पाकिस्तानी युवतीको जबरजस्ती विहे र हत्या : इटालीकी प्रधानमन्त्रीले दिइन् यस्तो प्रतिक्रिया
इटाली : इटालीको सर्वोच्च अदालतले बुधबार पाँच वर्षअघि तय गरिएको विवाह अस्वीकार गरेकी पाकिस्तानी मूलकी युवतीको हत्या प्रकरणमा अन्तिम फैसला सुनाएको छ । अदालतले युवतीका पाँच जना आफन्तलाई हत्या आरोपमा दोषी ठहर गरेको छ । इटालीमा बस्दै आएकी १८ वर्षीया पाकिस्तानी मूलकी समन अब्बासको सन् २०२१ मा इटालीको नोभेलारा क्षेत्रमा परिवारकै सदस्यहरूले हत्या गरेका थिए । उनले पाकिस्तानमा तय गरिएको विवाह गर्न अस्वीकार गरेकी थिइन् ।
इटालीको सर्वोच्च अपिल अदालत सुप्रिम कोर्ट अफ क्यासेसनले समनका आमा–बुबा नाजिया शाहिन र शब्बर अब्बास, उनका काका छोराहरू इजाज इकराम र नोमानुल हकलाई हत्या आरोपमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय कायम राखेको छ । अदालतले उनका काका दानिश हसनैनलाई दिइएको २२ वर्षको जेल सजाय पनि यथावत राखेको छ ।
समन अब्बासले सन् २०२० मा पाकिस्तानमा आफ्नै एक काकाका छोरासँग विवाह गराउने परिवारको योजनाको विरोध गरेकी थिइन् । समन नाबालिग हुँदा नै उनले इटालीको सामाजिक सेवा विभागसँग सहयोग मागेकी थिइन् । उनलाई नोभेम्बर २०२० मा एउटा आश्रयस्थलमा राखिएको थियो । उनले आफ्ना आमा–बुबाविरुद्ध प्रहरीमा उजुरी समेत दिएकी थिइन् । तर ११ अप्रिल २०२१ मा उनी फेरि परिवारसँग बस्न फर्किइन् ।
५ मे २०२१ मा प्रहरीले उनको खोजी सुरु गर्यो, जब अधिकारीहरू उनको घर पुगे तर त्यहाँ कोही भेटिएन । त्यसपछि अनुसन्धान सुरु भयो । अनुसन्धानका क्रममा प्रहरीले थाहा पायो कि समनका आमाबुबा उनलाई छोडेर पाकिस्तान भागिसकेका थिए । नजिकै रहेको सीसीटीभी फुटेज हेर्दा प्रहरीलाई शंका लाग्यो । २९ अप्रिल २०२१ को सीसीटीभी फुटेजमा पाँच जना व्यक्तिहरू घरबाट फरुवा, फलामको रड र बाल्टी लिएर बाहिर गएको देखिएको थियो । करिब साढे दुई घण्टापछि उनीहरू फर्किएका थिए । हत्या पछि समनका आमाबुबा पाकिस्तान भागेका थिए । पछि उनीहरूलाई सुपुर्दगी (प्रत्यर्पण) गरेर इटाली ल्याइएको थियो ।
इटालीकी प्रधानमन्त्री मेलोनीले के भनिन् ?
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अदालतको फैसलाको स्वागत गर्दै यो ‘पीडादायी न्यायिक प्रक्रियाको अन्त्य’ भएको बताएकी छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखिन्, ‘समन अब्बास हत्या प्रकरणमा अन्तिम फैसला आएपछि एउटा पीडादायी न्यायिक संघर्षको अन्त्य भएको छ ।’
‘इटालीमा बस्ने पाकिस्तानी मूलकी युवती समन अब्बासको हत्या उनका आमाबुबा र केही आफन्तहरूले जबरजस्ती विवाहको विरोध गरेको र आफ्नो भविष्य आफैं तय गर्ने अधिकार मागेको कारण गरेका थिए ।’
‘कुनै पनि अदालतको फैसलाले उनको जीवन फिर्ता ल्याउन सक्दैन, तर यस्तो बर्बर अपराध गर्ने दोषीहरूलाई कानुनअनुसार अन्तिम सजाय दिनु आवश्यक थियो ।’ ‘इटालीमा ती मानिसहरूका लागि कुनै ठाउँ छैन, जसले कथित सांस्कृतिक वा धार्मिक कारण देखाएर महिलाको स्वतन्त्रता, सम्मान र जीवनको अधिकार खोस्ने प्रयास गर्छन् । यी आधारभूत सिद्धान्तमा कुनै सम्झौता हुन सक्दैन ।’
के थियो पूरा घटना ?
