प्रधानमन्त्री बनेर प्रचण्ड हारे कि जिते?

प्रधानमन्त्री बनेर प्रचण्ड हारे कि जिते?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गठबन्धन तोडेर तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरूद्ध बनेको गठबन्धन भत्काएर उनले तिनै ओलीको समर्थनमा प्रधानमन्त्री बने। जसका कारण प्रचण्डले बधाइसँगै पदलोलुपताको आरोप खेपिरहेका छन्।

तीन स्वतन्त्रसहित ७ दलको समर्थन पाएपछि प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियु्क्त गरेकी छन्। प्रचण्डले शपथ लिएपछि ‍औपचारिकरूपमा सोमबारदेखि कार्यकाल सम्हाल्नेछन्। प्रचण्ड दलबलसहित बालुवाटार प्रवेश गर्दैगर्दा उनले प्रधानमन्त्री बनेर जिते कि हारे? धेरैको मनमा प्रश्न उब्जिएको छ। किनकि प्रचण्डकै जोडबलमा एमालेबाट छुटिएका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समावादी टाढिनुपरेको छ।

एमालेले औपचारिकरूपमै प्रचण्डलाई प्रधामन्त्री प्रस्ताव गर्दा माधव नेपालको पार्टीलाई सरकारमा सहभागी नगराउने शर्त राखेको थियो। सोही शर्तले होला प्रचण्डले सल्लाह नै नगरी आइतबार बालकोट पुगेर प्रधानमन्त्रीको ताज पहिरिन सफल भए।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेसँग गठबन्धन बनाउने विषयमा प्रचण्डले सल्लाह नै नगरेको बताए। उनी नेतृत्वको पार्टीले एमाले गठबन्धनको सरकार बन्ने घोषणासँगै प्रतिपक्षीमा बस्ने निर्णय गरेको छ। यद्यपि एमालेका दोस्रो तहका नेताहरूले माधव नेपाललाई पनि सरकारमा सहभागी गराउनुपर्ने दबाब नेतृत्वलाई दिएको स्रोतको दाबी छ।

त्यतिमात्र होइन, चुनावपछि गठबन्धनलाई निरन्तरता दिने वाचा गरेका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको भरोसासमेत तोडेका छन्। ओलीले संसद विघटन गर्दा प्रचण्डले नै प्रतिगमनविरुद्ध संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनमार्फत् देउवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेका थिए। तर निर्वाचनपछि आफैं प्रधानमन्त्री बन्ने हठले प्रचण्डले प्रतिगमनको लाज बिसाएर देउवालाई बालुवाटारबाट लेखेटेका छन्।

प्रचण्डको हठ कति स्वभाविक?

प्रचण्डले निर्वाचनअघि नै आफू प्रधानमन्त्री बन्ने चाहना राखेको बताएका थिए। चितवन छोडेर गोरखाबाट निर्वाचन लडेका उनले जनताको आशिर्वादले आफू प्रधानमन्त्री बन्ने दाबी गरिरहे। मंसिर ४ को निर्वाचनमा ३२ सिटमा खुम्चिएको प्रचण्डले पहिलो दल बनेको कांग्रेससँग जसरी पनि प्रधानमन्त्री बन्ने अडान छाडेनन्। तर राष्ट्रपतिबाट सरकार गठनको आह्वान भएको छैटौं दिनसम्म पनि प्रधानमन्त्री बन्ने छाटकाट नदेखिएपछि प्रचण्ड हतास भएको स्रोतको भनाइ छ। शनिबार एमाले अध्यक्ष ओलीले समेत प्रधानमन्त्री बन्ने सपना समाप्त भएको अभिव्यक्ति दिएपछि प्रचण्ड कुनै निर्णयमा पुग्न नसकिरहेको स्रोत बताउँछ।

भूराजनीतिको जञ्जालमा परेका प्रचण्ड आफैंले पनि यसको पुष्टि गरे। आइबार उनले आफू चौतर्फी घेराबन्दीमा परेको स्वीकारे। पार्टीका शीर्ष नेताहरूसँग उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा परेको बताएका थिए। कांग्रेसको समर्थनमा सरकार बनाउन आफूलाई घेराबन्दीमा पारेको बताए पनि उनी प्रधानमन्त्री बन्न भूराजनीतिको प्रभाव कतिको पर्‍यो भन्ने प्रश्न पनि उठेको छ। कतै भूराजनीतिको प्रभावले त होइन उनी प्रधानमन्त्री हठ त्याग्न नसकेको ?

यसैबीच छिमेकी देश चीनले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त भएको बधाइ दिएका छन्। चिनियाँ दूतावासले आइतबार राति ट्वीटरमार्फत् बधाइ दिएको हो।

दूतावासले भनेको छ,  ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाइ।' यसबीचमा चिनियाँ दूतावासका कार्यबाहक राजदूत वाङ सीनले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए। वाङ सीनले केही दिनअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगसमेत भेट गरेका थिए। 

एक्लियो कांग्रेस, सातवटै प्रदेशमा एमाले गठबन्धनको सरकार बन्ने निश्चित

यससँगै निर्वाचनबाट पहिलो दल बनेको कांग्रेस एक्लिएको छ भने सातवटै प्रदेशमा एमाले गठबन्धनको सरकार बन्ने निश्चित भएको छ। ९३ सदस्यीय प्रदेश १ मा एमाले पहिलो दल हो। सरकार बनाउन ४७ सिट चाहिए पनि एमाले गठबन्धनसँग ६० सिट रहेको छ। जसमा एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपाको १ सिट रहेको छ।

त्यस्तै मधेस प्रदेशमा पनि एमाले पहिलो दल हो। १०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ। एमाले गठबन्धनसँग मधेसमा ६२ सिट रहेको छ। जसमा एमाले २३, माओवादी ८, जसपा १६, जनमत १३, राप्रपा र नागरिक उन्मुक्तिको १-१ सिट रहेको छ।

त्यस्तै बागमती प्रदेशमा एमाले गठबन्धनसँग ६ सिट रहेको छ। ११० सदस्सीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ। जुमा एमाले २७, माओवादी २१ र राप्रपाको १३ सिट रहेको छ। त्यस्तै गण्डकी प्रदेशमा ६० मध्ये एमाले गठबन्धनसँग ३२ सिट रहेको छ। त्यहाँ सरकार बनाउन ३१ सिट आवश्यक पर्छ। गण्डकीमा एमाले २२, माओवादी ८ र राप्रपाको २ सिट रहेको छ।

त्यस्तै लुम्बिनीमा एमाले गठबन्धनसँग ५२ सिट रहेको छ। ८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ। लुम्बिनीमा एमालेट २९, माओवादी ९, जसपा ३, राप्रपा ४, उन्मुक्ति ४ र जनमतको ३ सिट रहेको छ। त्यस्तै कर्णाली प्रदेशमा एमाले गठबन्धनसँग २४ सिट रहेको छ। ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सिट आवश्यक पर्छ। जसमा एमाले १०, माओवादी १३ र राप्रपाको १ सिट रहेको छ।

त्यस्तै सूदुरपश्चिम प्रदेशमा एमाले गठबन्धनसँग २९ सिट रहेको छ। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सिट आवश्यक पर्छ। जसमा एमाले १०, माओवादी ११, नागरिक उन्मुक्ति ७ र राप्रपाको १ सिट रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.