त्रिवेणी कपको फाइनलमा बागमती र सेन्ट्रल कलेज रोड्स भिड्ने
बेंसीसहर : लमजुङ सदरमुकाम बेसीसहरमा जारी ३०औं संस्करणको त्रिवेणी कप फुटबलको फाइनलमा बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन्।
बेसीसहरको सहजी रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना एफसीलाई २-० गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको हो।
बागमतीको जितमा सनम धिमाल र देव गुरुङले एक एक गोल गरे। बागमतीका सुरज श्रेष्ठ म्यान अफ द म्याच चुनिए। दोस्रो सेमिफाइनलमा रोड्स रामपुरले समाज कल्याण खेलकुद केन्द्रलाई १-० ले हराएर बागमतीसँगको भेट पक्का गर्यो।
रोड्स रामपुरको जितमा फोडे फोफानाले निर्णायक गोल गरे। रामपुरका तेजेन्द्र चौधरी म्यान अफ द म्याच चुनिए। प्रतियोगिताको फाइनल खेल मंगलबार दिउँसो हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ।
यस्तै सेमिफाइनलमा पराजित टिमले ५०/५० हजार पाउने छन्। सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन्। प्रतियोगितामा देशभरबाट १३ टिम सहभागी थिए।