मुस्ताङका चार स्थानीय तहको शिक्षा शाखा प्रमुखविहीन
जोमसोम : मुस्ताङको पाँच स्थानीय तहमध्ये चारवटा स्थानीय तहमा शिक्षा शाखा प्रमुखविहीन भएको छ।
सरकारले सबैमा प्रमुख पठाएपनि घरपझोङ गाउँपालिकाबाहेक सबै पालिकामा शिक्षा शाखामा प्रमुखविहीन रहेको हो। यहाँ लामो समयदेखि कर्मचारी व्यवस्थापन तथा पदपूर्ति हुन नसकेको हो।
जिल्लाको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङमा विगत २/३ वर्षदेखि शिक्षा शाखामा प्रमुख छैनन्।
लामो समयदेखि स्थानीय तहमा शिक्षा शाखा प्रमुख नहुँदा शिक्षाका काम गर्न असहज भइरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए। शिक्षा शाखा हेर्ने एकजना शाखा अधिकृत र एकजना प्राविधिक सहायकको दरबन्दी छ।
तर यहाँ दरबन्दी अनुसार अझै शिक्षा शाखा हेर्ने प्रमुखको दरबन्दी पदपूर्ति हुन नसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए।
संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकारी स्थानीय तहलाई दिइएको छ।
तर, स्थानीय तहको शिक्षामा रिक्त रहेको शिक्षा शाखा प्रमुखको दरबन्दी पदपूर्ति शैक्षिक व्यवस्थापनमा समस्या उत्पन्न भएको शिक्षा विकास तथा समन्वय ईकाईका सूचना अधिकारी चन्द्रसिंह विकले बताए।