झण्डै ३ महिनादेखि निमित्तको भरमा स्याङ्जा अस्पताल
स्याङ्जा : स्याङ्जा जिल्ला अस्पताल प्रमुख बिहीन भएको झण्डै तीन महिना भयो।
झण्डै ३ महिनाअघि मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्य सरुवा भएर लमजुङ गएपछि अस्पताल प्रमुख बिहीन बनेको हो।
डा. आचार्य कात्तिक १३ गते गएका हुन्। अहिले वरिष्ट स्टाफ नर्स कृष्ण कार्कीले निमित्त भई अस्पताल प्रमुखको जिम्मेवारी बहन गर्दै आएकी छन्।
अस्पतालमा ६ जना डाक्टर सहित झण्डै ९० जना कर्मचारी कार्यरत छन्। दैनिक सयदेखि २ सयसम्म बिरामी आउने अस्पतालमा शल्यक्रिया सहितका सेवाहरू उपलब्ध छन्।
पुतलीबजार नगरपालिका-३ कुमाल गाउँमा २०५७ सालमा स्थापित जिल्ला अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।
यहाँ शल्यक्रिया, मृर्गौला डायलायसिस, प्रसूतिमा जटिल शल्यक्रिया लगायतका सेवा उपलब्ध भएपछि यहाँ आउने बिरामी बढेका छन्।
तर, महिनौ दिनसम्म पनि अस्पतालले प्रमुख नपाउँदा यहाँबाट उपलब्ध गराइने सेवा र सुविधामा प्रभाव परेको अस्पताल विकास समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले बताए।
‘गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङ र सचिव विश्वबन्धु बगालेलाई जानकारी गराएका छौं। उहाँहरूसँग पटक पटक कुराकानी समेत भएको छ। उहाँहरूले विशेषज्ञ सहितको डा. पठाउने भन्नुभएको छ। विशेषज्ञ सहितको डाक्टर पठाउने तयारीमा जुटेकाले केही ढिलाइ भएको भन्ने भनाइ आएको हो’, उनले भने।