समन अब्बासको शव उनको बेपत्ता भएको करिब १८ महिनापछि नोभेम्बर २०२२ मा उत्तरी इटालीको एउटा फार्महाउस नजिक फेला परेको थियो । उनका बुबा शब्बर अब्बासलाई पाकिस्तानमा पक्राउ गरी अगस्ट २०२३ मा हत्या मुद्दाको सामना गर्न इटाली ल्याइएको थियो ।
उनकी आमा नाजिया शाहिनलाई भने उनको अनुपस्थितिमै दोषी ठहर गरिएको थियो । अदालतमा शब्बर अब्बासले भावुक हुँदै भनेका थिए, ‘मैले आफ्नो जीवनमा कहिल्यै छोरीको हत्या गर्ने सोच बनाएको थिइनँ ।’ समनका काका दानिश हसनैनलाई सुरुमा १४ वर्ष जेल सजाय सुनाइएको थियो भने उनका दुई काकाका छोराहरूलाई सुरुमा सफाइ दिइएको थियो ।
अप्रिल २०२१ को अन्त्यमा भएको समन अब्बासको ‘इज्जतको नाममा हत्या’ घटनाले इटालीभर ठूलो आक्रोश फैलाएको थियो । समन सन् २०१६ मा आफ्नो परिवारसँगै पाकिस्तानबाट इटालीको नोभेलारा सहरमा बसाइँ सरेकी थिइन् । उनी पाकिस्तानी मूलकै एक युवकसँग प्रेम सम्बन्धमा थिइन् । बोलोन्या सहरको सडकमा उनीहरू चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनका आमाबुबा निकै रिसाएको बताइएको थियो ।
अनुसन्धानकर्ताका अनुसार सन् २०२० मा उनका आमाबुबाले उनलाई पाकिस्तान पठाएर तय गरिएको विवाह गराउन खोजेका थिए, तर समनले स्पष्ट रूपमा अस्वीकार गरेकी थिइन् । त्यसपछि उनी केही महिनासम्म सामाजिक सेवा विभागको संरक्षणमा बसेकी थिइन् । तर परिवारले लगातार सम्पर्क गरेपछि अप्रिल २०२१ को अन्त्यमा उनी घर फर्किएकी थिइन् ।
अभियोजन पक्षको भनाइ थियो कि उनलाई झुक्याएर घर बोलाइएको थियो र त्यहीँबाट उनको हत्या गरिएको थियो । अन्ततः नोभेम्बर २०२२ मा उनका काकाले दिएको जानकारीका आधारमा परिवारको घर नजिकै रहेको फार्महाउस क्षेत्रमा जमिनमुनि गाडिएको उनको शव फेला परेको थियो । पोस्टमार्टम रिपोर्टमा उनको घाँटीको हड्डी भाँचिएको देखिएको थियो । अनुसन्धानकर्ताहरूले घाँटी थिचेर हत्या गरिएको हुन सक्ने बताएका थिए ।
समन बेपत्ता भएपछि उनका आमाबुबा पाकिस्तान भागेका थिए भने उनका काका दानिश हसनैन र दुई काका छोराहरू फ्रान्स र स्पेन भागेका थिए । दानिश हसनैनलाई सन् २०२१ मा पेरिसमा पक्राउ गरिएको थियो । उनका बुबा शब्बर अब्बासलाई सन् २०२२ मा पाकिस्तानमा पक्राउ गरी अगस्ट ३१ मा इटाली पठाइएको थियो । रेजियो एमिलिया अदालतले नाजिया शाहिनको अनुपस्थितिमै उनलाई र शब्बर अब्बास दुवैलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस !