जनमतले अघि सार्यो ‘मधेस फस्ट’को आवधारणा
काठमाडौं : जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहाले ‘मधेस फस्ट’को आवधारणामा काम गर्नुपर्ने बताएका छन्। मधेस प्रदेशको प्रदेशसभामा पार्टीको तर्फबाट बोल्दै उनले मधेसको विकास र समृद्धिका लागि सबै पार्टीले नमूना ढंगबाट काम गर्नुपर्नेमा जोड दिए।
‘हामी सबैले समन्वय, सहकार्य, सद्भावका साथ ‘मधेस फस्ट’को आवधारणामा मधेसको विकास र समृद्धिका लागि अबको पाँच वर्ष काम गर्नु पर्छ,’ उनले भने, ‘हामी सबैको सोचाई, काम गर्ने तरिका फरक-फरक पनि हुनसक्छ। तर मधेसको विकासको सबालमा हामी एकबद्ध भएर मधेसलाई देशकै नमूना प्रदेशको रूपमा विकसित गर्नका लागि काम गर्नुपर्छ।’
सबै खाले मतभिन्नता, असमन्ता, मनमोटाव पाँच वर्षका लागि थातिराखेर मधेसलाई साझा कर्मथलो बनाउँदै मधेसबासीको पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिँदै थपे, ‘मधेस प्रदेशका ६१ लख २६ हजार जनताको नजर हामीमाथि छ। हामी सबै मिली यो सदनलाई आशाको केन्द्रको रूपमा विकास गरौं।’
जनताले पहिलो पटकमै मत दिएर जनमत पार्टीलाई राष्ट्रिय पार्टी बनाएकोमा उपाध्यक्ष कुशवाहाले धन्यवाद दिए। ‘जनताले आफ्नो भविष्य जनमत पार्टीमा देखेर पहिलो पटकमै आम निर्वाचनमार्फत् हाम्रो पार्टीलाई राष्ट्रिय पार्टीको रूपमा स्थापना गराउनुभयो,' उनले भने, ‘जनताको आशा, विश्वास, अपेक्षा र आवाजलाई सधैं पहिलो प्राथमिकतामा राखेर काम गर्छौं।’