कोरियामा कार्यरत नेपाली प्राध्यापकको सुझाव: बुझेर आउनुहोस्, संघर्ष धेरै गर्नुपर्छ, कमाइ राम्रो हुन्छ

कोरियामा कार्यरत नेपाली प्राध्यापकको सुझाव: बुझेर आउनुहोस्, संघर्ष धेरै गर्नुपर्छ, कमाइ राम्रो हुन्छ

सियोल: नेपाली कामदारको उत्कृष्ट गन्तव्यको हो दक्षिण कोरिया। अध्ययन गर्न जाने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ। कोरियामा पढेर नेपाल फर्किने धेरै छन्। केहीले कोरियालाई नै कर्मथलो बनाएका छन्। यी मध्ये एक हुन डा.सिर्जना थापा । 

डा थापा सङ्हानको नाम्सोल विश्वविद्यालयकी प्राध्यापक हुन्। २६ देशका विद्यार्थी अध्ययनरत विश्वविद्यालयमा उनी कोरियन भाषा, औद्योगिक विकास र सूचना तथा प्रविधि विभागको नेतृत्व गर्छिन् । उनले स्नातकोत्तर तहमा मनोविज्ञान र परामर्श विषय अध्यापन गराउँछिन् । 

शिक्षक बन्ने लक्ष्य राखेकी थापाले रुपन्देहीको भैरहवास्थित पब्लिक माविमा एसएलसीसम्मको अध्ययन पूरा गरिन्। स्नातक तहसम्म नेपालमा अध्ययन गरेकी उनी सन् २००६ मा कोरिया गइन्। फरक भूगोल, रहनसहन, भाषिक समस्यामात्रै नभई अध्ययनसँगै अन्य जिम्मेवारीलाई सँगसँगै अगाडि बढाउनुपर्ने चुनौती उनलाई थियो।

एक वर्ष छन्आन्स्थित सनमुन विश्वविद्यालयमा कोरियन भाषा अध्ययन गरेपछि उनले यहाँका बालबालिकालाई होम ट्यूसन पढाएर आफूले स्नातकोत्तर तह पूरा गरिन्। 

अध्ययनकै क्रममा निक्कै बिरामी परेकी उनी खर्चिलो उपचारले ठूलो आर्थिक भार भोग्न पुगिन्। त्यतिबेला कोरियामा विद्यार्थीले राष्ट्रिय बीमा गर्न पाउने व्यवस्था नहुँदा उपचार। खर्च धेरै भएको सुनाइन्।

'जन्डिसले लामो समय थला परेँ । उपचार सम्भव नदेखिएपछि धेरै चिन्तित थिएँ। उपचार गराउने पैसा नहुँदा स्वदेश फर्कनुपर्ने परिस्थिति थियो। तर, मैले होम ट्यूसन पढाउने गरेको बच्चाको परिवारले मलाई धर्मपुत्रीका रुपमा स्वीकार गरी उहाँहरुकै बीमाबाट उपचार गराइदिनुभयो,' थापाले आफ्नो दु:खका दिन सुनाउँदै भनिन्, 'उहाँहरु सहयोग नपाएको भए म यो अवस्थामा हुँदैनथेँ।'

उपचारपछिको कठिन परिस्थितिसँग जुध्दै उनले अध्ययन र अध्यापनलाई अघि बढाइन्। संघर्षकै क्रममा वैवाहिक जीवनमा बाँधिएकी उनलाई परिवारको जिम्मेवारीले अझै परिपक्व बनाउँदै लग्यो। जीविको पार्जनका लागि काममा खटिने उनले अध्ययनलाई अघि बढाउने योजनासहित विभिन्न विश्वविद्यालयमा छात्रवृद्धिको आवेदन भरेकि थिइन्। उनले योन्से विश्विद्यालयमा विद्यावारिधी अध्ययनको छात्रवृत्ति पाइन्। सोही छात्रवृत्तिबाट समाजकल्याण शास्त्रमा अध्ययन पूरा गरिन् । 

पीएचडी अध्ययनपछि सन् २०१४ देखि उनले नाम्सोल विश्वविद्यालयमा असिस्टेन्स प्रोफेसरका रुपमा काम गर्न थालिन्। थापाको मेहनत र कार्यकुशलताले उनलाई कोरियन भाषा, औद्योगिक विकास र सूचना प्रविधिसँग सम्बन्धित विभाग प्रमुखको जिम्मेवारीमा पुर्‍यायो।

अहिले उनी सोही विश्वविद्यालयमा स्नातकोत्तर तहसम्मलाई अध्यापन गराउँछिन्। उनले अध्यापन गराउने विषय दुर्व्यसनी न्यूनीकरणको परामर्शसँगै मनोविज्ञान पढाउँछिन्। कार्य क्षेत्र कोरिया भए पनि नेपाल र नेपालीसँग जोडिएर काम गरिरहेको उनले बताइन्। कोरियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने काममा उनी सक्रिय हुन्छिन्।

नेपालमै आफूले आर्जन गरेको सीप बाँड्ने उनको चाहना छ। अहिले धेरै ठाउँमा अनलाइनबाट परामर्श दिने गरेको उनले बताइन्। नेपालमा नाम्सोल यूनिभर्सिटीको कोरियन सौन्दर्य र दुर्व्यसनी न्यूनीकरणको परामर्श सम्बन्धी विभाग खोल्न केही वर्षअघि नेपालका तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई प्रस्ताव गरेको उनले बताइन्।

उनले भनिन्,'हामीले नेपालमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना राखेका थियौँ। कार्यान्वयन भएको भए विद्यार्थीलाई नेपालमै अध्ययनको अवसर मिल्थ्यो। तर, राजनीतिक अस्थिरताले हाम्रो प्रस्ताव कार्यान्वयनमा आएन्। यसले म दु:खी छु। फेरि पनि नेपाली भूमिमा केही गर्ने सोच राखेको छु।’

नेपाल र कोरियाको शिक्षा प्रणाली फरक रहेको बताउँदै उनले शैक्षिक विकास गर्न नेपालमा शैक्षिक प्रणाली नै सुधार गर्नुपर्ने उनको भनाइ छ।

'हाम्रोमा शिक्षा घोकन्ते छ। तीन घण्टाको परीक्षाबाट विद्यार्थीको मुल्यांकन गर्ने प्रचलन छ । तर, कोरियामा विद्यार्थीको सहभागिता, उसले गरेको गृहकार्य, अध्ययनप्रतिको रुची, अतिरिक्त क्रियाकलापमा लगावलगायत धेरै विषयलाई आधार मानेर मुल्यांकन गरिन्छ। पैसाको आधारमा शिक्षाको गुणस्तरमा भिन्नता हुँदैन । प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिइन्छ। त्यही शिक्षा प्रणाली नेपालमा भित्र्याउने मेरो इच्छा छ।’

विद्यार्थी भिसामा कोरिया आउन चाहेका वा आइसकेकालाई भाषा राम्रोसँग सिक्न उनको सुझाव छ। उनले भनिन्, 'यहाँ आउनुअघि सबै कुरा बुझेर आउनुहोला। सुरुमा संघर्ष धेरै गर्नुपर्छ, कमाइको हिसाबले राम्रै छ। समस्यामा परेका नेपालीको सहयोग गर्न म सँधै तयार छु।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.