आन्तरिक उडानबाट अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

आन्तरिक उडानबाट अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

पोखरा : जमिन अधिग्रहण गरेको ४७ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आएको छ। तर, पहिलो दिन आन्तरिक उडान मात्रै भए। अन्तर्राष्ट्रिय उडान भने भएन। यसको टुंगो अझै लागिनसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए। 

देशकै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक भव्य समारोहबीच उद्घाटन गरेका हुन्। आइतबारै पोखरा–बनारस, बनारस–पोखरा उडान भर्ने गरी बुद्ध एयरले अनुमतिका लागि भारतलाई पत्राचार गरेको थियो। तर, ‘कुनै प्रतिक्रिया नआएकाले’ उक्त रुटमा उडान हुन नसकेको हो। पोखराबाट विभिन्न देशमा सीधा उडान भर्न थाई स्माइल, जजिरालगायतले चासो देखाएर अध्ययन गरिरहे पनि टुंगो भने अझै लागेको छैन। 

आन्तरिक उडान आइतबारदेखि नै नियमित रूपमा यही विमानस्थलबाट हुन थालेको छ। आन्तरिक विमानस्थलबाट पोखरा–जोमसोमसहित हेलिकप्टर र अल्ट्रालाइट उडान हुनेछ। अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्। २४ सै घण्टा चल्न सक्ने व्यवस्थित विमानस्थल बनेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए। उनका अनुसार वर्षमा १० लाख जना आउजाउ गर्न सक्छन्। प्रतिघण्टा ६ सय १० जना क्षमताको छ। ठूलो मेहनतले यो विमानस्थल बनेको उनले बताए।   

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका क्रममा आइतबार शिलालेख अनावरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। 

प्रधानमन्त्री दाहालले यो विमानस्थल सञ्चालनसँगै आफू जन्मिएको कास्की सोझै धेरै देशसँग जोडिने अवस्थामा पुग्दा निकै खुसी लागेको बताए। ‘स्थानीयवासीको वर्षौंदेखिको चाहना पूरा भएको छ’, दाहालले भने, ‘विमानस्थल सञ्चालनसँगै देशकै अर्थतन्त्रमा पनि योगदान पुग्नेछ।’ सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर अघि बढ्ने, बाँकी जीवन आर्थिक विकास र समृद्धिका लागि बिताउने उनको भनाइ थियो। 

प्रधानमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया पनि छिट्टै अघि बढाइने बताए। देशलाई ‘कनेक्टिभिटि’को क्षेत्रमा नयाँ युगमा प्रवेश गर्ने अठोट पनि उनले गरे। निजगढ विमानस्थल सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउने सम्बन्धमा अन्योल छ। 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थलको भरपुर सदुपयोग गरेर अघि बढ्नुपर्ने बताए्। सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनसँग समन्वय गर्ने उनको भनाइ थियो। मन्त्री पौडेलले अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा सञ्चालन गर्न सरकारले सहयोग गर्ने बताए। अन्तर्राष्ट्रिय उडानसँगै पोखरा बिभिन्न देशसँग सोझै जोडिने र पर्यटक आगमनमा वृद्धि हुने विश्वास उनले दिलाए। 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारसमक्ष अनुरोध गरेका थिए। चिनियाँ एक्जिम बैंकले विमानस्थल बनाउन ७५ प्रतिशत ऋण लगानी गरेको छ। २५ प्रतिशत चीन सरकारले अनुदान दिएको छ। मुख्यमन्त्री पोखरेलले बाँकी ७५ प्रतिशत पनि अनुदानमा परिणत गर्न अनुरोध गरेका हुन्। 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटकीय सहर पोखरालाई पर्यटकीय राजधानीका रूपमा घोषणा गर्न पटक–पटक अनुरोध गरिए पनि हुन नसकेको बताए। पोखरालाई पर्यटकीय राजधानी घोषण गरी थप पर्यटकीय आकर्षणका पूर्वाधार तयार गरी पर्यटन विकासमा लाग्नुपर्ने उनको भनाइ थियो। 

२०३२ सालमा ३१ सय रोपनी जमिन अधिग्रहण गरी काम सुरु गरिएको थियो। त्यसअघि यो ठाउँ घरबस्ती, पहेलै धान झुल्ने खेत, हरियाली तरकारी बारी थियो। पटक–पटक गरी अधिग्रहण गरिएको ३८ सय ९९ रोपनी जमिनमा विमानस्थल बनेको हो। यसमा चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोग छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डभित्र रहेर फोरडी मोडलमा विमानस्थल बनेको हो। 

विमानस्थल उद्घाटनमा हजारौं पोखरेलीको उल्लासपूर्ण उपस्थिति देखिएको थियो। कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। पहिलो पटक अवतरण गरेका जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो। विमानस्थल निर्माणका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शंकरराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिएको थियो। उनले जमिन अधिग्रहणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.