वीरगन्जमा साहसिक खेलका लागि पार्क सञ्चालन
वीरगन्ज : साहसिक र रमाइलो अनुभव खोजी गर्नेहरूका लागि वीरगन्जमै साहसिक पार्क सञ्चालनमा आएको छ।
वीरगन्ज महानगरपालिकाको-१४ बाइपासको बोलबम पेट्रोल पम्प नजिक सञ्चालनमा ल्याइएको ‘वल्र्ड अण्डर’ पार्कमा रोमाञ्चक र साहसिक खेलको आनन्द लिन सकिने छ।
आर्थिक नगरी वीरगन्जमा दिन बिताउनका लागि आवश्यक घुमफिर गर्ने स्थान अभाव रहेकोमा अब यो पार्क सञ्चालनमा आएसँगै वीरगन्ज घुम्न आउने तथा यहीका स्थानीयका लागि पनि समय बिताउन सहज हुने भएको छ।
डेढ विघा जग्गामा ८ करोड रुपैयाँको लगानीमा वीरगन्जका पाँच जना व्यवसायीले पार्क सञ्चालनमा ल्याएका हुन्। आइतबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले विधिवत् पूजापाठ गरेर पार्कको उद्घाटन गरेका छन्।
पार्कमा विभिन्न प्रकारका साहसिक खेलका साथै आकर्षक सजिसजावट गरिएको छ। पार्कमा जिपलाइन, स्काई साइकल, मल्टिपल रोप कोर्स, र्यापेलिङ र वाल क्लाइम्बिङ जस्ता साहसिक खेलको अनुभव लिन सकिने पार्कका सञ्चालक सौरभ केडियाले बताए।
पार्क सञ्चालनमा आएसँगै अब वीरगन्ज बाहिर गएर यस्ता खेलको अनुभव लिनुपर्ने बाध्यता हटेको केडियाले बताए।
पाँच जना व्यवसायीको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको यो पार्कमा साहसिक खेलका साथै रोमाञ्चक बहु खेल मैदान पनि रहेको छ। जसमा फुटसल, टेनिस, भलिबल र क्रिकेट खेलको अत्यधुनिक सुविधा पनि लिन सक्ने केडियाले बताए।
पार्कभित्र छिरिसकेपछि खाजा नास्ताका लागि यहाँ घुम्न आउनेहरू बाहिर निस्कनु नपर्ने गरी व्यवस्था मिलाइएको छ। आवश्यक खानेकुरा तथा पेय पदार्थ पार्कभित्रै स्टलमा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइएको अर्का सञ्चालक दीपक वैद्यले बताए।
मेयर सिंहले यस्ता पार्कले घुम्न आउनेका लागि समय व्यतित गर्ने ठाउँ मात्रै नभई रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउने विश्वास रहेको बताए।
उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उद्योगी अशोक वैद्य, सौरभ केडिया, आरोह मित्तल, हेमन्त बेद, सनी अग्रवाल लगायतको पनि उपस्थिति थियो।