केतन हत्या : सिया–चेतनले क्याफेमा बनाएका थिए योजना, सीसीटिभीले खोल्यो पोल
भारत : युवा व्यवसायी केतन अग्रवाल हत्याकाण्डमा दिनहुँ नयाँ खुलासा भइरहेका छन् । प्रहरी अनुसन्धानका क्रममा मुख्य आरोपी सिया गोयल र उनका प्रेमी चेतन चौधरीको एउटा सीसीटिभी फुटेज फेला परेको छ । यो फुटेज केतनको हत्या हुनुभन्दा ठीक एक दिनअघिको हो । फुटेजमा सिया र चेतन पुणेको एक क्याफेमा सँगै देखिएका छन् ।
प्रहरीको आशंका अनुसार उनीहरूले त्यहीँ बसेर केतनलाई कसरी बाटोबाट हटाउने भन्ने सम्पूर्ण योजना बनाएका थिए र भोलिपल्ट उनलाई धकेलेर हत्या गरेका थिए । २० वर्षीया सिया गोयलको यही वर्ष नोभेम्बरमा २६ वर्षीय केतन अग्रवालसँग विवाह हुने तय भएको थियो । दुवैको फेब्रुअरीमा इन्गेजमेन्ट भएको थियो । तर सिया यो विवाह गर्न इच्छुक थिइनन् । परिवारको दबाबका कारण उनले विवाह अस्वीकार गर्न सकेकी थिइनन् ।
उनी आफ्ना प्रेमी चेतनसँग भविष्य बनाउन चाहन्थिन् । सिया र चेतनको भेट गत वर्ष दीपावलीका बेला भएको थियो । चेतनका बुबाको एउटा राशन पसल रहेको बताइएको छ भने केतन करोडौं रुपैयाँका सम्पत्तिका मालिक थिए । आरोप अनुसार सिया र चेतनले मिलेर केतनलाई पुणेको लोहगढ किल्लाबाट करिब ४०० फिट गहिरो भीरमा धकेलेर हत्या गरेका थिए ।
सार्वजनिक भएको सीसीटिभी फुटेज हत्या हुनुभन्दा एक दिनअघिको हो । फुटेजमा सिया गोयल र चेतन चौधरी थर्ड वेभ नामक क्याफेमा भेटिएको देखिन्छ । उनीहरू करिब एक घण्टासम्म त्यहाँ बसेर कुराकानी गरिरहेका थिए । सीसीटिभीमा दुवै जना क्याफेको प्रवेशद्वारबाट भित्र छिरेको देखिन्छ । सियाले जिन्स र टप लगाएकी थिइन् भने चेतनले टी–सर्ट र जिन्स लगाएका थिए । दुवै जना भीडभाड भएको भागभन्दा खुला स्थानमा बसेर लामो समयसम्म गोप्य छलफल गरिरहेको देखिन्छ ।
कसैले नसुनोस् भनेर एकान्तमा बसेर योजना बनाएको आशंका
अनुसन्धान अनुसार यही भेटका क्रममा दुवैले केतनलाई हटाउने षड्यन्त्र रचेका थिए । भिडियोमा उनीहरू एकान्तमा बसेर गम्भीर छलफल गरिरहेको देखिन्छ । उनीहरूको हाउभाउ हेर्दा अरू कसैले थाहा नपाओस् वा नसुनोस् भन्ने उद्देश्यले गोप्य रूपमा कुराकानी गरिरहेको अनुमान गरिएको छ ।
बीचमा सियालाई फोन आएको देखिन्छ र त्यसपछि पनि उनी फेरि चेतनसँग कुराकानीमा व्यस्त हुन्छिन् । प्रहरीको दाबी अनुसार यही भेटमा केतनलाई लोहागढ किल्लाबाट धकेलेर हत्या गर्ने सम्पूर्ण योजना बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस !