दिनमा व्यापार, राति लुटपाट
महेन्द्रनगर : गत ७ पुसमा कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाका ललिता भट्टको घरमा चोरी भयो। उनको घरमा महिला मात्र बस्ने थाहा पाएपछि भारतीय नागरिकको समूहले हसिया, पेस्तोल र चक्कु देखाइ लुटपाट गरे।
उनको घरबाट नगद ३ लाख २० हजार रुपैयाँ, सुनको तीलहरी, कानको बाली दुई थान, एक थान मंगलसुत्र र एक थान औंठी, लत्ताकपडा र मोबाइलसमेत गरी करिब ५ लाख बराबरको चोरी भयो।
घटनाको पाँच दिनपछि गत १२ पुसमा सोही समूहले बेलौरी–२ बैजुडाडाका मनोज चौधरीको घरमा पनि हतियार देखाएर सुन र नगद गरी करिब ३ लाख रुपैयाँ बराबरको सम्पत्ति लुटपाट गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ।
श्रृङ्खलाबद्ध रूपमा एकै प्रकृतिबाट लुटपाट हुन थालेपछि प्रहरीले निगरानी बढाएको थियो। गत शनिबार बैलौरीको भारतसँग सीमा जोडिएको बैशाखमा नाकामा गस्तीमा रहेको प्रहरी टोलीले तीन जना भारतीय नागरिकहरूलाई रोकेर खानतलासी गर्न खोज्दा तीनै जना भागेर नजिकैको उखुबारीमा पसे।
प्रहरीले तत्कालै उखुबारीबाट भारतको लखिमपुरका राजु इन्द्रसीलाई नियन्त्रणमा लियो। उनको साथबाट चार राउन्ड ठूलो गोली, दुई राउन्ड सानो गोली र एक थान लोड गरिएको कटुवा पेस्तोल फेला पर्यो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्यामसिंह चौधरीले उखुबारीमा लुकेर बसेका अन्य दुई जनालाई स्थानीयको सहयोगमा उखुबारी घेराबन्दी गरी करिब सात घण्टापछि नियन्त्रणमा लिन सफल भएको बताए।
‘श्रृङ्खलाबद्ध चोरीका घटनाहरू बढेपछि प्रहरीले निगरानी बढाएको थियो। स्थानीयको सहयोगमा डाँका समूह नियन्त्रणमा लिन सफल भयौ’, जिल्ला प्रहरी प्रमुख चौधरीले भने, ‘हामीले अनुसन्धान गर्दै जाँदा पक्राउ परेकाहरू दिनमा साइकलमा व्यापार गर्न नेपाल आउने र राति लुटपाटमा संलग्न भएको पाइयो।’
प्रहरीले पक्राउ गरेका राजु इन्द्रसी लखिमपुरमा सिलाइकटाइ गर्ने र मोटरसाइकल, साइकल चोरीमा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी मोटरसाइकल चोरीको आरोपमा लखनउ जेलबाट आठ महिना कैद मुक्त र २० हजार जरिवाना तिरेर पुस ८ गते मात्रै छुटेका थिए।
जेलबाट छुटे लगत्तै उनी फेरि नेपालमा आएर चोरी गर्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको चौधरीले बताए। त्यसैगरी पक्राउ परेका अर्का भारतको लखिमपुरका युसुफ अलि नेपालमा आएर साइकलमा चुँडी र बट्टन बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ। ‘यो समूहमा अर्का फरार व्यक्ति गाउँमा भैंसीको व्यापार गर्ने यहाँको स्थिति बुझ्ने र राति समूह बनाएर लु्ट्न आउने रहेछन्’, चौधरीले भने, ‘यसरी विभिन्न सामग्रीहरू बेच्ने निहुँमा आएर अवस्थाबारे जानकारी लिने र चोरी गर्ने गरेको खुलेको छ।’ उनले यसरी व्यापार गर्न आउने भारतीय नागरिकहरूबाट सावधान हुनसमेत सबैलाई अनुरोध गर्ने गरेका छन्।
आइतबार पक्राउ परेका भारतीय डाँका समूहमा राजु इन्द्रसी, मुजिवा वञ्जरा र युसुफ अलिलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। चोरीमा संलग्न अन्य दुई जना फरार छन्। उनीहरूको भारतीय प्रहरीको सहयोगमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।
कञ्चनपुरको बेलौरी, पुनर्वास, बेल्डाडीको सीमा आसपासका बस्तीहरूमा धनमाल र गाईवस्तु चोरीका घटनाहरू बढेका छन्। खुला सीमा भएका कारण समस्या भएको प्रहरीले जनाएको छ।