कसरी हुँदैछ भागबन्डा ?
काठमाडौं : एमाले नेतृत्वको नयाँ गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबन्डा बाँकी नै छ। यद्यपि, राष्ट्रपति र सभामुख एमालेले पाउने ‘भद्र’ सहमति भएको छ।
प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्।
दाहालले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। एमाले उपमहासचिव विष्णु रिमालले मन्त्रिपरिषद्ले एक हप्ताभित्र पूर्णता पाउने बताए। एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपाबाट रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनिसकेका छन्। यस्तै एमालेबाट तीन र जनमतबाट एकजना मन्त्री नियुक्त भइसकेका छन्। यी मन्त्रीको कार्यभार तोकिएको छैन।
सभामुख र उपसभामुखको चयन माघ १० गतेभित्र हुने भएको छ।
सत्ता साझेदार दल राप्रपा र नाउपा तत्काल सरकारमा नजाने भएका छन्। राप्रपाले बाहिर बसेर समर्थन गर्ने भएको छ। नाउपा रेशम चौधरीको रिहाइपछि मात्रै सरकारमा जाने भएको छ। जसपाले एक हप्तापछि पार्टीको बैठक बसी निर्णय गरेर मन्त्री पठाउने भएको छ। संवैधानिक व्यवस्थाअनुसार संघीय मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुन्छ।
साझेदार दलका सबै अध्यक्षको संयन्त्रले पदको भागबन्डा गर्ने सहमति भएको छ। एमाले सचिवालय बैठकले नै अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको विषयमा निर्णय गर्ने अधिकार दिएको छ। पहिलो चरणमा राप्रपा र नाउपा सरकार नजाने भएपछि पाँच दलबीच भागबन्डा हुने भएको छ।
प्रतिनिधिसभामा जितेको सिट संख्यालाई आधार बनाएर भागबन्डा गर्ने तयारीमा सत्ता साझेदार दलहरू छन्। नयाँ समिकरणमा एमाले ७८, माओवादीे ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२, जनमत ६, नाउपाको ४ सिट छ। यो गठबन्धनलाई स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र किरणकुमार साहले समर्थन गरेका छन्।
एमाले उपमहासचिव रिमालले पद बाडँफाँटको विषयमा छलफल गर्न बाँकी नै रहेको बताए। पद बाडँफाँट छलफल र समझदारी मै हुने उनको भनाइ छ। ‘एक्लैले सरकार बनाउन सक्ने अवस्था छैन। त्यसैले छलफल र समझदारीमा नै सबै कुरा टुंगिन्छ,’ उनले भने, ‘पदको बाँडफाँटमा जटिलता आउँदैन, सबैको एउटै लय छ ।’ सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुखको विषयमा छिट्टै समझादारी हुने उनले बताए। राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य पनि रिक्त छ। प्रतिनिधिसभा र प्रदेशसभाका संसदीय समितिको सहमतिमा नै छिनोफोनो हुनेछ। उनले पदको विषयमा कसैले पनि हानथाप नगर्ने विश्वास व्यक्त गरे।
राजनीतिक स्थिरताका लागि नयाँ गठबन्धन आवश्यक भएको उनको भनाइ छ। ‘राजनीतिक स्थिरता दिन, भद्रगोल अर्थतन्त्र ट्रयाकमा ल्याउन, सांस्कृतिक स्खलन रोक्न पनि कांग्रेस बाहेकको गठबन्धनको आश्यक भएको हो,’ उनले भने।
सभामुख र उपसभामुख माघ १० भित्र
सभामुख र उपसभामुखको चयन माघ १० गतेभित्र हुने भएको छ। सरकारको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुस दिउँसो १ बजे बस्ने गरी संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ।
राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन पनि माघभित्रै सक्नुपर्नेछ। राष्ट्रपति भण्डारीको कार्यकाल २०७९ फागुन २९ गते सकिँदै छ।
सहमतिअनुसार सभामुख एमालेले पाउनेछ। जसमा एमालेका सचिव छविलाल विश्वकर्माको चर्चा छ। उनी रुपन्देही १ बाट निर्वाचित भएका हुन्। यो निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षबाट जित्ने एक मात्रै दलित हुन् उनी। उनले एमाले छोडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई हराएका पनि हुन्। उनका साथै एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र नेतृ विद्या भट्टराईको नाम पनि चर्चामा छ। उपसभामुख भने रास्वपाको हातमा जाने छ।
राष्ट्रपति को ?
राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन पनि माघभित्रै सक्नुपर्नेछ। राष्ट्रपति भण्डारीको कार्यकाल २०७९ फागुन २९ गते सकिँदै छ। कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन हुने गरी मिति तय गर्नुपर्ने व्यवस्था छ। त्यो व्यवस्थाअनुसार माघ २९ गतेभित्र नै राष्ट्रपति र उपराष्ट्रपति छानिसकिने छन्।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्छ। संघीय संसद् (३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुनेछन्। मुलुकको विद्यमान जनसंख्याअनुसार यी पदको निर्वाचनका लागि संघीय संसद्का प्रतिसदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ।
एमालेले पाउने भएपछि को हुन्छ राष्ट्रपति भन्ने चर्चा सुरुवात भएको छ। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेताको राष्ट्रपतिमा चर्चा छ। उपराष्ट्रपति भने माओवादी केन्द्रले पाउनेछ।