केतन हत्या प्रकरण : बिहे तोडेर प्रेमीसँग किन भागिनन् सिया, चेतनले स्वीकारे सबै सत्य
भारत : भारत महाराष्ट्रको लोहागढ किल्लामा २४ वर्षका केतन अग्रवालको हत्या प्रकरणमा हरेक दिन नयाँ खुलासा भइरहेको छ । हत्या आरोपमा केतनकी भावी दुलही सिया गोयल र उनका प्रेमी चेतन चौधरी प्रहरी हिरासतमा छन्, जहाँ उनीहरूमाथि सोधपुछ जारी छ ।
यस क्रममा चेतनले एक चकित पार्ने बयान दिएका छन् । उनका अनुसार सिया गोयलले आफ्नो भावी पति केतनसँग मगनी तोडेर चेतनसँग यस कारण भागिनन्, किनकि उनलाई समाजमा आफ्नो ‘परिवारको बदनामी’ हुने डर थियो । यही बदनामीबाट बच्न उनले भाग्नुको सट्टा भावी पतिको हत्या गर्ने खतरनाक योजना बनाएको आरोप छ ।
गत १८ जुनमा लोहागढ किल्लाबाट खस्दा रियल इस्टेट कम्पनीका निर्देशक केतनको मृत्यु भएको थियो । सुरुमा यसलाई दुर्घटना मानिएको थियो, तर पछि अनुसन्धानमा हत्या योजनाको खुलासा भयो । प्रहरीका अनुसार केतन आफ्नो भावी पत्नी सिया गोयलको जन्मदिन मनाउन लोहागढ ट्रेकिङमा गएका थिए । उनीहरूको विवाह नोभेम्बरमा हुने तय भएको थियो । दुवै परिवारले विवाहका लागि राजस्थानमा १७ करोड रुपैयाँमा एक महल पनि बुक गरेका थिए र पाहुनाहरूलाई ल्याउन–लैजानका लागि दुई निजी विमानको व्यवस्था गरिएको थियो ।
दुर्घटना भनेर देखाउने प्रयास
सियाले सुरुमा प्रहरीलाई दिएको बयानमा फोटो खिच्ने क्रममा केतनको खुट्टा चिप्लिएर खाल्डोमा खसेको बताएकी थिइन् । तीन घण्टा चलेको उद्धार अभियानपछि उद्धार टोलीले केतनको शव बाहिर निकालेको थियो । लोनावला ग्रामीण प्रहरीले सियाको बयानका आधारमा दुर्घटनाबाट मृत्यु भएको भन्दै मुद्दा दर्ता गरेको थियो । सियाले प्रहरीलाई पहाडी किल्ला घुम्ने क्रममा केतन चिप्लिएर खसेको बताएकी थिइन् ।
चेतनसँग प्रेम सम्बन्धको खुलासा
तर पुणे ग्रामीणका प्रहरी अधीक्षक सन्दीप सिंह गिलले घटनाको अवस्था शंकास्पद देखिएपछि गहिरो अनुसन्धान सुरु गरिएको बताए । उनले भनेका छन्, ‘हाम्रो टोलीले आर्थिक विवाद र व्यक्तिगत सम्बन्धलगायत विभिन्न पक्षको अनुसन्धान ग¥यो । त्यस क्रममा सियाको पुणेका कोंढवा निवासी चेतनसँग प्रेम सम्बन्ध रहेको पत्ता लाग्यो ।’
प्रहरीका अनुसार सियाले केतनसँग विवाह गर्न नचाहेको र चेतनसँगको सम्बन्धमा केतन बाधा बनेको ठानेको खुलेको छ । त्यसपछि दुवैले मिलेर केतनलाई हटाउने योजना बनाएको आरोप छ । अनुसन्धानमा थप खुलासा अनुसार, योजनाअनुसार सियाले घुम्न जाने बहानामा केतनलाई लोहागढ किल्लामा लगिन्, पछि चेतनलाई पनि त्यही बोलाइयो र दुवैले मिलेर केतनलाई खाल्डोमा धकेले, जसले गर्दा उनको मृत्यु भयो ।
सीसीटीभी फुटेजमा ३३ डिग्री तापक्रममा हुडी लगाएको एक व्यक्तिमाथि शंका भएपछि क्राइम ब्रान्चले चेतनलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनले कथित रूपमा स्वीकार गरेका छन् कि केतन उनीहरूको सम्बन्धमा बाधा थिए, त्यसैले दुवैले मिलेर उनलाई हटाउने योजना बनाएका थिए ।
परिवारको बदनामीको डर
पीटीआईको रिपोर्ट अनुसार, प्रहरीले चेतनलाई सोध्दा सिया र उनी घरबाट भागेर किन गएनन् र किन हत्या आवश्यक प¥यो भन्ने प्रश्नमा चेतन चौधरीले सियालाई परिवारको बदनामीको डर रहेको बताए । उनका अनुसार सिया मगनी तोडेर वा उनीसँग भाग्ने पक्षमा थिइनन्, किनकि त्यसले परिवारको प्रतिष्ठा बिग्रने डर थियो । प्रहरी स्रोतका अनुसार सिया र चेतनलाई २९ जुनसम्म प्रहरी हिरासतमा राखिएको छ र अनुसन्धान जारी छ ।
चेतनका बुबाको फरक दाबी
यसैबीच, आरोपी चेतनका बुबा बाबुलाल चौधरीले आफ्नो छोरालाई निर्दोष भएको दाबी गरेका छन् । उनले सियाले आफ्नो छोरालाई फसाउन खोजेको आरोप लगाए । उनले भने, ‘हामीलाई भनिएको छ कि घटना हुँदा चेतन सिया र केतनबाट धेरै टाढा थियो । मेरो छोरा यस्तो काम गर्न सक्दैन ।’
उनले थपे, ‘हामीलाई थाहा छैन चेतन त्यो दिन लोहागढ किल्लामा किन गएको थियो । उसले हामीलाई पनि बताएन । मेरो छोरा यस घटनामा संलग्न छैन, ऊ निर्दोष छ ।’ उनले सिया र चेतनबीच प्रेम सम्बन्ध भएको जानकारी आफूलाई नभएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस !