पेन नेपाल र बंगलादेश साझा कविता गोष्ठी सम्पन्न
काठमाडौं: पेन नेपालको आयोजनामा पेन बंगलादेशकी कोषाध्यक्ष तथा साहित्यकार साकिरा प्रविन सुमालाई स्वागत तथा कविता गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।
अन्नपूर्ण रेडियो स्टेशनको सभा कक्षमा सम्पन्न कार्यक्रमकाबीच स्वागत तथा कविता गोष्ठी कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै पेन नेपालका अध्यक्ष राम कुमार पाँडेले नेपाल र बंगलादेशबीच पारस्परिक सम्बन्धलाई भावनात्मक रूपमा जोड्न एकआपसमा संस्कृति तथा भाषा साहित्यलाई आदानप्रदान गर्न सकिने बताए। नेपाल र बंगलादेशको सम्बन्ध, भौगोलिक अवस्था, जीवनशैली, हावापानी र कला संस्कृतिले समेत मिल्दोजुल्दो रहेको उनले बताए।
पेन बंगलादेशकी कोषाध्यक्ष तथा साहित्यकार साकिरा प्रविनले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई भाषा साहित्य संस्कृतिले थप प्रगाढ बनाउन सक्ने बताइन्। साहित्यले संसारभरका मानवलाई विश्वबन्धुत्वको भावनामा बाँध्ने उनको भनाइ छ।
कार्यक्रममा पेन नेपालका अध्यक्ष प्रा. रामकुमार पाँडे, सचिव भीष्म उप्रेती, कोषाध्यक्ष शिरोमणि दवाडी, डा. मित्रबन्धु पौडेल, डा दामोदर पुडासैनी, रुपसिंह भण्डारीले आफ्नो धारणासहित अंग्रेजी कविता वाचन गरेका थिए।