सुतिरहेको बेलामा जलेर राउटे युवा घाइते
दैलेख : दैलेखमा बसोबास गर्दै आएको राउटे समुदायको एक युवा आगोमा जलेर घाइते भएका छन्। राती सुतिरहेको बेलामा अगेनोमा बालेको आगो बल्यांकेटमा सल्किएर उनको शरीर समेत जलेको छ।
राउटे बस्तीमा राउटे परियोजनामार्फत खटिएका शिक्षक लालबहादुर खत्रीका अनुसार अगेनो नजिक सुतेका ४० वर्षीय नारायण शाही आगोले जलेर गम्भीर घाइते भएका छन्।
मंगलबार राति सुतेकै बेलामा ओढेको बल्यांकेटमा आगो सल्किएको हो। राति दाउरा बालेरै सुतेको र त्यही आगो बल्यांकेटमा सल्किएको बताइएको छ। उनको झुपडीमा नारायण शाहीसहित अन्य तीन जना सुतेका थिए। अन्य तीनजना सकुशल छन्। उनलाई उद्धार गरी उपचारका लागि दैलेख जिल्ला अस्पताल ल्याइएको छ।
कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीविन बिताउँदै आएका राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका –८ सालखर्कमा बसोबास गरिरहेका छन्। हाल उनीहरुको जनसंख्या एक सय ४३ छ।
जलेर घाइते भएका राउटे युवा नारायण शाही।