प्रचण्ड र चिनियाँ कार्यवहाक राजदूतबीच भेट, सत्तासमीकरणबारे चिनियाँ चासो
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालस्थित चिनियाँ दूतावासका कार्यवहाक राजदूत वाङ सीनबीच भेट भएको छ । वाङ प्रचण्डलाई भेटन शुक्रबार बिहान खुमलटार पुगेका थिए ।
प्रचण्डले प्रधानमन्त्री बन्ने अडान नछाडिरहेका बेला चिनियाँ दूतावासका उच्च अधिकारीसँग भएको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ । कार्यवहाक राजदूत वाङले संभावित सत्तासमीकरण र सरकार निर्माणमा माओवादी केन्द्रको भूमिकाबारे चासो राखेका थिए । उनीहरुबीच भेट भएको बारे माओवादी केन्द्रका एक नेताले अन्नपूर्णलाई बपुष्टि गरे।
प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत भइरहेको र त्यसका लागि कांग्रेससँग गम्भीर ढंगले कुरा भइरहेको जवाफ दिएको स्रोतले बताएको छ । वर्तमान सत्तागठबन्धनबाट प्रधानमन्त्री बन्न नसके एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका प्रचण्डसँग चिनियाँ अधिकारीले भेट गरेका हुन्। अघिल्लो साता वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग समेत भेट गरेका थिए ।त्यसबेला समेत वाङ सत्तासमीकरणका संभावित परिदृष्यबारे लिङदेनसँग छलफल गरेका थिए ।
नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ मा काठमाडौं आइपुग्दैछन् ।
राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस !