सरकारको सार्थकता

सरकारको सार्थकता

महाभारतको कथामा चित्रित पात्र र तिनको राजनैतिक खिचातानी, युद्ध, जालझेल अनि अनिष्ट परिणामको भाष्यसँग नेपाली राजनीति मिल्न पुग्छ। महाभारतको युद्ध पनि त चाहे जो बाँचे या मरे पनि एकाघरकै दाजुभाइबीचको महासंग्राम न थियो। अर्को बिम्बलाई हेर्दा हस्तिनापुरकी महारानी गान्धारीले शिवभक्ति गरेकै भनिए पनि मूलतः आफ्ना श्रीमान् धृतराष्ट्रको दैहिक दृष्टिविहीनतामा समानता कायम गर्न आँखा बन्द गरेको कथ्य छ।

समानताको नाउँमा हुँदा छँदाको सङ्लो आँखामा पट्टी बाँधेर अन्धकार रोज्ने गान्धारीको फरक आदर्शकै जसरी नेपाली राजनीतिभित्र पनि वैचारिक सार्वभौमिकता कमजोर छ। व्यक्ति स्वार्थले राष्ट्रिय स्वार्थमा पर्दा लगाइदिएको देखिन्छ। एकतिर कर्मचारीतन्त्रको सञ्जाल अनि अर्कातिर परम्परित स्वार्थको जञ्जाल छ। यथार्थ व्यवहारलाई भन्दा बढी बोली र वाचालाई ठूलो बनाइदिने शैलीले भएका र गरिएका राम्रा कामको चर्चा कम भइदिन्छ। परिणामतः निष्ठाको अभावमा नैतिक र भौतिक भ्रष्टाचार बढ्न पुग्छ। नातावाद, कृपावाद, सत्तालिप्साको रोग हस्तान्तरित अनि पुस्तान्तरित हुँदै सत्ता र शक्तिको उन्माद बढ्न पुग्छ। विदुरले जसरी विश्लेषण गर्नुपर्ने बौद्धिक निकाय नै क्षीण स्वार्थमा एकलकाँटे बनिदिन्छ। परिणामतः फेरि जनता सत्तामोही गोलघरभित्र अस्थिरताकै सिकार बनिरहन विवश बनिरहन्छन्।

महाभारतभित्रको कथावस्तुलाई गहिरिएर हेर्दा कौरव र पाण्डवबीचको भीषण युद्धको परिणतिलाई हतियार नै नउठाउने कृष्णले निक्र्योल र निगरानी गरिदिने तथ्य पूर्वनिर्देशित थियो। कौरवका महारथी योद्धाहरूमध्ये दुर्योधनबाहेक सबैजसोलाई परिणामको पूर्वानुमान भएकै देखिन्छ। तथापि, दुर्योधन पनि कृष्णको शक्ति र जुक्तिको चातुर्यबाट अज्ञात भने पटक्कै थिएन। त्यसरी नै नेपाली राजनीतिमा वर्तमान चुनावी शैली, मत परिणाम र सरकार निर्माणका केही सीमित आधारहरू लगभग पूर्वानुमानित थिए। कसैको पनि बहुमत नपुग्ने कुरा लगभग प्राक्कल्पित थियो। वस्तुतः खिचडीयुक्त सत्ता समीकरण पनि पूर्वघोषित नै देखिन्थ्यो। यद्यपि नयाँ पात्रको मुहार संसद् भवनदेखि मन्त्री गणसम्म देख्न पाइने परिवेश बन्दै गर्दा मात्रै केही आशाका झिल्काहरू देखिएका हुन्। यसबाट हिजोको गलत अभ्यासमा खबरदारी गर्ने र अब चाहिँ कामै गर्नुपर्ने दबाब सिर्जना हुने अपेक्षा बढेको हो। यद्यपि यसबीचमा शकुनि चरित्र हट्यो भन्न सकिँदैन। यहाँ लाक्षगृहमा आगो लगाउने षड्यन्त्र तय हुन पनि सक्छ। यसर्थ स्वार्थको मोलतोलमा अल्झिएको पदीय भागबन्डाबाट आएका व्यक्ति तथा निकायबाट देशको मूलभूत समस्यामा निकास मिल्ने आशामै आशंका छ।

वास्तवमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सत्तारोहणले नयाँ र पुरानोको मिश्रण भइदियो। विचार र सिद्धान्तका विपरीत धारको समीकरण हुन पुग्यो। तथापि, राष्ट्रनिर्माणको साझा स्वार्थ मिल्ने हो भने जनताले खोजेको पनि त्यत्ति नै हो। समस्या व्यवस्थामा होइन, व्यवहारमा नै हो भन्ने कुरामा मतभिन्नता नरहला पनि। यस क्रममा नैतिक आधारमा रास्वपाका अध्यक्षलाई आधा वर्ष नबित्दै अकस्मात् गृह मन्त्रालयजस्तो विशिष्ट क्षेत्रमा पुग्ने अवसर मिल्नु सौभाग्य र चुनौती दुवै हो। राप्रपालाई पनि हिजोको गिरेको साखलाई उकास्ने र नयाँ विरासत खडा गर्ने बाध्यता उत्तिकै छ। यदि वैकल्पिक शक्तिका रूपमा उदाएका पार्टीहरूले नै पृथक् परिणाम दिन नसक्ने हो भने निर्णायक क्षेत्रमा नजानु नै उत्तम हुन्थ्यो। तर,नयाँ व्यक्ति वा नयाँ दलले भोलिका वैकल्पिक शक्ति निर्माण गर्ने हो भने आजै परिणाम दिने रचनात्मक भूमिकाबाट मौकाको फाइदा उठाउन सक्नुपर्छ।

अर्कोतिर हिजो जुटेर, फुटेर र फुटाएर अनेकन् ऊहापोहको लडाइँबाट भुक्तभोग बनिसकेका नेकपा एमाले अध्यक्ष र नेकपा माओवादी अध्यक्षद्वयको काँधमा पनि हिजोबाट शिक्षा लिएर भोलिको भविष्य निर्माण गर्ने/नगर्ने भन्ने तथ्यलाई स्थापित गराउनुपर्ने दबाब छ। यदि भोलिका लागि आजै बाटो नखन्ने र रचनात्मक परिणाम नदिने हो भने दुवै नेतृत्वको पार्टी र नेतृत्वगत विरासत कमजोर हुने अनुमान गर्न सकिन्छ। अझ महाभारतको कथाकै प्रसंगमा घोत्लिँदा दुर्योधनलाई मामा शकुनिको कुशिक्षाले चेतनाको दृष्टिमा पट्टी बाँधिदिएको थियो। आखिर उसले त आमाले जसरी दैहिक नेत्रलाई छोपेको पनि थिएन। तर, संगतले अधोगतिको पाठ पढाइदिएकाले उसमा बाबु (जन्मजात) र आमा (कृत्रिम) दुवैको नेत्रहीनताको बिम्बात्मक लक्षण समाहित हुन पुग्यो। विषाक्त सोचले उन्मत्त भएकै कारण युद्धमोहमा लहसियो।

नयाँ पात्रको मुहार संसद् भवनदेखि मन्त्री गणसम्म देख्न पाइने परिवेश बन्दै गर्दा मात्रै केही आशाका झिल्काहरू देखिएका हुन्।

उत्तिकैमा पाँचपाण्डवले कृष्ण (प्रकाश) को सहारा मात्रै लिएनन्, उनैलाई साथमा राखे। युधिष्ठिरको धर्मपरायणता (व्यावहारिक नेतृत्व) मा भीमको बल (सुशासन) अनि अर्जुनको कौशल (ज्ञानको विशिष्टता) मिसाए। नहकुल (इमानदारिता) र शहदेव (कर्तव्यनिष्ठता) को शालीन भावलाई गाँसे। त्यसभित्र कृष्ण (स्वच्छ भाव) को आत्मालाई मूलधार बनाइदिए। उता दुर्योधन (दम्भ र लालसा) सँग पनि त एकातिर अतिविश्वस्त पात्र कर्ण र महाशक्तिशाली द्रोणाचार्यको आडभरोसा थियो। तर, धृतराष्ट्रको पुत्रमोह र महŒवाकांक्षाका कारण महाभारतको महायुद्ध गराउने जटिल परिवेश निर्माण हुन पुग्यो। यस घटनामा यदि भीष्मपितामह र गुरु द्रोणाचार्यले मात्रै कुशल अभिभावकत्व निर्वाह गरेका भए युद्ध नहुने सम्भाव्यता बन्न सक्थ्यो पनि होला। कुटिल शकुनिको चाल भत्किन पुग्थ्यो। भारी सभामा द्रौपदीको अपमानलाई टुलुटुलु हेरिरहँदा सत्ताधारी चुपचाप बन्ने मूर्खतामय परिवेश बन्ने थिएन पनि।

हालको नेतृत्वमा पनि यदि वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निःस्वार्थ भावमा राष्ट्रिय स्वार्थलाई बोक्न सक्नुपर्छ। यतिखेर कुशल अभिभावकत्वको भूमिका निर्वाह गरे देशले नयाँ दिशामा गति लिने विश्वास बन्छ किनभने अहिले राम्रा र जोसिला नेतृत्वलाई दक्षताका आधारमा राख्न र छान्न सक्ने आधार स्पष्ट छन्। शकुनिको कुशिक्षा र कुसंगतिको परिणतिमा सत्य र न्यायका धरोहर पनि अक्षम बने।

अधिकार प्राप्त महारथीसमेत सत्तामा बसेर निरीह पात्र बन्न पुगे। यदि त्यसरी नै मुलुकलाई अस्थिरतातिर धकेलेमा देश र जनताले आर्थिक र नैतिक क्षतिलाई व्यहोर्न विवश बन्नुपर्ने हुन्छ। स्वार्थनीति र पार्टी निष्ठाका निमित्त असत्यको साथ दिन विवश बनेपछि शक्ति र सामथ्र्य भएकै व्यक्ति र निकाय असफल बन्न पुग्छन्। यसर्थ अबको राजनैतिक व्यवहारभित्र सत्यवादी र असत्यवादीको कसी बलियो हुनुपर्छ। निपुण बौद्धिक गुणको ज्ञान हुनुपर्छ। द्रोणाचार्यले हस्तिनापुरका लागि नुनको सोझो गर्ने अनि दुर्योधनका लागि कर्णले निष्ठा र वाचामा बाँधिने भाष्यभित्र सत्पात्रहरूले सती जानु हुँदैन। भीष्म पितामहजस्ता व्यक्तित्वले यदि मुलुकमा शकुनिजस्ता पात्रले सत्ता वरिपरि घुमेर स्वार्थ साँध्छन् भने तिनलाई सत्ताबाहिर राख्न जान्नुपर्छ। धृतराष्ट्रको कुर्सी र पुत्रमोहको चालमा विदुर ज्ञान र कृष्णको शक्तिलाई बिर्सनु पनि मुख्र्याईँ हुन्छ। यसर्थ वर्तमान सरकारका लागि अहिलेको परिवेश चाहिँ चुनौतीभन्दा बढी दबाबै दबाबबाट परिवर्तनमुखी बन्ने अवसर हो।

समीकरणको वस्तुताभित्रको भय

कुरा एकातिर छिनेर बिहे अर्कोसँग गर्नेको जोडीलाई हामीले खुबै मिलेको दम्पती भनिदिनुपर्ने बाध्यता चाहिँ अवश्य नै हो। हुन त सरकार जसको बन्छ उसकै पक्षमा बोल्ने र लेख्ने केही धार होलान् पनि तर यथार्थको कसीलाई मिच्नु पनि त अपराध हो। वास्तवमा त एक खाले घोषणापत्र बोकेर जनतासँग मागेको मत परिणामका विपरीत निर्णायक नेतृत्व सम्हाल्न तयार हुने वर्तमान दृश्यसँग स्वच्छ रूपान्तरणको भाष्य झल्किँदैन। आखिर सरकार बने जसरी नै विकासले पनि नाटकीय शैलीमा फड्को मार्दैन नै। भागबन्डा र खिचातानीको हिजोको बानी र शैलीको जालो तोडेमा मात्रै पनि सायद एक चौथाइ विकास सम्भव देखिन्छ किनभने गम्भीर शासकीय समस्याले वैचारिक रुढीलाई रुमल्याइदिन्छ। नीति र नैतिकताविहीन लेनदेनका कारण साना दलसँगको मिलानमा बनेको समीकरणमा सधैं अस्थिरता र पदीय लिप्साको निहुँ खोज्ने बीउ रहिरहने भय छ।
नाटकीय ढंगले प्रधानमन्त्रीमा बाजी मार्न पुगेका प्रचण्डको अंकगणित मिलाउने वास्तविक खेलाडी त केपी शर्मा ओली बन्न पुगे। यसकारण पनि नेपाली राजनीतिमा यो पृथक् वैचिœयसँग जनमानस एकपटक झस्किनु स्वाभाविकै बन्यो। यद्यपि यसमा न त पुस्तान्तरणका लागि हस्तान्तरण भएको छ न त रूपान्तरणको स्पष्ट योजना पूर्वनिर्धारित छ।

