देउसी भैलोबाट संकलित रकमबाट बिपन्नलाई खाद्यान्न र न्यानो कपडा
स्याङ्जा: स्याङ्जाका सौन्दर्यकर्मीको समूहले तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम विपन्न परिवारलाई खाद्यान्न र न्यायो कपडा वितरणमा खर्चिएको छ। देउसी भैलोबाट संकलित १ लाख ४० हजार रुपैयाँबाट जेष्ठ र विपन्न वर्गलाई खाद्यान्नसहित कपडा उपलब्ध गराइएको हो।
देउसी भैलो खेलेर मनोरंजन गर्ने प्रचलन रहेका बेला सौन्दर्यकर्मीले रमाइलोसँगै सामाजिक कार्य गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।
ब्यूटिपार्लर एसोसिएसन स्याङ्जामा आवद्ध उनीहरूले देउसी भैलो खेलेर संकलन गरेको रकमले वृद्धाश्रम र अतिविपन्नलाई खाद्यान्न तथा न्यानो कडा प्रदान गरेका हुन्।
गएको तिहारमा वालिङ्मा रहेका २८ जना सौन्दर्यकर्मी मिलेर भैलो खेलेर १ लाख ४० हजार रुपैयाँ संकलन गरेका थिए। जाडोको समयमा खाद्यान्न र न्यानो कपडा पाउँदा उनीहरू पनि खुशी देखिन्थे।
उनीहरूले चापाकोट नगरपालिका ६ केलादीघाटस्थित राधा दामोदर मन्दिरमा ३२ जना जेष्ठ नागरिकलाई एक लाख रुपैयाँ र चापाकोट ४ का अतिविपन्न परिवारलाई ४० हजार बराबरको खाद्यान्न उपलब्ध गराएको ब्यूटिपार्लर एसोसिएसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालले जानकारी दिईन्।
दान र सहयोगबाट वृद्धाश्रममा संचालन गर्दे आएकोमा सहयोगीदाताका सहयोगले आश्रमका जेष्ठनागरिकको जीवनयापनमा सहज बनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीले बताए।