झुपडीमै जल्छन् राउटे

झुपडीमै जल्छन् राउटे

दैलेख : राउटे समुदायका नागरिक चिसोबाट जोगिन आफ्नो झुपडीमा प्रायः आगो बालेर सुत्छन्। तर, त्यही आगोले उनीहरू पनि जल्ने गरेका छन्। मंगलबार मात्रै ४० वर्षीय नारायण शाही जलेर गम्भीर घाइते भएका छन्। राति दाउरा बालेरै सुतेको र त्यही आगो बल्यांकेटमा सल्किँदा उनको शरीर जलेको राउटे परियोजनामार्फत खटिएका शिक्षक लालबहादुर खत्रीले बताए। 

शाही, उनकी पत्नी र आमाबुबा उक्त झुपडीमा सुतेका थिए। अन्य तीन जना सकुशल छन्। नारायणको शरीरको ३० प्रतिशत भाग जलेको दैलेख अस्पतालका डा. प्रयास विक्रम सिजापतीले बताए। उनका अनुसार दैलेखमा प्राथमिक उपचार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफरमा छ। 

‘आगोले पोलिएको घाउमा थप संक्रमण हुन सक्छ। त्यसकारण हामीले प्रदेश अस्पतालमा रिफर गरेका हौं’, डा. सिजापतिले भने। 

तीन वर्षअघि २०७६ सालमा कान्छाराम शाही आगोमा परे। सुतेकै बेला उनको हात र खुट्टा पोलियो। लामो समयपछि घाउ निको त भयो तर त्यसले ठूलो सास्ती दियो। 

त्यसअघि २०७२ सालमा सुतेकै बेला जलेर गम्भीर घाइते भएका कपिल शाहीले ०७७ असार ३१ गते ज्यान गुमाए। शरीर जलेर गम्भीर घाइते भएका कपिलको काठमाडौंसम्म लगेर उपचार गरिएको थियो। अछाममा बसोबास गरिरहेका बेला उनी आगोलमा परेका थिए। चिसोबाट बच्न राति सुत्ने ठाउँनजिकै आगो बालेर सुतेका युवकले ओढेको बल्यांकेटमा आगो लागेर उनको शरीर जलेको थियो। पुसको पहिलो साता आगो लागेर उनी घाइते भएका थिए। 

जंगलको बीचमा हरियो स्याउला, घोचाहरू र पालले बनाएको छाप्रोमा बस्नुपर्दा पुस–माघमा अधिक चिसो हुने गरेको समुदायका युवा शेरबहादुर शाही बताउँछन्। चिसोबाट बच्न अगेनोनजिक आगो बालेर सुत्नुपर्ने बाध्यताका कारण उनीहरू आगलागीको जोखिममा परिरहेको जानकारहरू बताउँछन्। 

राउटे समुदायका नागरिक दैलेखको नारायण नगरपालिका ८ सालखर्कमा बसोबास गरिरहेका छन्। उनीहरूको जनसंख्या १ सय ४३ छ। उनीहरू आफूलाई जंगलको राजा दाबी गर्छन्। खस आर्य समुदायको पिछडिएका लोपोन्मुख आदिवासी उनीहरू खस भाषा बोल्छन्। नेपाली भाषा बोल्न र बुझ्न सक्छन्। 

बाँदरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाँच्ने राउटे केही वर्ष अघिसम्म पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता राख्थे। पहिला उनीहरूले आफूले बनाएका काठका सामग्री अन्नसँग साटेर जीविकोपार्जन गर्दै आएका थिए। तर, धेरैले त्यसो गर्न छाडेका छन्। राउटे जातिमा सोवंशी, कल्याल र रास्कोटी गरी तीन ठकुरी थर छन्। स्थायी रूपमा एकै ठाउँमा नबस्ने र बस्ती सरिरहनु राउटेको अर्को विशेषता हो। धार्मिक, सांस्कृतिक र मौसमअनुसार राउटे एक ठाउँबाट अर्को ठाउँमा बसाई सरिरहन्छन्। फिरन्ते जाति राउटे समुदायहरूको उत्थानका लागि सरकारले हदैसम्म प्रयास पनि गरिरहेको छ। उनीहरूलाई एकै ठाउँमा बस्न सरकारले आग्रह गरिरहे पनि एकै ठाउँ बस्न अस्विकार गर्दै आएका छन्। बनको हरियो स्याउला, घोचाहरू र पालद्वारा गोलाकार र अण्डाकार छाप्रोमा जीवनयापन गर्ने उनीहरूको इतिहास छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.