकराल अवस्था सृजना भएको बताउँछन्। ‘तीनै तहका सरकार र संघ संस्थाहरूले राहत दिनुभएको छ,’ उनी भन्छन्। अब सुरक्षित स्थानमा बस्ती सारिदिनुपर्ने उनीहरूको माग छ। 

शाहीका अनुसार यहाँका ११५ घरपरिवार पहिरोको जोखिममा छन्। त्यसमध्ये २५ वटा घरहरू पहिरोको उच्च जोखिममा रहेको शाहीले बताए। ‘नेताहरूले हामीलाई खाने गास र बासको व्यवस्था गर्ने आश्वासन त दिनुभएको छ। तर कहिले पूरा हुने हो टुंगो छैन,’ शाही भन्छन्।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले पहिरोमा परी ज्यान गुमाएका र घर पूर्ण रूपमा क्षति भएका परिवारलाई वैकल्पिक व्यवस्थापन गर्ने योजना लिएको बताए। ‘हामीले आवश्यक कागजातहरू गृह मन्त्रालयमा पेस गरिसकेको छौं। केही दिनभित्र उनीहरूको पुनर्बासका लागि स्वीकृत भएर आएपछि हामी आवश्यक काम अघि बढाउँछौं,’ उनले भने। गाउँपालिकाभरमा पहिरो प्रभावितहरूलाई घर पुनर्निर्माणसँगै जीविकोपार्जनमा सहयोग पुग्ने गरी व्यवस्थापन गर्ने अध्यक्ष बिसीको भनाइ छ। 

पीडितलाई जनही १४ हजार
 
अछामको तुर्माखाँद गाउँपालिका–५ नाडास्थित काँडाचौर गाउँका पहिरो पीडितले जनही १४ हजार रुपैयाँ सहयोग प्राप्त गरेका छन्। ‘बाढी पहिरोका कारण काँडाचौर गाउँका तीन घरपरिवारका ९ जनाले ज्यान गुमाउनुभयो,’ अध्यक्ष बिसीले भने, ‘गाउँपालिकाभर अन्य मानवीय क्षति नभए पनि भौतिक क्षतिहरू धेरै भएका छन्।’ यसअघि गाउँपालिकाले मृतक परिवारलाई जनही ५० हजार र किरिया खर्चस्वरूप २५ हजार रुपैयाँ उपलब्ध गराएको अध्यक्ष बिसीले बताए। 

अध्यक्ष बिसीका अनुसार अहिले विभिन्न प्रक्रिया सकेर गाउँपालिकाको समन्वय र डीसीए नेपालको सहयोगमा सोसेक नेपालले जनही १४ हजार रुपैयाँ रकम वितरण गरेको हो। पहिरो प्रभावितहरूलाई थोरै भए पनि जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले राहतस्वरूप सो रकम सहयोग गरिएको संस्थाका उपाध्यक्ष कवि रिजालले बताए।

पहिरो प्रभावित काँडाचौर गाउँकी स्थानीय मनसरादेवी शाहीले राहत सहयोगले पहिरोले दिएको पीडामा मल्हम लागेको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.