वास्तवमा तेस्रो शक्ति बनेकैले सबैभन्दा बढी समय सत्तामा फाइदा लुट्छ र देशलाई सबैभन्दा बढी अस्थिर बनाउने भूमिका पनि खेलिदिन्छ। बितेका झन्डै दुई दशकको अवधिलाई नियाल्दा टालो हालेर लाज छोपिएको देखिँदैन। स्वार्थ नमिलेसम्मको काटोछिनो भएको शत्रु पनि स्वार्थ मिल्दा आन्द्रो जोडिएर मित्र बन्ने शैलीले राजनीतिमा स्थायी मित्र र शत्रु नहुने यथार्थ पुष्टि भयो। हाललाई त सम्भावनाका चाङमा बोक्रे तर्कका साथ खरानीको पहाड पनि ठडिएला। यद्यपि यो वादैवाद बोकेका पूर्व र पश्चिमी धारको फूँदो गाँस्ने विचित्र खिचडीको संयोगमा हानथाप र छिनाझपटी ज्यूँका त्यूँ आउन सक्छन्। यसको अर्थ यसअघिको कांग्रेस नेतृत्वको चुनावी गठबन्धन र हाल निर्मित सत्ता समीकरणको गठबन्धनमा तात्त्विक अन्तर भएको होइन। यसमा त प्रचण्डलाई जसरी भए पनि प्रधानमन्त्री चाहिएको अनि एमालेलाई गठबन्धन टुटोस् भन्ने चाहनासँगको समीकरणमा ‘विन विन थ्यौरी’ ठ्याम्मै मिल्न पुगेको मात्रै देखिन्छ। यस मानेमा हिजो गठबन्धन र आजको समीकरणका बीचमा स्वार्थगत साम्यता देखिन्छ। अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिनु त स्वाभाविकै हो तर पनि अचम्मै भयो भनेर सपनाको दाहसंस्कार भएछ भन्नैपर्ने पनि देखिँदैन।

वास्तवमा निष्ठा र नैतिकतालाई बन्धकी राखेर संस्कारहीन राजनीतिको रोगले बाँडी खाने रीत पूरा हुँदो रहेछ। मूल रूपमा यतिखेर सिद्धान्तगत एकता र सुशासनको अपेक्षा नहुँदा नैतिकतामुखी राजनैतिक संस्कारको अभावले अस्थिरतालाई निरन्तरता दिने भयसँग विकास, परिवर्तन, सुशासन र न्यायको दैलो कसरी खुल्ला भन्ने आशंकाको बादल मडारिरहेको छ। जनतासँग त निःशुल्क शिक्षा र स्वास्थ्यको अपेक्षा छ, महँगी नियन्त्रण होओस् भन्ने तीव्र चाहना छ। आखिर देशका युवाहरूले त क्षमताअनुसारको काम अनि कामअनुसारको दाम पाइयोस् भन्ने मूल अपेक्षा राखेका न हुन्। उमेर ढल्क्यो तर केही गर्न नसक्दा राजनीति र यसमा रहेका पात्रलाई दोषी ठहर्‍याउन विवश भाष्यसँग वितृष्णाको बाढी उर्लनु अनौठो पनि होइन। अभावले नै त असन्तुष्टिलाई जन्मायो। अतः आगामी पाँच वर्षले विगतकै जसरी अविकासको पुनरावृत्ति नगरोस् भन्ने शुभेच्छासँग अब युधिष्ठिरहरूलाई पासा खेल्न बाध्य नपारियोस् भन्ने अ‍ेपक्षा छ। कृष्णको शान्ति प्रस्तावलाई दुर्योधनजस्ता खलपात्रले भड्काउँदै गर्दा भीष्म पितामह अनि द्रोणाचार्यहरूले अडान लिन सकून् भन्ने चाहना छ। अन्ततः विदुरहरूको नीति, ज्ञान र भावी चिन्तनमा देश अघि बढोस् भन्ने विशेष आग्रह छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.