मुस्ताङमा लेकका याकचौरी बेसी झारियो
जोमसोम : मुस्ताङको उच्चलेकमा रहेका याकचौरी न्यानोका लागि बेसी स्थानान्तरण गरिएको छ।
हिउँदयामको मौसममा उच्चलेकमा हिमपात र अत्यधिक जाडो हुने भएकाले मुस्ताङका चाकचौरी पालक किसानले उच्चलेकमा रहेका याकचौरीलाई बेसीमा स्थानान्तरण गरेका हुन्।
उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म दुई दर्जन बढीले परम्पराग पुर्ख्यौली व्यवसायका रूपमा याकचौरी पालन गर्दै आइरहेका छन्।
उपल्लो मुस्ताङको लोमान्थाङमा करिव १ हजार ५००,घरपझोङमा करिव २ सय ५० र थासाङ गाउँपालिकामा २ हजाभन्दा बढीको सख्यामा व्यवसायिक याकचौरी पालन गरिएको छ।
समुन्द्री सतहदेखि करिव ४ हजार मिटरको अग्लो उचाइको लेकमा याकचौरी पालन गरिन्छ। यसरी उच्चलेकको खर्कमा पालिएका याकचौरीलाई हिउँदयामसंगै कार्तिकको दोश्रो सातादेखि न्यानोका लागि बेसीको पारिलो स्थानमा स्थानान्तरण गरिने थासाङ–२ सौरुका याकचौरी पालक किसान सोजन हिराचनले जानकारी दिए।
गर्मीयामको बैशाखदेखि कार्तिकको पहिलो सातासम्म याकचौरी उच्चलेकको पाटनमा रहने र हिउँदयामको मंसिरदेखि चैत्रको अन्तिमसम्म बस्ती नजिक राखिने गरेको चौरी पालक हिराचनले बताए।
हिउँदयामको मौसममा उच्चलेकमा सम्भावित हिमपातको जोखिम हुने, हिमपातले चरनक्षेत्र पुरै हिउँले ढाकिने,अत्यधिक चिसोले याकचौरी गोठाला र पशुचौपायालाई सास्ती हुने हुँदा उच्चलेकमा पालन गरिएका याकचौरी बस्ती नजिक स्थानान्तरण गरिएको हो।
बस्तीमा हिउँ परेपनि चाँडो पग्लिने, गोठाला तथा याकचौरीलाई न्यानो हुने र पशुचौपायालाई आहारा दिन सजिलो हुने हुन्छ।
जिल्लाको लोमान्थाङ गाउँपालिका याकचौरी पालकले कार्तिक अगावै खर्कका याकचौरी बस्ती नजिकको लेकमा सारेको लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले जानकारी दिए।