धनकुटाको साँगुरीगढीमा फोहोरमैला व्यवस्थापन प्रणालीका लागि ६ घर

धनकुटाको साँगुरीगढीमा फोहोरमैला व्यवस्थापन प्रणालीका लागि ६ घर

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिकाका ६ पर्यटकीय स्थानमा फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ। 

गाउँपालिका वडा नम्बर ६ र ८ का पाथिभरा मन्दिरको दुई स्थान, पार्किङ स्थल र मन्दिर पुग्ने स्थलभन्दा अघिल्लो स्टेशन, साँगुरीगढी, पिकनिक स्पट, झण्डी डाँडा, नमस्ते झरनामा निर्माण गरिएको हो।  

नेपाल पर्यटन बोर्ड र साँगुरीगढी गाउँपालिकाको संयुक्त लागत साझेदारिमा पर्यटकीय स्थानमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए। 

फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण भएसँगै ती क्षेत्रमा हुने फोहोरहरूलाई व्यवस्थापन गर्न सहज हुने अध्यक्ष राईले बताए। 

ती घरहरूको निर्माण लागत २१ लाख ३३ हजार २ सय १५ रुपैयाँ छ। जसमध्ये गाउँपालिकाको १२ लाख लगानी रहेको छ। स्थानीय बासिन्दाको १ लाख ५ हजार २ सय १५ रुपैयाँ जनश्रमदान छ। 

गत असोज २७ गतेदेखि निर्माण सुरु भएर कात्तिक ३० गतेभित्र निर्माण भइसकेको थियो। 

निर्माण सम्पन्न भइसकेका ती प्रणालीको घरमा फोहोर व्यवस्थापनको कार्य सुरु भइसकेको फोहोर मैला व्यवस्थापन प्रणाली उपभोक्ता समितिका अध्यक्ष थामेश्वर सुब्बाले बताए। 

सो फोहोर व्यवस्थापन प्रणाली परियोजनाबाट मासिक ३ हजार जना पर्यटक लाभान्वित हुने उनले बताए। पर्यटकको चहलपहल हुने स्थान पहिचान गरि छनोट गरिएको उनको भनाइ छ। 

फोहोरमैला व्यवस्थापन प्रणाली घरभित्र तीनवटा च्याम्बर ब्लक रहेका छन्। तीन च्याम्बर ब्लकमा सिसाजन्य पदार्थ, कागजजन्य पदार्थ र प्लाष्टिकजन्य पदार्थ छुट्याउने व्यवस्था छ। 

हरेक च्याम्बर फोहोरले भरिसकेपछि पछाडि ब्याक साइडमा रहेको ढोकाबाट निकाल्न सकिने व्यवस्था गरिएको छ। ती च्याम्बरमा संकलन भएको फोहोरलाई हप्तामा दुई पटक गाउँपालिकाको ट्याक्टरले अस्थायी फोहोरमैला संकलन केन्द्रमा लगेर व्यवस्थापन गर्ने छ। 

फोहोर व्यवस्थापन प्रणाली निर्माणले फोहोर व्यवस्थापनको समस्यालाई धेरै हदसम्म समाधान दिएको निर्माण कार्यको अनुगमन समिति तथा भेडेटार नागरिक समाजका संयोजक रमेश सुब्बाले बताए। 

ती ठाउँमा प्लाष्टिकका डस्बिन, बाँसको टोकरी राखेर फोहोर संकलन गर्दा दिगो हुन सकेन। राखिएका डस्बिनहरू फुटाइदिने, फ्याकिँदिने जस्ता कार्य भइरह्यो। डोको, बोराहरू ठाउँ ठाउँमा राखिदिँदा पनि समस्या समाधान हुन सकेन। 

तर व्यवस्थापन प्रणाली घर निर्माणले फोहोरको व्यवस्थापन सहज भएको उनको भनाइ छ। जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) मार्फत निर्माण भएको फोहोरमैला व्यवस्थापन प्रणाली घर फोहोर व्यवस्थापनको हिसावले उपयुक्त रहेको गाउँपालिका इन्जिनियर दिपक राईले बताए। 

यसमा जनचेतना आवश्यक रहेको उनको भनाइ छ। आफूले गरेको फोहोर प्रणाली घरमा छुट्याएर राख्नुपर्छ भन्ने जनचेतना यहाँ आउने पर्यटकहरूमा भयो भने धेरै सहज हुने उनले बताए। 

तीन च्याम्बरमा एक पटकमा कम्तीमा एक टन फोहोर अट्ने क्षमता रहेको छ। तत्कालको लागि ती फोहोरहरूलाई गाउँपालिकाले अस्थायी रुपमा बनाएको फोहोरमैला संकलनमा व्यवस्थापन गर्नेछ। 

स्थायी फोहोरमैला व्यवस्थापन केन्द्रका लागि छिट्टै प्राविधिक अध्ययन गर्ने तयारीमा रहेको इन्जिनियर राईले बताए। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा नेपाल पर्यटन बोर्डले परियोजना सञ्चालन गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.